onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दियाको ठाकुरबाबामा नेपालमै पहिलो पटक खो–खो लिग हुने

Sambad ADD long

भुरीगाउँ, बर्दिया : नेपालमै पहिलो पटक खो–खो लिग (ड्रिम खो–खोे) २०८१ बर्दियाको ठाकुरबाबा नगरपालिकामा हुने भएको छ । ठाकुरबाबा नगरपालिकाको भुरिगाउँ बजार नजिक नेपालको पहिलो खो–खो कभर्ड हल रानीपुरमा आगामी चैत २३ देखि ३० गतेसम्म नेपालमै पहिलो पटक खो–खो लिग खेल हुने नेपाल खो–खो संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष छत्र बहादुर शाहीलले जानकारी दिनुभयो ।

खेलकुद परिषद लुम्बिनी प्रदेशको प्रवद्र्धन, ठाकुरबाबा नगरपालिकाको मुख्य प्रवद्र्धन तथा लुम्बिनी प्रदेश खो–खो संघको व्यवस्थापक र नेपाल खो–खो संघको आयोजनामा नेपालमै पहिलो पटक नेपाल खो–खो लिग २०८१ हुने आयोजकले जानकारी गराएको हो । खो–खो खेलको व्यवसायीक विकासका लागि लिग चरणको खेल जरुरी रहेको हुँदा खो–खो खेलको विकास गरि खेलाडीहरुलाई आकर्षित गर्ने र खेलाडीहरुको व्यवसायीक भविष्य सुनिश्चित गर्ने उदेश्यले नेपालमै पहिलो पटक लिग चरणको खेल आयोजना गरिएको नेपाल खो–खो संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष एवं प्रमुख व्यवस्थापक छत्र बहादुर शाहीले बताउनुभयो ।

खो–खो लिग खेलका लागि हालसम्म ३० जना खेलाडी दर्ता भईसकेको छ, लिगका लागि झण्डै ३५ लाख रुपैँया खर्च हुने अनुमान गरिएको उहाँले बताउनुभयो । लिगमा विजेता समूहलाई उचित पुरस्कार प्रदान गरिने विषयमा छलफल भईरहेको छ । लिगमा ६ वटा पुरुष समूह सहभागिता हुने र महिला तर्फको प्रदर्शन खेल हुने आयोजकले जनाएको छ । खो–खो लिग खेल अवलोकनकर्ताका लागि लिग अवधिभरको प्रति व्यक्ति एक हजार रुपैँयाको टिकट व्यवस्था गरिएको खो–खो संघ लुम्बिनी प्रदेशका महासचिव खगेन्द्र शाहीले बताउनुभयो । खेल बिहान ७ बजेदेखि राती ८ बजेसम्म संचालन हुनेछ । लिगलाई भव्य रुपमा सफल बनाउन सरोकारवालासंग छलफल भईरहेको बताउँदै लिगलाई सफल बनाउन सम्पुर्णमा महासचिव शाहीले आग्रह गर्नुभएको छ ।

भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर रंगशालामा सन् २०२५ जनवरी १३ तारिक अर्थात (पुस २९) देखि १९ तारिख (माघ ६ गते) सम्म संचालन भएको २३ वटा देशको सहभागिता रहेको प्रथम विश्वकप खो–खो खेल प्रतियोगितामा महिला र पुरुष दुबै खेलमा नेपाल रजत पदक ल्याउन सफल उपविजेता भएको थियो ।
भारतमा भएको प्रथम विश्वकप खो–खो खेलमा लुम्बिनी प्रदेशबाट १५ जना सहभागि खेलाडीहरु मध्ये बर्दियाको ठाकुरबाबा नगरपालिकाबाट मात्रै ७ महिला र ५ पुरुष गरि १२ जना खेलाडीहरु सहभागी भएका थिए ।

Leave A Reply

Your email address will not be published.