onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

को हुन् देविराम उपाध्याय ?

Sambad ADD long

अब पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दियाको भुरीगाउँ बजारमा प्रवेश गर्ने जोसुकैले पनि जब मुख्य चौराहाबाट राष्ट्रिय निकुञ्जतर्फको उत्तर पूर्वी बाटोतिर सोझिनेछ, तब उसले चोकमै एउटा अर्ध कदको सालिक देख्नेछ । नाक ढोडे, अनुहार ख्याउटे पातलो, कन्चटको हड्डी देखिने, खस्रो टोपीले छोपिएको टाउको । त्यो सालिक अरू कसैको नभएर त्यस क्षेत्रका एक जना पुराना राजनीतिकर्मी एवम् समाजसेवी देवीराम उपाध्यायको हो ।

ठाकुरबाबा नगरपालिकाका पूर्व नगर प्रमुख घननारायण श्रेष्ठको पालामा सालिक बनाउने योजना तयार भएपछि नगर प्रमुख तिलकराम लम्सालको पालामा सम्पन्न भएको यो सालिकलाई एउटा स्मारकको रूपमा हेरिएको छ । निरङ्कुश पञ्चायतका प्रधानपञ्च रहेका देविरामलाई गणतान्त्रिक व्यवस्थाका स्थानीय सरकारले समेत किन यति महत्वका साथ हेरे भन्ने कुरा महत्त्वपूर्ण छ । यहाँ म तिनै देविरामबारे चर्चा गर्दैछु ।

विक्रम संवत् १९८९ साल पुस १७ गते दैलेख जिल्लाको साताला गाउँको रावन्ने डाँडा भन्ने टोलमा जन्मेका देवीराम तत्कालीन राणा शासनका मुखिया बिशाखर उपाध्यायका भाइ मयाराम उपाध्याय र बुहारी जयन्ती उपाध्यायका जेठा छोरा थिए । जेठा बुबा बिशाखर राणा शासनमा गाउँका ठालु, मुखिया, विद्वान कवि, सँस्कृतका पण्डित, साहित्यकार, देउडा साहित्यका आशुकवि, गीतकार जस्ता बहुमुखी प्रतिभाका धनी भए पनि बुबा मयाराम चाहिँ सामान्य खेती किसानी र भैंसीपालनमै रमाउने स्वभावका थिए । बिशाखर मध्य तथा सुदूरपश्चिममा ख्याति प्राप्त व्यक्ति थिए । उनी व्यक्ति, सरकार, अड्डा अदालत सबैसित गीत र कवितामा सवाल जवाफ गरी निःशब्द तुल्याउने र मन जितेर विषय जित्ने क्षमता भएकाले उनको प्रसिद्धि चुलिएको थियो । आफ्ना र भाइका गरी तीन छोराहरू लिलाराम, देवीराम र वेणीप्रसादको स्वभाव बारे उनले लेखेको कविता पनि यहाँ उल्लेख्य छ:

सत, तम, रज गुन्का पुत्र मेरा तिनै हुन्
लिलाराम, देवीराम, बेणीप्रसाद यिनै हुन् ।

हुन पनि बिशाखरले भनेजस्तै देविरामको स्वभाव अलि तामसी खालको थियो । लिलाराम भद्र र सरल स्वभावका थिए भने बेणीप्रसाद मोजमस्ती गर्ने राजसी स्वभावका । यी तीन भाइ दैलेखको साताला गाउँ पञ्चायतमा पालैपालो २३ वर्ष प्रधानपञ्चमा विजयी भएका थिए ।

विक्रम संवत् २००७ सालको क्रान्तिले देविरामको मनमस्तिष्कमा चेतना ल्याएको थियो । राणा शासनको अन्त्य हुनुपर्नाको कारण र क्रान्तिको आवश्यकताबारे उनले गहिरोसँग चिन्तन गर्न थाले । क्रान्तिले नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउन चाहेको बुझेर देशको राजनीतिक गतिविधिमा चासो दिन थालेका थिए । केन्द्रीय सरकारको भन्दा स्थानीय प्रतिनिधिको पहल ग्रामीण विकासको लागि आवश्यक हुन्छ भन्ने मान्यतामा देवीराम स्पष्ट भएपछि स्थानीय राजनीतितिर उनको ध्यान मोडिन थाल्यो ।

देविरामको बाल्यकाल साताला गाउँमा भैँसी चराउँदै, दाउरा घाँस गर्दागर्दै बितिरहेको थियो । बाल्यकालमै उनी बुबा र अन्य साथीहरूसँग हिउँदमा भैँसी लगेर तराइका बण्डालमा चराउने र बर्षा लागेसँगै पहाडतिर उक्लिने गर्दथे । उति बेला कैलाली या बर्दिया आउन दैलेखको सातालाबाट अँसाराघाट, जङ्गलघाट, जामु, कुइने र चिसापानी गरी ५ ठाउँमा डुङ्गामा नदी तरेर भैँसीलाई पौडी खेल्न लगाएर तार्नुपर्दथ्यो । सातालाको चिन्याँज्यूलामा धेरै धान उत्पादन हुन्थ्यो । कपासको खेती गरेर ठिटुवा, भाङ्ग्रो र घरबुनाका लुगा बनाउने चलन पनि घरमै देखेका देविरामले नयाँ नयाँ काम गर्ने स्वभाव देखाउँथे । कहिले घोडचढीको अभ्यास त कहिले बन्दुक चलाउने देखासिकी, कहिले रेडियो भित्र्याउने त कहिले घरैमा शिक्षालय बनाउने जस्ता अनौठा अभ्यास यसका उदाहरण हुन् ।

विक्रम संवत् २००३ सालदेखि करिब ३ वर्ष उनले तत्कालीन दुल्लु राज्यको भाषा पाठशालामा अध्ययन गरेका थिए । विशेष गरी संस्कृत व्याकरण, साहित्य र ब्राह्मणहरूका लागि आवश्यक कर्मकाण्डको विशेष शिक्षा उनले प्राप्त गरेका थिए । जजमानी पुर्खौली पेसा भएकाले सामान्य पूजापाठका विधि विधानको शिक्षा त जेठो बुबा बिशाखरबाट पनि त्यसअघि नै प्राप्त गरेका थिए । तर दुल्लुमा गएपछि भने दर्शन र अध्यात्मको ज्ञान पाए । उनलाई वेदका विभिन्न ऋचा र कण्डिका कण्ठस्थ थिए । पूजापाठमा अन्य ब्राह्मणहरू विधि विधानका पुस्तक पल्टाउँथे, उनलाई हरेक पूजाको विधि कण्ठस्थ हुन्थ्यो, संस्कृतमा ।

