
भुरीगाउँ, बर्दिया : बर्दिया ठाकुरबाबा नगरपालिका-१ भुरीगाउँ बजारको भुरीगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको झण्डै ५० लाख रकम हिनामिना गरेको पाइएको छ । भुरीगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा लाखौँ रकम हिनामिना भएको जनगुनासो बढेपछि संस्थाको आर्थिक पारदर्शिता बारे स्थानीय जीवन शाहीको अध्यक्षतामा ५ सदस्यीय छानविन समिती गठन गरेपछि ४९ लाख ५७ हजार ७ सय ५९ रुपैँया हिनामिना भएको बाहिरिएको हो ।
संयोजक जीवन कुमार शाही, सदस्यहरु गोविन्द प्रसाद आचार्य, अर्जुन भण्डारी, पन्चराम थारु, र गणेश कुँवरसहितको ५ सदस्यि छानविन समितीले २०७७ सालदेखि हालसम्म ४९ लाख ५७ हजार ७ सय ५९ रुपैँया दाखलिा नगरी हिनामिना गरेको पाइएको प्रतिवेदनमा उल्लेख गरेको छ । जनगुनोसो बढेपछि संस्थाका अध्यक्ष वेदप्रसाद भण्डारीसहितको कार्यसमितिले स्थानीय जीवन शाहि लगायतका ५ सदस्यीय छानविन समिति गठन गरेको हो ।
भुरीगाउँ बजारको भुरीगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष वेदप्रसाद भण्डारी, उपाध्यक्ष चन्द्रमणी पौडेल, कोषाध्यक्ष कृष्ण प्रसाद थारु, सचिव मनादेवी शर्मा, सदस्यहरु सीता सुनार, तुलाराम श्रेष्ठ, धिर बहादुर शाही, सत्यराज तिमिल्सैना र बिर्पु बिकसहितको कार्यसमितिले २०७७ सालदेखि हालसम्म आम्दानी र खर्च हिसाब पारदर्शिता ढंगबाट नराखेको रकम हिनामिनासंगै लेखापरीक्षण समेत नगरेको छानविन समितीले जनाएको छ ।
संस्थाका अध्यक्ष वेदप्रसाद भण्डारीका अनुसार आफुले र समितीले आर्थिक कारोकार नगरेको संस्था कार्यरत कर्मचारीले राम बहादुर थारुले आर्थिक पादर्शिता नगरेको बताउनुभयो । विगतमा भएका आफूलाई थाहा नभएको बताउँदै आफु अध्यक्ष भएदेखि नै कर्मचारीको जिम्मामा आर्थिक कारोबार दिएको बताउनुभयो । खानेपानी संस्थामा कार्यरत कर्मचारी राम बहादुर थारुले आफुले आम्दानी र खर्च रेर्कड केहि नराखेको हुँदा हिसाब नमिलेको दावी गर्छन् तर केहि रकम भने आफुले खर्च गरेको उनले बताएका छन् ।
खानेपानीको लाखौँ रकम हिनामिना गरेको भन्दै स्थानीयले समितीको बिरोध गरेका छन् । खानेपानी संस्थाको रकम हिनामिना सम्बन्धमा तत्काल लेखा परिक्षण गरि छानविन गर्न स्थानीय बासिन्दाले माग गरेका छन् । यस सम्बन्धमा ठाकुरबाबा नगरपालिकाले सम्पुर्ण कागजात लिएर अनुसन्धान प्रकृया अघि बढाउने जनाएको छ । खानेपानी संस्थाको कार्यसमितिले रकम हिनामिना सम्बन्धमा छानबिनका लागि नगरपालिकामा निवेदन दिएको छ, आइतबारदेखि छानबिन तथा अनुसन्धान प्रकृया अघि बढाइने ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद ढकालले बताउनुभयो ।