onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बुकुवा, धुरेरी र होलीका सप्तरङ्गी यादहरू

Sambad ADD long

म पहाडमा जन्मेर आधा बालापन बिताए पनि चाडपर्व बारे जिज्ञासा राख्ने उमेरमा आइपुग्दा तराईमा बसाइँ सरिसकेको थिएँ । विक्रम संवत् २०३५ सालको मङ्सिर तिर तराईमा सर्दा चिसापानीबाट तल गएर राजापुरभन्दा माथि मनाउ घाट तर्नुपरेको थियो । कर्णालीका अनेक भँगालाबाट निस्केका साना ठुला खोला तर्दै बर्दियाको भुरीगाउँमा आइपुग्दा झमक्क साँझ परेको थियो ।

घरमा पुग्दा हाम्री स्वर्गीय कान्छी आमा (आजभोलिको भाषामा आन्टी) घरको पिंढीमा बसेर कतै हेरिरहनुभएको थियो । हामी आउने कुरा थाहा थिएन होला ।त्यसैले दिदीलाई देखेर उहाँले ए भगनीके कामले आयौ ? भनेर सोध्नुभयो । भगनी छिमेकी एक जना सुनार ठुलाबाकी छोरी थिइन् । कान्छी आमाले छोरीलाई जस्तै माया गर्ने हुनाले उनी हाम्रो घरमा आइरहन्थिन् । दुई वर्ष अघि नै त्यहाँ आउनुभएकी कान्छी आमाले झमक्क साँझ परेको बेला नचिनेकोले दिदीले आफै चिनाउनुभयो, मलाई चिनाउनुभयो, लगत्तै परिवारका अन्य सदस्य पनि देखेपछि चिनाजानी गरिरहनुपर्ने आवश्यकता रहेन । यसै त हामी पहिल्यै उहाँले खेलाइसकेका केटाकेटी थियौँ ।

भोलिपल्टदेखि तराईको घर वरपरको परिवेश र जग्गाजमिन हेर्ने सुरसार भयो । घरमा खेतीपाती गर्ने कमैया र बुक्रही एक दर्जन रहेछन् । कमैया भन्ने शब्द पनि नयाँ सुनियो । जग्गा जमिन जोत पोत गरी आयस्ताको केही अंश लिएर जीविकोपार्जन गर्ने श्रमिकलाई कमैया र उनकी श्रीमतीलाई बुक्रही भनिँदो रहेछ । उनीहरू जग्गा मालिकका हरेक सुख दुःखका साथी र काँध थाप्ने मान्छे रहेछन् । कालान्तरमा दास प्रथाको एक अवशेष ठानेर कमैया प्रथालाई निर्मूल गरियो तर ती कमैया र बुक्रहीले हाम्रो जीवनमा, जीविकामा, हर सुख दुःखमा लगाएको गुन मन र मस्तिष्कबाट निर्मूल हुने कुरा भएन । अझैँ पनि ती यादहरू ताजै छन् ।

उनीहरूले हामीलाई कपडा खोल भन्न थाले । केटाकेटी भए पनि हामीले लाज मान्यौँ र किन ? भनेर सोध्यौँ । उनीहरूले आज बुकुवा घस्ना दिन हो, हम्रे फगुवाए आइल्याटी, उही मारे भनेर जवाफ दिए । के हो फगुवाइना ? के हो बुकुवा ? नयाँ चीज शरीरमा किन घस्ने ? भनेर फेरि सोध्यौँ ।

मङ्सिर पछि माघी आयो । माघीबारे पहिल्यै लेखिसकेको छु । माघ पछि फागुन आयो ।यसै महिनामा होली पनि आयो । धुरेरी भन्ने शब्द पहिलो पटक सुनेँ । धुर अर्थात् धूलोबाट सिर्जित शब्द रहेछ धुरेरी । होलीलाई थारु भाषामा धुरेरी भन्दा रहेछन् । पुरानो धान र वर्षे खेती सकिएको, नयाँ खेती लाउने समय नभएको र केही हप्तापछि रवि बाली अर्थात् मुसुरो, केराऊ, आलस अर्थात् अल्सी जस्ता बाली भित्र्याउने बेलाको ठिक अगाडी पर्ने यो चाडमा सबै मानिसहरू केही फुर्सदिला हुँदा रहेछन् ।