विक्रम संवत् २००७ सालको क्रान्तिले देविरामको मनमस्तिष्कमा चेतना ल्याएको थियो । राणा शासनको अन्त्य हुनुपर्नाको कारण र क्रान्तिको आवश्यकताबारे उनले गहिरोसँग चिन्तन गर्न थाले । क्रान्तिले नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउन चाहेको बुझेर देशको राजनीतिक गतिविधिमा चासो दिन थालेका थिए । केन्द्रीय सरकारको भन्दा स्थानीय प्रतिनिधिको पहल ग्रामीण विकासको लागि आवश्यक हुन्छ भन्ने मान्यतामा देवीराम स्पष्ट भएपछि स्थानीय राजनीतितिर उनको ध्यान मोडिन थाल्यो । तर केही समय प्रत्यक्ष राजनीतिभन्दा अन्य पेसा र व्यवसाय उनका प्राथमिकतामा पर्न थाले ।

राजनीति गर्ने मान्छेको अझ भनौँ जनप्रतिनिधिको आफ्नै कुनै आर्थिक श्रोत हुनुपर्छ र सरकारी रकम व्यक्तिगत खर्चमा लगाउनुहुँदैन भन्ने स्पष्ट मान्यता बोकेका देविरामले यसैबिच भाइहरूलाई व्यापारमा लगाउन थालेका थिए । उनका भाइ रामनाथ कर्णालीको किनार अँसाराघाटमा फलफुल र सिँगार पटारका सामानको पसल थापेर बसेका थिए । भाइहरूलाई राजापुर र काठमाडौँबाट समेत सामान ल्याएर बन्दोबस्त गरिदिन्थे व्यापारको लागि । यो त्यस्तै  विक्रम संवत् २०१२ सालतिरको कुरा होला । समयक्रममा देविरामले ब्राह्मण भएर दैलेखको राकममा सरकारी रक्सी भट्टीको ठेक्का लिई भाइ प्रयागराजलाई मुनिम बनाउँदा त्यति बेलाको समाजमा घृणा र निन्दा समेत बेहोर्नुपरेको थियो । उनका विरुद्ध प्रयोग गरिएको एउटा टुक्का आजसम्म पनि जनबोलीमा यदाकदा सुन्ने गरिन्छ:

गोलु पाध्या सम्धी होइन बज्जिरे मीत होइन
जग्गे छोडी भट्टी कुन्र्या बाहुनको थित होइन ।

लकान्द्रका गोलुप्रसाद उपाध्याय सम्धी भएर दैलेखमा सबैभन्दा पहिले भातभान्सा लुगा नफेरेरै खाने र रक्सी समेत खाने ब्राह्मण व्यक्ति र अछाम टोड्केसालका बजिरसिंह विष्ट मीत भएर पनि कहिल्यै मित्रता नदेखाउने, अनि आफै अरूले छोएको नखाने ब्राह्मण भएर पैसाको लागि रक्सीको भट्टी कुर्नसमेत तयार हुने भन्ने अर्थमा यो गीत तयार भएको थियो । देवीरामले यसबाहेक कुइने केवरी घाटको तराई रकमको ठेक्का, कैलालीको कटाँसे बजारमा गट्टा र मिठाइ कारखाना, सुर्खेतमा व्यापार जस्ता आम्दानीले दैलेख सातालाको जिन्याज्यूलामा करिब १० रोपनी खेत, सुर्खेत बजारमा ४ कट्ठा जग्गा र भुरीगाउँमा २० बिघा जग्गा जोड्न सफल भएका थिए ।

विक्रम संवत् २०१२ सालमा २३ वर्षको उमेरमा देवीराम जेठो बुबा बिशाखरसँग काठमाडौँ गए । यो यात्रा गाउँघरको मुद्दा मामिलाको लागि थियो । यो यात्राले उनलाई राजधानीमा हुने अनेक गतिविधिबारे जानकारी लिन सहयोग गर्‍यो । विक्रम संवत् २०१४ सालमा पुनः उनी काठमाडौँ गए । यसलाई उनले काठमाडौँका राणाजी र शाहहरूसँग मित्रता बढाउन उपयोग गरे । उनले नेपालको राजनीति कतातिर जाँदैछ भन्नेसम्मको अध्ययन गर्न पाए । विक्रम संवत् २०१७ साल मङ्सिरमा भाइ रामनाथलाई लिएर देविराम फेरि काठमाडौँ गए । त्यति बेला उनले दुल्लुका राज खलक र राणाजी मार्फत राजदरबारमा सम्पर्क बढाउन भ्याए । त्यति बेला राजा महेन्द्रको कवित्व र राजनीतिक शोचबाट उनी प्रभावित भएका थिए । उनी फर्केको एक महिना नपुग्दै राजा महेन्द्रले पञ्चायती व्यवस्थाको घोषणा गरे ।

काठमाडौँ जाँदा गैरिधारामा दुल्लुका राजाका घरमा उनको वास हुन्थ्यो । अखण्ड शमशेर जबरा उनका हित्तचित्त मिल्ने साथी भए । उनले देविरामलाई साइकल चलाउन सिकाए । काठमाडौँमै उनले ऊनबाट सुइटर बुन्न र कुरुसले रुमाल बुन्न सिके । पछि आफ्नै घरका र गाउँका धेरै महिलालाई उनले सुइटर, टोपी, मफलर र रुमाल बुन्न सिकाए । यसरी उनले महिलालाई उद्योगी बन्न पनि सिकाएका हुन् भन्न सकिन्छ । उनबाट सिकेका दिदीबहिनीले बुनेका सुइटर र टोपी मैले पनि लाएको थिएँ । उता अखण्ड शमशेर राणाहरूमध्ये अत्यन्त शक्तिशाली मानिस थिए । अखण्ड शमशेरले गुरु तपाईँको परिवार लिएर आउनुहोस्, हामीलाई आज पूजा गराउने गुरु चाहिन्छ, तपाइँहरु जस्तो गुरु पाए हामी जग्गाजमिन घर सबै जोडिदिन्छौ भनेका थिए । तर मनमस्तिष्कमा गाउँघर सजाएका देवीराम काठमाडौँबाट फर्कँदा पञ्चायतका समर्थक बनेर एक वर्षलाई व्यापार गर्न पुग्ने सामान पनि लिएर फर्किए ।

