
बाल विवाह न्यूनिकरणका लागि मर्यादित महिनावारी भन्ने नारा सहित अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस २०२२ को हार्दिक शुभकामना । सन् २०१९ देखि महिला मन्त्रालयले मर्यादित महिनावारिलाई सयुक्त राष्ट्रसंघको प्रतिवेदनमा ‘सिग्नेचर’ कार्यक्रमका रूपमा प्रस्तुत गरेको छ भने त्यसै वर्षदेखि डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिवस मनाउन थालिएको हो ।
महिनावारी जीवनको प्राकृतिक तथ्य र प्रजनन उमेरका लागि मासिक रूपमा घट्ने नियमित प्रक्रिया हो । अझैपनि विश्वभरी लाखौले आफ्नो महिनावारी चक्रलाई स्वस्थ र सम्मानजनक तरिकाले व्यवस्थापन गर्ने अधिकारबाट बञ्चित छन् । महिनावारी सामान्य प्रक्रिया हो यसलाई लाज मान्नु पर्ने, पाप र धर्मसंग जोड्नु पर्ने कुनै कारण छैन् ।
आज नेपालमा महिनावारी विभेद नभएको घर पाउन मुस्किल छ । हरेक घरमा विभेद, हिंसा छ ।कतिपय हिंसा, हत्या सञ्चारमाध्यममा आएपछि देखिन्छन गणनामा आउछन । तर हिंसा गणनामा आउनु पहिले नै महिलाहरूले विभेदको अनिगिन्ति श्रृङखला खेपिसकेका हुन्छन् । गर्भमा छोरी भएर आएदेखि चिहानमा जल्दै गर्दा पनि त्यही महिनावारी भएका कारण अपमानित, अपहेलित भएर महिलाहरू एकपछि अर्को विभेदमा पर्छन् । धर्म, संस्कृति, शिक्षा सबैले महिनावारी विभेदलाई प्रतिकार गर्न हैन, चुपचाप सहन सिकाउँछन् । महिनावारी विभेदले यौन अल्पसंख्यक, दलित, गरिब, प्रकोप र अपांगता भएकाहरूमा झन् गम्भीर विभेद थोपरिरहेको हुन्छ ।
महिनावारी विभेद बालिकाहरूले सानैदेखि घरमा देखिरहेका हुन्छन् । आमाहरूले खाना नपकाउने,भाडा माझेर छुट्टै घाममा सुकाउने, कसैसँग नछोइनृे, छुट्टै बस्ने कुरा देखिरहदा उनीहरूले त्यसलाई आफ्नो जीवनसंग त्यसलाई तुलना गर्दै सामाजिकीकरण हुन थाल्छन् । बालिकाहरूले महिनावारी हुनुभन्दा करिब ७ वर्षअघि नै आफूलाई अशुद्ध, शक्तिविहीन, सुविधाविहीन अनुभूति गर्न थाल्छन् भने यसको उल्टो बालकहरूले आफूलाई शुद्ध, शक्तिशाली, सुविधावाला सम्झिन्छन् । महिनावारीको रगत अशुद्ध हो भन्ने बुझाइ नै बालबालिकामा शक्ति निर्माण गर्ने अदृश्य तर सशक्त माध्यम बन्छ । त्यसैले महिनावारीलाई मर्यादित बनाउन सके मात्र घरलाई मर्यादित बनाउन सकिन्छ । घरमा लैंगिक हिंसा अन्त्य गर्न सकिन्छ । घर सुरक्षित हुन्छ । जुन छोरीले घरमा हुन्न, गर्दिनँ भन्न सक्छिन्, उनले विद्यालय, काम वा श्रीमानसंग पनि सहजै हुन्न, सक्दिन, गर्दिनँ भन्न सक्छिन् ।
समाजमा विद्यमान लिंगका आधारमा हुने हिंसा र छाउपडी प्रथाका नाममा जन्मजातै महिलामाथि हुने विभिन्न हिंसाको विरुद्धमा सवै एकजुट हुन जरुरी छ ।एउटी महिलाले आफ्नो जीवनकालमा ६ देखि ७ वर्ष महिनावारीमै बिताउँछिन्। जीवनको ६–७ वर्षलाई अपहेलना, दुखाइ, घृणा र कष्टमा बिताउन बाध्य बनाउनु सामाजिक अपराध हो । अन्ततः यस्तो अवस्थामा महिलाको स्वास्थ्य, सरसफाइको उचित हेरचाहमा जोड दिन हरेक व्यक्तिले आफ्नो स्थानबाट सकारात्मक पहल गर्दै गयौं भने महिनावारीलाई मर्यादित बनाउने अभियान पूरा गर्न सक्छौं।
सृष्टि प्रक्रियालाई अगाडि बढाउने पहिलो चरण महिनावारीलाई अपहेलित, घृणित या विभेदको रूपमा नहेरौ महिनावारी प्राकृतिक प्रक्रिया हो । महिनावारीको समयमा महिलाहरु साविकभन्दा शारीरिक, मानसिक एवं भावनात्मक हिसाबले कमजोर भएका हुन्छन् र सरसफाइको आवश्यकता पनि बढी पर्छ त्यसैले यो वेला आराम, स्वस्थ्य खाना र स्वचछ ठाउमा बस्ने वातावरण बनाओै फेरि पनि अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको शुभकामना ।