होली आउनु एक दुई दिन अघि तीन चार जना बुक्रही हाम्रो घरमा हात हातमा एउटा भाँडोमा अनौठो चीज लिएर आए । हामीले कुनै खानेकुरा होला भनेर चाख मानेर हेर्‍यौँ । तोरीको पिनाजस्तो देखिने डल्लो वस्तु थियो त्यो । उनीहरूले हामीलाई कपडा खोल भन्न थाले । केटाकेटी भए पनि हामीले लाज मान्यौँ र किन रु भनेर सोध्यौँ । उनीहरूले आज बुकुवा घस्ना दिन हो, हम्रे फगुवाए आइल्याटी, उही मारे भनेर जवाफ दिए । के हो फगुवाइना रु के हो बुकुवा रु नयाँ चीज शरीरमा किन घस्ने रु भनेर फेरि सोध्यौँ । उनीहरूले आफ्नै भाषामा आजको दिन मालिकको सेवा गरे पुण्य मिल्छ, आफ्ना मान्यजनको शरीरमा बुकुवा घसिदिनु, भोलि पर्सि होलि खेल्नु नै फगुवाइना हो, बुकुवा घसेर सेवा गरे मोक्ष प्राप्ति हुन्छ भन्ने अर्थमा कुरा गरे ।

हामीलाई यो कुरामा विश्वास लागेन र आनाकानी गर्‍यौँ । उनीहरूले कसै गरे पनि धरै दिएनन् । बरु हामीलाई कन्भिन्स गर्ने उद्देश्यले भने, हेर तिमीहरूको जीउ हिउँदभरि राम्ररी ननुहाएर फोहोर छ, मयलै मयल छ । यो बुकुवा घसेपछि शरीरको सबै मयल जान्छ । हुन पनि मेरो घाँटीमा, हातमा, घुँडामा, खुट्टामा अझ भनौँ पूरै जीउभरि मयल हुन्थ्यो । मयल कटकटिएर जमेपछि तातो पानीले बेसरी भिजाएर हातले मिचे पनि जाँदैनथ्यो । चिसोका कारण मेरो स्वास्थ्यलाई ख्यालमा राखेर नुहाउन कम गर्दा त्यस्तो हुन्थ्यो । शरीरको मयल गएर जीउ सफा हुने कुराले पनि हाम्रो चित्त नबुझेपछि उनीहरूले मन दुखाउन थाले । यसरी पवित्र भावनाले आएका मानिसलाई चित्त दुखाएर फर्काउन हाम्रो मनले पनि मानेन र हामी भाइबहिनीहरूले उनीहरूलाई आधा घण्टा जति जीउ सुम्पियौँ । यो त्यति बेलाको कुरा हो जति बेला श्रमको शोषणबारे कुनै चेतना थिएन । जसलाई आज हामी शोषण भन्छौँ, त्यति बेला त्यसलाई उनीहरू कर्तव्य ठान्थे ।

बुकुवा घस्ने बेलामा पिना जस्तो पदार्थ अर्थात् बुकुवालाई शरीरमा लेपन गरेजस्तो गरिन्थ्यो । त्यसपछि तिनीहरूका बलिष्ठ हत्केलाले मयल निकाल्न छालालाई यसरी रगड्थे कि मानौँ अब छाला उप्किँदै छ । हाम्रो जीउबाट मयलका पत्र त यसरी निस्के कि छाला नै गोरो फर्कियो । जाडोमा राम्ररी ननुहाएर र मुख नधोएर काती जमेजस्ता घाँटी, गाला, घुँडा, कुहिना, हात र पैतालाको माथिल्लो भागबाट निस्केको मयलले करिब एक कचौरा भरियो । बुकुवाले वास्तवमा शरीरमा कुनै मयल नराखी सफा गर्दो रहेछ । यो पूर्णतया प्राङ्गारिक पदार्थ रहेछ, शरीरलाई कुनै साइड इफेक्ट नगर्ने । आज भोलि यसलाई उत्पादन गरेर व्यावसायिक बनाउन सके साबुन र स्याम्पुको आयातलाई प्रतिस्थापन गर्न सकिन्थ्यो होला । उनीहरू बुकुवा घसेर घरमा भएको केही अन्नपात र दान दक्षिणा लिएर गए । अर्को पटकदेखि बुकुवाप्रति हामी नम्र भयौँ ।