विक्रम संवत् २०१८ सालमा पञ्चायती व्यवस्थाको पहिलो निर्वाचन गाउँ पञ्चायतको निर्वाचन भयो । गाउँभामा उपस्थित गाउँलेहरूले उम्मेदवारका पक्षमा हात उठाएर गरिने यो मतदानमा मतपत्रको प्रयोग गरिएको थिएन । प्रधानपञ्च, उपप्रधानपञ्च र ९ जना पञ्चहरू छान्ने यो चुनावमा सातालामा उम्मेदवार पाउनै गाह्रो थियो । भेलामा उपस्थित बहुसङ्ख्यकले फलानोलाई बनाऊँ भनेपछि पद पाइहाल्ने सजिलो अवस्था थियो । त्यति बेला देवीराम कुनै पदमा उठेनन् तर उनले त्यति बेलाका उम्मेदवारलाई सघाए ।

विक्रम संवत् २०१८ सालमा पञ्चायती व्यवस्थाको पहिलो निर्वाचन गाउँ पञ्चायतको निर्वाचन भयो । गाउँभामा उपस्थित गाउँलेहरूले उम्मेदवारका पक्षमा हात उठाएर गरिने यो मतदानमा मतपत्रको प्रयोग गरिएको थिएन । प्रधानपञ्च, उपप्रधानपञ्च र ९ जना पञ्चहरू छान्ने यो चुनावमा सातालामा उम्मेदवार पाउनै गाह्रो थियो । भेलामा उपस्थित बहुसङ्ख्यकले फलानोलाई बनाऊँ भनेपछि पद पाइहाल्ने सजिलो अवस्था थियो । त्यति बेला देवीराम कुनै पदमा उठेनन् तर उनले त्यति बेलाका उम्मेदवारलाई सघाए । त्यति बेला प्रधानपञ्चमा उनका दाइ (जेठोबाबुका छोरा) लिलाराम उपाध्याय विजयी भएका थिए । उनले लिलारामको निकट रहेर गाउँले राजनीतिलाई अध्ययन गर्ने मौका पाए । त्यो निर्वाचन पञ्चायतको पहिलो निर्वाचन भएकोले विकासका योजना ल्याउन पनि अलमल नै थियो । गाउँमा विकासको बजेट आउँदैनथ्यो । अलि हक्की प्रधानपञ्चहरूले जिल्ला र केन्द्रमा गएर भनसुन गरेर योजना ल्याउँथे । गाउँका सामान्य कामहरू श्रमदानबाट गर्ने चलन थियो । जनप्रतिनिधि र प्रधानपञ्चलाई कुनै पारिश्रमिक हुँदैनथ्यो । गाउँका मुद्दा मामिला र झगडा मिलाउने नै पञ्चहरूको काम हुन्थ्यो । प्रशासनिक अधिकार चाहिँ प्रधानपञ्चमा धेरै नै थियो ।

लिलाराम प्रधानपञ्च हुँदा साताला गाउँमा खानेपानीको योजना आएको थियो । करिब १५ वर्ष (३ कार्यकाल) साताला गाउँ पञ्चायतका प्रधानपञ्च रहेका दाइ लिलारामको गाउँलेलाई स्वच्छ खानेपानी खुवाउने प्रयास र गाउँघरका मामिलाहरूलाई गाउँघरमै मिलाउने शैलीबाट प्रभावित भएका देवीराममा जनप्रिय हुन जनताका समस्यामा काम गर्नुपर्छ भन्ने छाप बसेको थियो । लिलारामलाई विक्रम संवत् २०१८ सालदेखि ५ वर्ष उपप्रधानपञ्च र ४ वर्ष सचिव भएर साथ दिएका थिए राजनीतिमा कुनै चासो नभएका देविरामका भाइ रामनाथ उपाध्यायले ।

उता निर्विवाद प्रधानपञ्च लिलारामलाई विक्रम संवत् २०३२ सालमा गाउँमै सल्टाएको एउटा मुद्दामा चित्त नबुझेकी एक जना महिलाले उनलाई पनि प्रतिवादी बनाएर अदालतमा मुद्दा हालेपछि लिलाराम उम्मेदवार हुन पाएनन् । त्यसपछि उनले राजनीति नै छोडेर सुर्खेतको गुटुमा बसाइँ सरे । लगत्तैको गाउँ पञ्चायतको निर्वाचनमा प्रधानपञ्चको उम्मेदवार बन्ने उपयुक्त व्यक्तिको खोजी भयो । दाइ उम्मेदवार हुन नपाउने भएपछि भाइ देविराम उम्मेदवार बन्न तयार भए । गाउँ फर्क राष्ट्रिय अभियानबाट समेत अनुमोदन भई अप्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुनुपर्ने प्रावधान अनुसार अत्यधिक मत पाएर उनी निर्वाचित भए ।

व्यापार र राजनीतिमा सँगसँगै लागेका देविरामले स्रोतसाधन, बजेट र जनताको जागरूकता केही नभएको दुर्गम गाउँमा धेरै विकास गर्न पाएनन् । दाइले ल्याएको खानेपानीको योजनामा विस्तार र सुधार गर्नु, मासिँदै गएको वनलाई संरक्षण गर्नु, अन्यायमा परेका व्यक्तिहरूको लागि भरोसा बनेर उभिनुमा उनले त्यो कार्यकाल बिताए । व्यापार र खेतीपातीको व्यस्तताले पनि विकासमा धेरै समय दिन नसकेको उनका जेठा बुबापट्टिका भाइ वेणीप्रसाद उपाध्यायको भनाइ छ ।

यसअघि देविरामले विक्रम संवत् २०२९ सालमा बर्दियाको भुरीगाउँमा जग्गा किनेर बसाइसराइको योजना बनाए । उनले सुर्खेतमा पनि परिवारका केही सदस्यलाई पसल खोलेर राखेका थिए । त्यहाँ भाइ प्रयागराजलाई पसल जिम्मा लगाए । भुरीगाउँको जग्गाजमिनको रेखदेख भाइ रामनाथको जिम्मामा थियो । विक्रम संवत् २०३५ सालमा परिवारका केही सदस्य बर्दिया सरे । विक्रम संवत् २०३७ सालमा परिवारका सम्पूर्ण परिवारहरू बसाइँ सरेपछि २०४० सालमा भाइहरू अंशबन्डा गरी बसेको देखिन्छ ।

विक्रम संवत् २०३८ सालतिर उनको व्यापार कैलालीको कटाँसे बजारमा चम्किरहेको थियो । मिठाइ कारखाना राम्रो चल्दाचल्दै त्यो छोडेर उनी भुरीगाउँमा आए । त्यहाँ पुगेपछि उनले त्यहाँका जल्दा बल्दा व्यक्तिहरूसँग सम्पर्क बढाए । भुरीगाउँका कृष्णविक्रम शाह, कलाहा थारु, रङ्गबहादुर थापा, नन्दाराम तिमिल्सेना, बालासिंह विष्ट, उदय सिंह विष्ट, नन्दकृष्ण जैसी, जङ्गली थारु, सरपञ्च, मिर्चाहान, फंगपुरान, बलपुरान जस्ता घरानियाँहरू, कञ्चनपुरका लालसिंह थापा, धर्मदास थारु, झपेन्द्रराज शर्माका दाजुभाइहरू, सुबेदार बलबहादुर गुरुङ र चन्दा शाह, सत्घरुवाका टेकबहादुर रावल र भूपाल शर्मा, बलीताका चेतन शर्मा अधिकारी, नेउलापुरका बुद्धिमान चौधरी, बर्माली परिवार (राजेन्द्र शर्माका बुबाका दाजुभाइहरू), रावत परिवार, जगन्नाथ योगी र राजेन्द्रबहादुर शाह, सिंहवाहिनीका टिकासिंह थापा, युद्धवीर सिंह बुढाथोकी र नरबहादुर भण्डारी, कर्मलाका केशर सिंह, गणेश र गजेन्द्र घर्ती मगर, रानीपुरका लक्ष्मण थापा, बस्नेत आमा (साथी दीपबहादुर बस्नेतजीको आमाबुबा), जम्तीका दाजु नन्दाराम उपाध्याय, डुम्रेनीका कृष्णबहादुर शाह, मांग्टा थारु, जन्म तिमिल्सेना, जगती खनाल, रणबहादुर शाही र कृपाराम आचार्य लगायत सबै लब्ध प्रतिष्ठित व्यक्तिहरूको मन छोटो समयमै जिते । यी सबै व्यक्तिहरू उनका हितैषी भए । पछि उनका विकासका काममा पनि यी सबैले साथ दिए ।

भुरीगाउँमा मट्टितेल पाइँदैनथ्यो, बगनाहाको साझा संस्थामा जानुपर्थ्यो । उनले आफै मट्टितेलको डिलर लिएर गाउँमा सुपथ मूल्यमा बेच्न थाले । त्यति बेला प्रतिलिटर मट्टितेलको मूल्य थियो ५ रुपैयाँ ७५ पैसा । केही वर्षपछि त्यो डिलर उनले गुरुवागाउँबाट आएका पौडेल (मित्र अर्जुन पौडेलका बुबा) लाई सुम्पे । नेउलापुर गाउँ पञ्चायतमा त्यति बेला बजार थिएन । भारतीय सौदागरहरु बेलाबेला सौदा लिएर आउँथे ।

देविरामले विक्रम संवत् २०३९ साल वैशाख २८ गते सम्पन्न हुने गाउँ पञ्चायतको निर्वाचनमा उम्मेदवारी दिँदा सबैले साथ दिए । उनको चुनाव चिन्ह थियो करुवा । त्यति बेला गाउँका हरेक घरको भित्तामा गेरुले बनाएको चित्रको मुनि ‘प्रधानको चिन्ह करुवा’ लेखेको मात्रै देखिन्थ्यो, उनको नाम कतै लेखिँदैनथ्यो । यसरी लेख्नेमा गाउँ गाउँका युवा आफै सक्रिय थिए भने भुरीगाउँमा दुर्गाप्रसाद शर्माले गेरुको डब्बा लिएर लेखिरहेको देखिन्थ्यो । उनको नाम नसुनेका सर्वसाधारणले पनि करुवाको चिन्हमा अत्यधिक मतदान गरेर उनलाई निर्वाचित गराए । उपप्रधानपञ्चमा कञ्चनपुर गाउँका धर्मदास थारु निर्वाचित भए । त्यति बेला नेउलापुर गाउँ पञ्चायतमा नयाँ अनुहारको प्रधानपञ्च आएपछि उनका बारे सबैको चासो थियो । उनले सबैको आशा र साथलाई विचार गरेर बिस्तारै विकासका काममा अग्रसर हुन थाले ।

सर्वप्रथम उनले आफैबाट सुरुवात गरे । भुरीगाउँमा मट्टितेल पाइँदैनथ्यो, बगनाहाको साझा संस्थामा जानुपर्थ्यो । उनले आफै मट्टितेलको डिलर लिएर गाउँमा सुपथ मूल्यमा बेच्न थाले । त्यति बेला प्रतिलिटर मट्टितेलको मूल्य थियो ५ रुपैयाँ ७५ पैसा । केही वर्षपछि त्यो डिलर उनले गुरुवागाउँबाट आएका पौडेल (मित्र अर्जुन पौडेलका बुबा) लाई सुम्पे । नेउलापुर गाउँ पञ्चायतमा त्यति बेला बजार थिएन । भारतीय सौदागरहरु बेलाबेला सौदा लिएर आउँथे । एक दुई दिन गाउँमा अत्यावश्यक सामान बेचेर जान्थे । देविरामलाई ठुलो रकम भारततिर गएको मन परेको थिएन । उनले त्यति बेलाको त्रिभुवन प्राथमिक विद्यालयको चउरमा हरेक शुक्रवार हाटबजार लाग्ने व्यवस्था मिलाए । त्यो बजारमा स्थानीय र बाह्य उत्पादन मात्रै नभएर तेलपानीदेखि अदुवा, सुन्तला, जडीबुटी जस्ता उत्पादन समेत झिकाएर किनबेच गर्न लगाए । हाटबजारमा चक्रे पिङ, सर्कस जस्ता मनोरञ्जनका साधन समेत मगाएर झन् आकर्षक बनाए । भारतीय सौदागरको आवतजावत बन्द भयो ।

हाट बजार सुरु भएको एक वर्ष नबित्दै माथि उल्लेखित व्यक्तित्वहरूसँग सल्लाह गरेर बजार व्यवस्थापन समिति गठन गरेर उनले बजारको नयाँ रूपरेखा तयार गरे । बजार व्यवस्थापन समितिमा को को थिए भन्ने कुराको माइन्यूट त उपलब्ध भएन तर माथि उल्लेख गरिएका व्यक्तिहरूमध्ये बाटै समिति गठन गरिएको थियो भन्ने कुरा पक्का हो । देविरामका भाइ ८८ वर्षीय वयोवृद्ध रामनाथ उपाध्यायका अनुसार मैनवारका हरिप्रसाद जोशी पहिलो व्यवस्थापन समितिका अध्यक्ष हुनुपर्छ किनभने उनले जोशीसमक्ष नै घडेरीको लागि आवेदन दिएको कुरा गरे । सुरुवाती अवस्थामा जोशी र कृष्णविक्रम शाहको रोहबरमा नै बजार व्यवस्थापनको धेरैजसो काम हुन्थ्यो र त्यसमा प्रधानपञ्चको स्वीकृति र सहमतिसाथ काम हुने गरेको उपाध्यायको भनाइ छ ।