बुकुवा बुक्रही अर्थात् महिलाले मात्र हैन कमैया अर्थात् पुरुषले पनि घस्ने चलन रहेछ । त्यसैबाट अलिकति मागेर आफैँले पनि घसेर हेर्‍यौँ हामीले केही दिन । बुकुवा होलीमा मात्र नभई अन्य चाडपर्वमा पनि घस्ने चलन रहेछ । विशेष गरि दसैँ, देवाली जस्ता ठुला चाडपर्वमा । चाडपर्वमै यसको प्रयोग किन गरिँदो रहेछ भन्ने विषयमा पछि थारु समुदायका जानकार व्यक्तिहरूले एउटा किंवदन्ती सुनाए । जस अनुसार माघ माहात्म्यमा देवी पार्वतीले आफ्ना सुसारे मार्फत बुकुवा घसेर निकालेका मयलले भगवान् गणेशको उत्पत्ति भएको र महादेवले नचिनेर शिर छेदन गरेको कथामा बुकुवाको चलन आधारित छ ।

त्यसै बेलादेखि धर्मानुयायीहरुले पनि पार्वतीले झैं बुकुवा घस्न थालेको उनीहरूले बताए । त्यसै कारणले होला बुकुवाबाट निस्केको मयललाई भगवान् गणेशको रूप ठानेर एक कण पनि मयल खेर जान नदिएर कमैया बुक्रहीहरुले सङ्कलन गर्थे र नजिकैको कुला नाला या तलाउमा सेलाउँथे । अर्को किंवदन्ती त हाम्रा पुराणहरूमा सुरहरूले असुरहरूसँग विजय प्राप्त गरेपछिको खुसीयालीमा लामो समयसम्म युद्धमा रहँदा फोहोरी भएका देवताहरूलाई सफा राख्न अप्सरा या सेवकहरूले अपनाएको यो चलन मानिसले पनि चलाउन थालेको भन्ने पनि थियो । त्यसै कारण सेवकको रूपमा कमैया बुक्रहीहरु आउने बुकुवा घसेर शुद्ध गराउने चलन बसेको भन्ने कथा जानकारहरू सुनाउँथे । यसमा होलिका नामकी राक्षसनी डढेको खुसीयालीका कुरा पनि समेटिन्थे ।

बुकुवाले धुरेरी अर्थात् होलीको आगमनको सङ्केत दिन्थ्यो । होलीको आगमनसँगै गाउँको सुरु या पुछारमा रहेका पवित्र धार्मिक थान मडुवा सफा गरिन्थ्यो । तीमडुवाका छानाहरू खर या खप्रा (खपडा) ले छाएका हुन्थे तर तिनका भित्ता हुँदैनथे । तीन चार जना मानिस मात्र अट्ने त्यो थानमा काँचो माटोले बनाइएका हात्ती, बाघ, घोडा जस्ता विभिन्न जनावरका ससाना मूर्ति हुन्थे । त्यहाँ माटोका थाल, कचौरा, डेक्ची जस्ता ससाना भाँडाकुँडा पनि हुन्थे ।तिनलाई पनि लिपेर सुग्घर बनाइन्थ्यो । भुईँमा त्रिशूल या यस्तै ससाना हतियार पनि गाडिएको हुन्थ्यो ।हतियारमा मसिना धजा बाँधिएका हुन्थे । धुरेरी, हरेरी, दसैँ, देवाली जस्ता पर्वअघि भुईँ लिपेर चिल्लो बनाइन्थ्यो ।