यी बाहेकका अरू पनि नाम थिए तर कुनै रेकर्ड फेला नपरेका कारण पहिलो बजार व्यवस्थापन समितिको पूरै नामावली किटेर भन्न गाह्रो छ । यो थप खोजीको विषय हो । बजारको व्यवस्थापनमा नन्दाराम तिमिल्सिेना, मैनवार जोशीका दाजुभाइहरू, बाउनपुरका गंगाराम शर्माका दाजुभाइहरू, मैनवारका उदयराज शर्माका दाजुभाइहरू, बाउनपुरका देवानन्द खनाल, नवराज गिरी र हरिश्चन्द्र विष्ट र तकियाका हिमलाल गडतोला समेतको सक्रियता देखिन्थ्यो । जे होस् माथि उल्लेखित उनले मन जितेका सबै व्यक्ति, जग्गा उपलब्ध गराउने भुरीगाउँ, सिंहवाहिनी र कञ्चनपुर गाउँका समुदायको साझा प्रयास र देविरामको नेतृत्वमा भुरीगाउँ बजार स्थापना भएको तथ्य चाहिँ सत्य हो ।

अहिले बजार बसेको ठाउँ जहाँ उनको सालिक स्थापना गरिएको छ, त्यही पुरानो बाटोलाई केन्द्रमा राखेर बाटो छेउछाउका जग्गा धनीहरूलाई घडेरीको रूपमा विक्री गर्न लगाउने योजना बनाए । कुनै उत्पादन नहुने उप्राहार जग्गाबाट घडेरीको रूपमा आम्दानी हुने भएपछि जग्गाधनीहरू खुसी भए । त्यति बेला सिंह वाहिनी भागको जग्गा रु. १,०००।- प्रति कट्ठाका दरले र भुरीगाउँ भागको जग्गा प्रति कट्ठा रु. १,२००।- का दरले मूल्य तोकिएको थियो । हरिप्रसाद जोशीलाई भुरीगाउँ तर्फको जग्गाको आवेदन शुल्क रु. १००।- बुझाएको तर पछि जग्गा नलिएर रकम फिर्ता लिएको रामनाथ उपाध्यायको भनाइ छ । देविरामले आफ्ना तीन भाइलाई सिंहवाहिनी भागबाट ३ कट्ठा रु. ३,०००।- मा खरिद गरेर घडेरीको सुरुवात गरेका थिए । त्यति बेला बाटोछेउका ती जग्गाको मूल्य रु. ५००।- पनि पर्दैनथ्यो किनभने ती जग्गा खेतीयोग्य थिएनन् । दिउँसै बाघ घुम्ने निर्जन र डरलाग्दो ठाउँ थियो अहिलेको भुरीगाउँ बजार । तर भित्रभित्रका जग्गामा चाहिँ राम्रो खेती हुन्थ्यो ।

बर्दियामा त्यति बेला डाँका लाग्थे । मङ्सिर लागेपछि गाउँ गाउँमा डाँकाहरूले चिठी पठाएरै आक्रमण गर्न आउँथे । गाउँका मानिसहरू घर छोडेर समूहमा रातभरि खेतमा लुकेर ज्यान र धन जोगाउँथे । भुरीगाउँमा माँगरा थारु चौकीदारले रातभरि ‘जाग जाग सुतो होइ खबरदार’ भनेर खबरदारी गर्दा अब के हुने हो भनेर मुटु ढुकढुक हुन्थ्यो ।

बजार बसाल्न खरले छाएका ससाना बुकुराहरू बन्न थाले । देवीरामले आफ्ना हितैषी रङ्गबहादुर थापा र लालसिंह थापालाई चिया पसल खोल्न लगाए । यी दुईले संयुक्त रूपमा खोलेको चिया पसल केही वर्षपछि रङ्गबहादुर एक्लैले धेरै वर्षसम्म चलाए । एक किसिमले भन्ने हो भने रङ्गबहादुर थापाले सर्वस्व छोडेर देविरामको अभियानमा साथ दिए । उनले गाउँ छोडेर परिवार नै बजारमा बसाइँ सरे, जीवनको अन्तिम कालसम्म पनि बजारलाई गोडमेल गरिरहे । थापाले चिया पसल खोलेपछि गाउँ गाउँका भैंसीपालकले थापाको होटेलमा दूध बेचेर आयआर्जन गर्न थाले । एकाबिहानै दूधका गाबु बोकेर थापाको चिया पसलमा जानु र मीठो दूध हालेको चिया खाएर फर्कनु एउटा रहरलाग्दो काम थियो । त्यसपछि थापाको चिया पसलमा गाउँलेहरूको भीड लाग्न थाल्यो, गाउँघरका सरसल्लाह र केही महत्त्वपूर्ण निर्णय गर्ने स्थल समेत बन्यो । देविराम स्वयम्ले पूर्ण भैरव स्टोर नामको किराना पसल राखे । छोरा पूर्णप्रसाद पनि बजार व्यवस्थापन समितिमा सहभागी भए । किरुलाल थारु र सूर्यप्रसाद शर्माले फोटो व्यवसाय सुरु गरे । नन्दलाल लामिछाने, कलाधर गौलीहरु पनि त्यहाँ पसल खोल्न थाले । ठाकुरद्वाराका रामकृष्ण थारु र नेउलापुरका छिंगटाहान घरका भौना थारुले कपडा बुन्ने तान ल्याएर घरबुना कपडा तयार गर्न थाले । बजार बाक्लिँदै गयो । खरका छाप्राहरूबाट विकसित भएर टायलले छाएका चौपाखे घरहरू बन्न थाले । प्रधानपञ्चको हैसियतले त्यो बजारलाई विस्तार गर्न र उद्योगी व्यवसायीलाई गर्नुपर्ने हर किसिमका सहयोग गरे ।