धुरेरीको सुरुवातमा गाउँलेहरू मूल गुरुवा (मूल पुरोहित)को नेतृत्वमा आवश्यक पूजा सामग्री लिएर मडुवामा जान्थे । मडुवामा पूजा सुरु गर्दै मुख्य गुरुवा काम्दै अनेक मन्त्र जप्थे । मन्त्रका प्रभावले अन्य गुरुवा पनि काम्न थाल्थे । यसै गरी देउता चढ्ने जीउ भएका साधारण मान्छे पनि काम्न थाल्थे । मुख्य गुरुवाले जसरी अरूलाई देउता चढाउँथे, त्यसैगरी पूजा सक्ने बेलासम्म सबैलाई शान्त पार्थे र आफू पनि शान्त हुन्थे । धुरेरीको पूजा वास्तवमा प्रकृतिको पूजा थियो, शक्ति र कीर्तिको पूजा थियो समग्रमा धुर अर्थात् माटोको पूजा थियो र अझ धर्ती माताको पूजा थियो भन्न सकिन्छ ।त्यो पृथ्वीका अनेक सिर्जना र जीव जीवात्माको सम्मान थियो । पूजामा कहिलेकाहीँ कुखुराको बलि पनि दिइन्थ्यो र गुरुवाले ससाना त्रिशूलले एक थोपा रगत ननिकालीकन जिब्रो समेत छेडेर देखाउँथे ।

धुरेरी पूजापछि होली अर्थात् धुरेरी सुरु हुन्थ्यो । युवायुवतीहरू बाँस काटेर ढुङ्ग्रो बनाउँथे । ढुङ्ग्रोको एकातिर मसिनो प्वाल बनाइन्थ्यो । त्यसमा एउटा लट्ठीको टुप्पोमा मोटो कपडा बेरेर पानी तान्ने बनाइन्थ्यो । त्यसपछि तयार हुन्थ्यो बाँसको पिचकारी । पिचकारीले अलि परसम्मको मानिसलाई पनि पानी या रङ्ग छ्याप्न सकिन्थ्यो । बाँसका पिचकारी नहुनेले बाल्टिन, कचौरा या अन्य भाँडाकुँडाको पनि प्रयोग गर्थे । आधुनिक प्लास्टिकका पिचकारीको चलन थिएन । त्यतिबेला होली तीन दिनसम्म मनाइन्थ्यो । पहिलो दिनको होली पानीले खेल्थे । होली हो…, होली रे… भनेर कराएको सामूहिक आवाजले मन तरङ्गित हुन्थ्यो । खेल्न मन नलागेकालाई पनि खेलूँ खेलूँ लाग्थ्यो । होली खेलिरहेकाले नखेलिरहेकालाई उनीहरूको मनोभावना बुझेर पानी छ्यापिरहेको पनि देखिन्थ्यो । मन नपर्नेले रिसाएर मुरमुरिएको पनि रमाइलै लाग्थ्यो । मानिसको स्वभाव के हो कुन्नि, होली नखेल्नेलाई, खेल्न मन नपर्नेलाई झन् जिस्काउन, लखेट्न, लखेटालखेटी पानीमा चोपल्न, एक बाल्टिन पानीले नुहाइदिन मन लाग्ने ।

होलीको दोस्रो दिन सबैभन्दा बढी हेर्न लायक हुन्थ्यो । किनकि यो दिन माटो या हिलोले धुरेरी खेल्ने दिन हुन्थ्यो । गाउँ नजिकका पानी जमेका खाल्टाखुल्टी, कुलाको छेउछाउ या हिलो हुने ठाउँमा युवायुवती स्वतःस्फूर्त रूपमा जम्मा हुन्थे । भर्खरका बठनियाँहरु र जवान लड्काहरु पहिले हिलो छ्यापेर एक अर्कालाई जिस्काउँथे । बिस्तारै उनीहरू हिलोमै हेलिन्थे । एक अर्कालाई उठा पट्की गरेर हिलोमा लुटपुटिएर आहालबाट निस्केका पाडा पाडी जस्ता हुन्थे युवायुवतीहरू । कुनै कुनै समूह त कुस्ती खेल नै खेल्थे हिलोमा । युवायुवतीको हिले कुस्ती हेर्न गाउँलेको भीड लाग्थ्यो । यो त्यति बेलाको कुरा हो जति बेला गाउँमा दुई तीन घर पहाडी समुदायका हुन्थे, बाँकी सबै थारुका । पहाडीहरू खेल्न भन्दा हेर्न मन पराउँथे । हामी पहाडी केटाकेटीका साथी सबै थारु समुदायका भएको हुनाले हामी पनि खेल्ने मै पर्थ्यौँ । भुरीगाउँको बजार स्थापना हुनु र पहाडी समुदायको बस्ती बाक्लिनुभन्दा केही वर्षअघिको कुरा हो यो ।

तेस्रो दिन रङ्गको होली हुन्थ्यो । गाउँमा त्यति बेला रङ्ग पाइँदैनथ्यो । कसै कसैले सौदागरले बेच्न ल्याएको रङ्ग, अबीर किनेर राख्थे । रङ्गको सट्टा आँपका भर्खर पलाउन लागेका तामा रङ्गका मुजुरा पातलाई पिसेर पनि रङ्ग बनाउँथे । कोही कालो मोसोको रङ्ग बनाउँथे । पहाडी समुदायका सीमित मानिसहरू अबीर दलेर एक अर्कामा हर्ष र खुसी साट्थे । जुन समुदायको भए पनि होलीमा हरेक व्यक्तिले आनन्द लिन्थ्यो । एकथरि भाङ खाएर पतुरिएका पनि देखिन्थे भने कोही रक्सीले मैमत्त हुँदै बाटा घाटामा बरबराएको र लरखराएको देखिन्थ्यो ।

धुरेरीको मौकामा थारु समुदायका मानिसहरू बेलुकीपख नाचगान गरेको पनि देखिन्थ्यो । विशेष गरि पुरुषहरूले कोही रङ्गिन भएर, कोही त्यत्तिकै पनि नाची रहेका हुन्थे । होलीको विशेष गीत त त्यस्तो थिएन तर हुर्दुंगुवा शैलीमा युवाहरू रमाइलो गर्दै आफ्नै तालमा नाचेको धेरै देखिन्थ्यो । हामी पनि त्यो तालमा ताल मिलाउन मिसिन्थ्यौँ । पहाडी समुदायका केटाहरू मिसिएर थारु समुदायका केटाहरूसँग लयमा लय तालमा ताल मिलाइदिँदा उनीहरू हामीलाई स्वागत गर्थे, माया गर्थे र आफ्नोपन देखाउँथे । उनीहरूका संस्कृतिमा भिज्दा हामीलाई पनि उनीहरूका चालचलन आफ्ना लाग्न थाले । ती नाचगान टपक्क टिपेर अपनाउन सजिला भएकाले हामी पनि तिनमा रमाउन थाल्यौँ । समय क्रममा उठबस, व्यवहार, संस्कृति र भाषाका हिसाबले हामीले एक अर्कालाई पराई ठान्न छाड्यौँ । दुवै समुदायका मानिसले एक अर्कामा नाता नै गाँसेर नजिकिन थाले । अन्ततः हामी एकाकार भयौँ ।

भुरीगाउँ बजारको सुरुवातपछि होलीले पनि रूप रङ्ग फेर्न थाल्यो । पूर्वपश्चिम जतासुकैबाट मानिस ओइरिएपछि होलीको रङ्ग पनि नौरङ्गी हुन थाल्यो । सबैको होली खेल्ने जक्शन भुरीगाउँ बजार भयो । बजारमा थापाको चिया पसलअगाडि होलीको केन्द्र हुन्थ्यो । बजारमा बिहानैदेखि विभिन्न रङले अनुहार पोतेका मानिस देखिन्थे । होली खेलिसकेर २, ४ पटक धुँदा पनि नजाने हरियो रङ्गको चलन सुरु भयो । कोही सिताराजस्तो टलटल टल्कने जरी मिसाएको रङ्ग खेल्थे । बजार बासीहरूको एउटा भीड पहिल्यै तम्तयार हुन्थ्यो होली खेल्न आउनेलाई स्वागत गर्न । टलक्क टल्केको लुगा लाएर आएको मान्छे देख्नै नहुने । भीडबाट एक जना निस्केर होली खेल्ने इच्छा नभएको मानिसलाई पनि फकाइफुल्याई एउटा टीका मात्रै…, निधारमा मात्रै… भन्दै हात अघि बढाउँथ्यो । उसले निधारमा हात नलाउँदै अर्कोले गालामा हात पुर्‍याउँथ्यो, अर्कोले जीउमा, अझ अर्कोले त बाल्टिनभरिको रङ्गिन पानी ल्याएर नुहाइदिएपछि भागाभाग गर्दै होलीको खेल खतम, तर मनोरञ्जन सुरु । त्यसपछि ऊ पनि त्यही भीडको सदस्य भइहाल्ने । हुँदाहुँदा साथीभाइ उत्तेजित भएर एक अर्कालाई थाहै नदिई लाएका लुगा समेत च्यातिदिने । दिनभरि होली हो… को आवाज र हल्लाखल्लाले भुरीगाउँ बजार उल्लासमय हुन्थ्यो । बगनाहा, बावनपुर, मैनवार, बकुवा, रानीपुर, कर्मला, नेउलापुर, कञ्चनपुर, ठाकुरद्वारादेखिका मानिसहरू भुरीगाउँ बजारमा होली खेल्न आउँथे । तीन दिनसम्म रङ्गकै होली चल्थ्यो । गाउँघरमा आफूले ठट्टा गर्न मिल्ने नातागोताहरूसँग होली खेलेर रमाइलो गरिन्थ्यो ।