बर्दियामा त्यति बेला डाँका लाग्थे । मङ्सिर लागेपछि गाउँ गाउँमा डाँकाहरूले चिठी पठाएरै आक्रमण गर्न आउँथे । गाउँका मानिसहरू घर छोडेर समूहमा रातभरि खेतमा लुकेर ज्यान र धन जोगाउँथे । भुरीगाउँमा माँगरा थारु चौकीदारले रातभरि ‘जाग जाग सुतो होइ खबरदार’ भनेर खबरदारी गर्दा अब के हुने हो भनेर मुटु ढुकढुक हुन्थ्यो । बजारमा डुम्रेनीका गोले कामी चौकीदार थिए । उनको खबरदारी भिन्नै थियो । उनी मध्यरातमा बजारका हरेक ढोकामा टकटक लाठीले हानेर खबरदारी गर्थे । ‘खपदारी हो खपरिदार’ उनको कराउने भाषा थियो । उनलाई बजारका घुम्ती, पसल र घरहरूले मासिक १० रुपैयाँ दिएर उनको तलब बन्थ्यो । उनी महिनाको त्यस्तै ३, ४ सय रुपैयाँ पाउँथे किनकि धेरै घर बनिसकेका थिएनन् । बजार बढ्दै जाँदा उनको पारिश्रमिक पनि बढ्दै गयो । उता डाँकाको डरले कराएका नजिकका गाउँका चौकीदारको पनि आवाज मिसिएपछि गाउँलेहरू झन् आतङ्कित हुन्थे । यस्तैमा देविराम आफ्ना परिवारलाई खेतमा पठाएर आफू खुरी लिएर बाटोमा निस्कन्थे र चौकीदारलाई ढाडस दिन्थे ।

तिनताक गाउँघरमा सर्प, भालु, बाँदर, बसाहा नचाउने नाममा भारतीयहरू आएर लडियाका लडिया धान उठाएर लैजान्थे । बजार बसेपछि त्यो बन्द भयो । महाजनहरू वर्षामा चर्को ब्याजदरमा ऋण दिने र मङ्सिरमा धानबाट असुल गर्ने गर्दथे । बजारमै आर्थिक क्रियाकलाप हुन थालेपछि त्यो पनि बन्द भयो । यस दृष्टिबाट हेर्दा देविराम भुरीगाउँ बजारका संस्थापक मात्र नभएर धेरै पछि सम्मका संरक्षक पनि हुन् ।  देविरामले बजार बसालिसकेपछि बजारका लागि आवश्यक पूर्वाधारको खाँचो पर्न थाल्यो । उनले नेउलापुरमा एउटा व्यक्तिको कोठामा सीमित हुलाकलाई भुरीगाउँ बजारमा स्थानान्तरण गराए र हुलाक सेवा विस्तार पनि भयो । सञ्चारको महत्वलाई बुझेर कालान्तरमा भावुक योगीको समूहले रेडियो स्टेसन नै खोलेर त्यसलाई उचाइ दिए तर यो काम देविरामको कार्यकालभन्दा दशकौँपछि भयो ।

देविरामले किसानहरूलाई प्राविधिक सेवा पुर्‍याउन साना किसान विकास आयोजना र कृषि सेवा केन्द्रको स्थापना गराए । गाउँ पञ्चायतको आफ्नो भवन थिएन, त्यसको लागि जग्गा र घरसमेत तयार गराए । गाउँमा अस्पताल थिएन । डा. युद्धवीर सिंहले धानेको स्वास्थ्य सेवा हेल्थ पोस्ट स्थापना गरेर विस्तार गराए । मोरङका सिएमए डाक्टर टेकराज कोइरालालाई आफ्नो घरमा आश्रय दिएर कलाहा थारुको घरमा हेल्थ पोस्ट राखेर सुरु गरिएको हेल्थ पोस्ट आज नगरको अस्पतालमा परिणत भएको छ । कञ्चनपुरका बुधराम चौधरीले धेरै वर्ष कार्यालय सहयोगीको रूपमा सेवा गरे । त्यहाँ योगराज शर्माको प्रबल मेडिकल हल जस्ता केही मेडिकलहरू पनि खुले । सुरक्षाको लागि प्रहरी चौकी जुड्पानीमा थियो । भुरीगाउँमा पनि प्रहरी चौकी स्थापना गर्न पहल गरे तर उनको पालामा आएन, पछि आयो । त्रिभुवन प्राथमिक विद्यालयलाई निम्न माध्यमिक विद्यालय बनाउने श्रेय पनि उनैलाई जान्छ । स्कुललाई नयाँ भवन, कक्षाकोठामा फर्निचरसहित नयाँ रूप दिए । स्कुलमा पानी खाने कूवा थिएन, बाउनपुरका दयाराम थारुलाई पिउनमा जागिर लगाएर पानी खुवाउन थालियो । पछि कूवा पनि खनाए । केही वर्षपछि कृषि विकास बैङ्कलाई जग्गा नमिलेपछि आफ्नै जग्गा बेचेर स्थापना गर्न लगाए तर त्यति बेला प्रजातन्त्र आइसकेको थियो ।

नेउलापुर गाउँ पञ्चायतका गाउँहरूमा खानेपानीको लागि कच्ची र पक्की गरी एक दुई वटा कूवा हुन्थे । तर गाउँभरिका मानिसलाई सुख्खा याममा पानी पुग्दैनथ्यो । उनले प्रतिगाउँ ७ वटाको दरले नल्का गाड्न लगाए । उनीपछि ती नल्काहरुको मर्मत हुन नसकेर त्यत्तिकै जीर्ण भए । त्यति बेला गाउँमा यातायातको साधन लडिया र साइकल मात्र थिए । पूर्वपश्चिम राजमार्गको सुरुवात भएको थिएन । उनले माथि उल्लेखित सबै व्यक्ति र बगनाहाका लब्ध प्रतिष्ठित व्यक्तिहरूको पनि साथ र केन्द्रसँगको पहलमा कोहलपुरबाट चिसापानीसम्म बस चलाउन पहल गरे । फल स्वरुप बसको रुट बबईबाट मानपुर हुँदै भुरीगाउँको बजारलाई छोएर चिसापानीसम्म चल्न थाल्यो । पहिलो बसको नाम थियो थापा बस सेवा । बस र ट्रकहरूले बबईको पानीमा चिप्ला ढुंगा छिचोल्न र जम्तीको काठे पुल (धुलपुरुवा) तर्न निकै साहस गर्नुपर्थ्यो । जम्तीको काठेपुल त लोड धान्न नसकेर भाँचिएर कैयौँ गाडीहरू पल्टेका पनि थिए । भुरीगाउँको बड्का कुलामा कैयौँ गाडीहरू उक्लिन नसकेर स्लिप खान्थे । गाडी उकाल्न घण्टौँ लाग्थ्यो, त्यो रमाइलो हेर्न मान्छेको भीड लाग्थ्यो । गाडी त पछि समय क्रममा आफै पनि चल्थे होला तर उनको पहलले राजमार्ग बन्नु अगावै चलेको चाहिँ पक्कै हो ।