पछपछि भुरीगाउँ र वरपर दैलेखी र अछामीहरूको सङ्ख्या उल्लेख्य बढेको थियो । दैलेखीहरुको होली खासै त्यस्तो मौलिक थिएन । तर अछामीहरूको मौलिक तरिका पनि थियो होली खेल्ने । डुम्रेनी, बसुरिया, वर्गदाहा, मिर्चैयातिर अछामीको बसोबास बढी थियो । अछामी महिलाहरूले देउडा जस्तै एक किसिमको खेल रन पुतला कहिलेकाहीँ खेलेको देख्न पाइन्थ्यो । रन पुतलालाई पुतला पनि भन्ने गरिन्थ्यो । यस खेलमा महिलाहरूले आफ्नो धरो या पटुकीको एकातिरका दुई छेउ दुई हातले समातेर खेलमा घुम्दै निहुरँदै र उठ्दै तालमा ताल र भाकामा भाका मिलाएर गाउँथे ।हेर्दा कुनै पुतलीको उडानलाई सङ्केत गरेजस्तो देखिन्थ्यो । यो गीतको भाका लामो हुन्थ्यो ।गीतका शब्द शब्दमा हात र शरीरको हाउभाउ फरक हुन्थ्यो ।अछाममा माघी र वैशाखमा नयाँ वर्षको सुरुवातको दिनमा दमाहा, झ्याली, सनै समेत गुन्जिएर खेलिने व्यवस्थित रन पुतला खेल त त्यहाँ देखिएन तर टोलका महिलाले सुरिला भाका हालेर यो खेल खेलेको होलीमा पनि कतै कतै देखिन्थ्यो । रन पुतलाले एक किसिमको उमङ्ग, उल्लास या बहार आएको सङ्केत गर्थ्यो । शायद पुतलीहरूको प्रजनन, बिरुवामा पालुवा पलाउने र समग्र प्रकृतिमा नै सृष्टि र हरियाली छाउने बेलाको सम्झनालाई लिएर रन पुतलाको प्रचलन बसेको हुनुपर्छ ।

भुरीगाउँ वरपरका पहाडी समुदायमा होलीको वास्तविक रौनक चाहिँ गण्डकी र लुम्बिनी अञ्चलबाट बसाइँ सरेर आएका बासिन्दाहरूको सङ्ख्या बढेपछि थपिएको हो । उनीहरूले परम्परा धान्ने गरेको होलीलाई उल्लास छर्ने वृहत् होलीको रूपमा फैलाए । नचिनेकै मानिसलाई पनि आफ्नो बनाउन होलीले कसरी मद्दत गर्छ भन्ने कुरा सिकाए । होलीलाई रङ्गिन, प्रेमील, सहिष्णु र आत्मीय बनाउन तिनीहरूले सिकाए । होली रङ्ग खेलेर उल्ली र बल्ली मात्रै पार्ने पर्व होइन, यो त मित्रता र भाइचारा स्थापित गर्ने अवसर पनि हो भन्ने कुरा देखाए । यस अर्थमा त्यसपछिको होली झन् परिष्कृत र विकसित हुँदै गएको मान्न सकिन्छ ।