गाडी चल्न थालेपछि भुरीगाउँमा गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, अछाम, दैलेख, कालिकोट, दाङ, कैलाली, प्युठान लगायतका जिल्लाबाट मानिसहरू पसल र होटेल व्यवसाय गर्न ओइरिन थाले । गाडी चल्ने बित्तिकै पहिलो होटेल भुरीगाउँका जङ्गली थारुको घरमा सञ्चालन भएको थियो । पछि सोही घरमा गुरुवागाउँबाट आएका पौडेलले किराना पसल चलाए । पछि उनी पनि बजारमै सरे । बजारमा सिता होटेल, देवी होटेल, गुल्मी होटेल, स्टाफ होटेल, पाण्डे होटेल जस्ता व्यवसायीहरूले बसका यात्रीलाई खाना खुवाउन थालेपछि बजारको चहलपहल झन् बढ्यो । नेउलापुरका लोकहरी खनालले साइकल पसल खोले । यो त्यस्तै २०४१ सालतिरको कुरा होला । लोकहरीले बच्चाहरूलाई साइकल चलाउने तालीम दिन थाले एक घण्टाको २ रुपैयाँ शुल्क लिएर । हामी नगद नहुँदा कुखुराका अण्डा तिनैलाई बेचेर साइकल सिक्थ्यौँ । गोदानाका नरे कामीले जग्गा बेचेर तरकारी व्यवसाय सुरु गरे, भुरीगाउँका सुनिराम थारुले पनि जग्गा बेचेर पसल खोले । सतघरुवाका केदार क्षेत्रीले घुम्तीपसल र एक दशक पछि पिसिओ सञ्चालन गरे । कर्मलाका रतिराम नेपालीहरू बजारमा टेलर्स पसल राख्न थाले । कालिगौडीका दिपक प्रताप सिंहले भिडियो सञ्चालन गरे । पछि मैनवारका उयराज शर्माहरुले पनि भिडियो सञ्चालन गरेका थिए । हेर्दाहेर्दै बजार स्कुलदेखि हेल्थ पोस्टसम्म विस्तार भयो ।

रङ्गबहादुर थापाले एक जना भारतीय कालिगड झिकाएर भुरीगाउँका मान्छेको जिब्रोमा पहिलो पटक जिलेबीको स्वाद चखाए, बर्फीको मिठास दिलाए । धेरैपछि गंगापटुवाका पण्डितको मिठाइ पसल खुल्यो । रंगबहादुरले गाउँमा सबभन्दा पहिले टेप रेकर्डर ल्याएर मानिसका आवाज, गीत गाएको जस्ता कुरा रेकर्ड गरेर सुनाउन थाले । दैलेख सातालाका  छत्रबहादुर शाहीले गाएको टेप रेकर्डेड गीत गोठालो ठाँटीका भर भैंसा टोड्क्यासाल, एक् लिया पछुतो हुन्छ दुबै लैजा काल खुबै लोकप्रिय भयो । पछि सूर्यप्रसाद शर्माले पनि टेपरेकर्डडर ल्याए । त्यस बेला टेपरिकार्ड, टेप्रिकट भनिन्थ्यो बोलीचालीको भाषामा । गाउँ गाउँमा साइकलमा थोत्रा सामानसँग बतासा साटनेहरु हराए । काला जादु देखाउनेहरू गुमनाम भए, बरु भिडियोमा फिल्म देखाउनेहरू उदाए, भिडियो डेकबाट एउटा फिलिम हेरेको २ रुपैयाँ । मैले पनि पहिलो पटक फिलिम हेरेंः अमिताभ बच्चनको आखिरि रास्ता । त्यति बेला राजेश खन्ना, अमिताभ, मिथुन चक्रवर्ती जमेका थिए, गोविन्दा उदीयमान थिए ।

मिथुनको एक्टिंगबाट प्रभावित भएर भुरीगाउँका एक जना आइतवरिया (अटोरिया) थारुले आफ्नो नाम नै मिथुन चौधरीमा बदले, हेयर स्टाइल पनि मिथुनको जस्तो बनाए । रेखा, हेमामालिनी, श्रीदेवीको चर्चा चुलिन्थ्यो । बालम पर्देशियाको गोर्की पतर्की रे गीत सबैको मुखमा झुण्डिएको थियो उदय राज र ओम प्रकाशको युगल नाचका कारण । नदियाके पार र कुदरत का कानुन रुचाइएका फिल्म थिए, हाम्रो तराइको परिवेशसँग मिल्ने कथावस्तु भएर । गाउँ गाउँका सत्यनारायणका पूजा र विवाहहरूमा ग्रामोफोनका डिस्कहरूबाट लाउडस्पिकर मार्फत फिल्मी गाना र भजन घन्काउँदा पूरै पञ्चायतमा सुनिन्थ्यो । स्काइ सर्कस आएर पहिलो पटक सर्कसको मजा दियो । ममफली, बतासा, भुजाका लड्डु जस्ता चीजहरु बजारमै पाइन थाले । देवीरामले ती सबै व्यवसायीलाई संरक्षण दिए र प्रोत्साहित गरे । वास्तवमा बजारका सबै व्यवसायीले देविरामका हर कदम र योजनामा काँधमा काँध मिलाएर साथ दिए । यस अर्थमा देविरामलाई हरेक कदममा साथ दिएर सफल बनाउने ती सबै व्यवसायी र लब्ध प्रतिष्ठित व्यक्तिहरू स्मरणयोग्य छन् ।

देविराम खरा स्वभावका व्यक्ति हुनाले उनको स्वभाव मन नपराउनेहरू पनि थिए । तर जतिसुकै मन नपरोस् उनका अगाडि सबै नतमस्तक हुन्थे । कहिलेकाहीँ उनी कूटनीतिक पनि देखिन्थे । मै हुँ भन्नेलाई पहिले हितैषी बनाएर हातमा लिने, उसका सबै शोच र धारणा लिने अनि उसलाई नै खेदो खनेर निकम्मा साबित गर्ने स्वभाव पनि उनको थियो तर सबैलाई त्यस्तो गर्दैनथे । शायद नेपालको जस्तो खुराफाती र उचाल पछारको राजनीतिमा त्यो जायजै हुन्थ्यो कि ?