मचाहिँ होलीको दर्शक जस्तै थिएँ । होलीको महत्त्व नबुझेर हो वा किन हो म होलीमा खासै सक्रिय हुँदैनथे । घरमा मान्यजनको हातबाट अबीरको टीका लगाउनु र आशीर्वाद थाप्नु, सोखको लागि बाँसका पिचकारी बनाउनु र साथीभाइबिच पानी छ्याप्नुमै सीमित थियो मेरो होली । त्यो पनि सानै उमेरमा । तर अरूले खेलेका ठँट्याउला होली, युवायुवतीको पानी, रङ्ग र हिलो छ्यापाछ्याप, मरुवामा गरिने धुरेरी पूजा, कालो मोसो र अण्डाको छेपाइ जस्ता मनै खिच्ने दृश्यहरू हेर्न मलाई खुब मन पर्थ्यो । शायद होली चाड नै यस्तै होला कि म पनि कम खेल्ने बानी भएको मानिस हुनाले मलाई पनि लखेटालखेटी होली खेल्न खोज्थे आफन्तजन र साथीहरू । अनि मेरो भागाभाग हुन्थ्यो ।

म होलीभित्र उद्दण्डता र उच्छृङ्खलता देख्थे शायद । होलीभित्र अनुशासन खोज्ने भूल गर्थे शायद । रङ्ग छ्याप्न पनि मर्यादा चाहिन्छ भन्ने मान्यता राख्थेँ शायद । र, म होली खेल्ने लायकको थिइन । मलाई थाहा थिएन त्यो उच्छृङ्खलताभित्र पनि प्रेमको खानी हुन्छ । म अञ्जान थिएँ कि त्यो मजाकभित्र पनि एक किसिमको मज्जा हुन्छ । म अनभिज्ञ थिएँ कि त्यो उद्दण्डतामा पनि उमङ्गको उत्कर्ष हुन्छ । त्यतिबेला होलीका गीतहरू सुनिंदैथे । होलिकाको कथा पनि कसैले सुनाइदिँदैनथ्यो । नेपालीमा होली गीत थिएनन् । उदित नारायण र साथीहरूले गाएको मैथिली गीत जो गिरा सररर रहोरिया होरिया हो रङ्ग खेले होरी भन्ने गीत कताकति सुनिन्थे । होलीले मेरो रङ्गायो नयाँ चोली भन्ने गीत आउँदा त मेरो होली खेल्ने जवानी बित्नै लागेको थियो । अल इन्डिया रेडियोबाट होलीका हिन्दी गीत सुनिन्थेस् रङ्ग बर्से भिगे चुनरवाली, होरी के अँगनामें जस्ता गीतहरू ।

आजभोलि फेसबुक लाइभमा या टिकटकमा होली हेरेर आनन्द लिने पुस्ताले वास्तविक होलीले दिने प्रेम र भाइचाराबाट वञ्चित भएजस्तै मैले पनि त्यति बेला वास्तविक होलीको आनन्द उठाउन नसकेकोमा खेद छ । यदि म अहिले त्यो उमेरमा हुँदो हुँ त मेरा साथीभाइ र आफन्तजनका लागि म कति समर्पित भएर होली खेल्दो हुँ रु मैले उन्मत्त भएर होली खेल्दा मेरो मनले अझ कति सम्झनाका थुप्राहरू सँगाल्दो हो र आज आएर यो लेख कहाँ गएर टुङ्गिँदो हो ? जीवनको यो उमेरमा आएर ती होली सम्झँदा मैले जीवनका एकदमै महत्त्वपूर्ण मौकाहरू गुमाएजस्तो लाग्छ । आफ्नै संस्कृतिको एउटा पाटोबाट अलग्गिएर एकलकाँटे भएजस्तो लाग्छ । मलाई माया गरेर रङ्ग लगाउन आउनेप्रति कृतघ्न भएजस्तो लाग्छ ।

बुकुवाले शरीरको सबै मयललाई उतारेर लगेजस्तै समयले पनि मेरा ती सबै उमङ्ग र जोस भरिएको उमेर लगिसकेको बेला ती बुकुवाका डल्ला, पिचकारी, होली, होरी, रङ्ग, रन पुतला र धुरेरीका सप्तरङ्गी यादहरू हरेक वर्ष होली आउने बेलामा आँखा अगाडी प्रकट हुन्छन् । म तिनलाई पश्चात्तापका अदृश्य हातले सुमसुम्याउँछु र भनिरहेको हुन्छु: होली हो… आज हैन भोलि हो…

Leave A Reply

Your email address will not be published.