भारतीयहरू या नेपालगन्जका व्यापारीहरू आएर मङ्सिरमा खेत खलियानमा काँटा झुन्ड्याएर सस्तोमा धान खरिद गरेको देखेर त्यो व्यवसाय देविराम आफैले सुरु गरे । जम्तीका भतिज वीरबहादुर खनाललाई गल्लाको मुनिम बनाए । बनवारी नामका एक जना फडवालाको आधिपत्य सिंहवाहिनीका रामआसरे थारुलाई समेत फड खोल्न लगाएर तोडे । बजार प्रतिस्पर्धी भयो । देवीरामले भुरीगाउँ बजारलाई उद्योगी बजार जस्तो बनाउन के गर्न सकिन्छ, सबै प्रयत्न गरे । जङ्गलमा खेर गएका सालका फूलहरूलाई निकुञ्जसँग कुरा गरेर सदुपयोग गर्ने योजना बनाए । आफैले एक टिनको २० रुपैयाँका दरले सालको फूल खरिद गरेर नेपालगञ्ज सप्लाइ गर्न थाले । त्यति बेला २० रुपैयाँको पनि धेरै महत्व थियो किनभने होटेलले एउटा खानाको १० रुपैयाँ लिन्थे । उनले भुरीगाउँमा जुन जुन व्यवसाय सुरु गरे, त्यो उदाहरण बन्न मात्रै थियो, कालान्तरमा सबै व्यवसाय अरूलाई सुम्पेका थिए । जजसलाई उनले सुम्पे ती सबैको व्यवसाय चम्केको पनि थियो ।

देविराम धार्मिक प्रवृत्तिका मानिस थिए । गाउँमा आइपर्ने पूजाआजा उनी सित्तैमा गरिदिन्थे । तीजमा गाउँका सबै महिलालाई आफ्नो घरमा बोलाएर संयुक्त पूजा गराउँथे । पूजाका क्रममा टिका लाएर दिनुपर्ने दक्षिणा आफू लिँदैनथे, व्रतालुहरूलाई आआफ्नै चेलीबेटीलाई दिन लाउँथे । तीजको रातभर उनको घरमा गाउँभरिका दिदीबहिनी जम्मा भएर रमाइलो गर्थे । म स्वयम् पनि नाचगानमा भाग लिन्थे, महिलाको रूप धारण गरेर । उनका छोरा पूर्णप्रसाद दिदीबहिनीलाई असाध्य स्नेह दिने हुनाले यो सबको आयोजनामा उनी पनि अहोरात्र खटेका हुन्थे ।

देविराम खरा स्वभावका व्यक्ति हुनाले उनको स्वभाव मन नपराउनेहरू पनि थिए । तर जतिसुकै मन नपरोस् उनका अगाडि सबै नतमस्तक हुन्थे । कहिलेकाहीँ उनी कूटनीतिक पनि देखिन्थे । मै हुँ भन्नेलाई पहिले हितैषी बनाएर हातमा लिने, उसका सबै शोच र धारणा लिने अनि उसलाई नै खेदो खनेर निकम्मा साबित गर्ने स्वभाव पनि उनको थियो तर सबैलाई त्यस्तो गर्दैनथे । शायद नेपालको जस्तो खुराफाती र उचाल पछारको राजनीतिमा त्यो जायजै हुन्थ्यो कि ? आफ्ना प्रतिस्पर्धीलाई भित्तामा पुर्‍याउन पनि पछि नपर्ने उनको खरो स्वभाव थियो । तर शरण पर्न आउनेलाई पूर्ण सुरक्षा र सहयोग गर्ने पनि उनको बानी थियो । काम गर्दै जाँदा उनका केही समकालीनहरू उनीसँग चिढिए पनि सर्वसाधारणमा उनीप्रति गहिरो आदर थियो । समय क्रममा बर्दियाका सबैभन्दा चर्चित प्रधानपञ्चमा उनी दरिएका थिए । पुलिस र आर्मीलाई उनले पदमा रहँदा र नरहँदा दुवै अवस्थामा आफ्नो विश्वासमा लिएका थिए । उनले भनेपछि पुलिस र आर्मीले पूर्ण विश्वास गर्थे । यति सम्म कि पछि द्वन्दकालमा कैलालीमा बसेको बेला समेत निर्दोष द्वन्द पीडितहरूलाई हिरासतबाट छुटाउन उनले गरेको पहलको सर्वत्र प्रशंसा भएको थियो ।

उनले आफू प्रधानपञ्च हुँदा दुःखी गरिबको समस्या पनि बुझिदिन्थे । स्कुलमा फी तिर्न नसकेका कारण गरिब जेहेन्दार थारु विद्यार्थीहरूको रिजल्ट स्थगित भएको बेला आफैले फिस तिरिदिएर रिजल्ट प्रकाशन गर्न लगाएको मैले देखेको छु, प्रधानाध्यापक थिए योगराज शर्मा । देविरामले भुरीगाउँलाई उन्नत बनाउन सकेको सबै प्रयास गरे । उनले परिकल्पना गरेको र गर्न नपाएको भनौँ या नसकेको काम चाहिँ भुरीगाउँ तेल्पानी सडक निर्माणको काम हो । पछिसम्म उनले मसँग यो कुरा गरिरहन्थे । यो सडक निर्माणले भुरीगाउँलाई एक व्यापारिक केन्द्र, पर्यटनस्थल र तिब्बतदेखि भारतसम्मको सम्पर्क बढाउने दीर्घकालीन महत्वको बजार बनाउने उनको परिकल्पना थियो ।

करिब ४ वर्ष जति प्रधानपञ्च हुँदा त्यतिबेलाको स्रोतसाधन, बजेट, जनचेतनाको स्तर जस्ता कुरालाई बिचार गरेर हेर्दा देविराम विकासको मामिलामा अद्भूत क्षमता भएका व्यक्ति प्रमाणित भए । छोटो समयमा उनले जनमानसमा गहिरो छाप छोडे । स्वभावका हिसाबले उनी जुवाडेदेखि केटाकेटीसम्म सम्पर्क बढाउने व्यक्ति थिए । कर्मचारीलाई अत्यन्त आदर गर्थे । राजनीतिमा लागेर उनले आफ्नै सम्पत्ति सिद्ध्याए तर राज्यको एक पैसा पनि भ्रष्टाचार गरेनन् ।

विक्रम संवत् २०४२ को अन्ततिर पुग्दा देविराममा एक किसिमको महत्त्वाकाङ्क्षा चढिसकेको थियो । एक किसिमले हेर्दा राजनीतिज्ञमा त्यस्तो हुनु स्वाभाविकै पनि होला । विक्रम संवत् २०४३ सालको राष्ट्रिय पञ्चायतको निर्वाचनमा होमिन उनी तयार भए । नेउलापुर गाउँ पञ्चायतको आफ्नो विरासत उपप्रधानपञ्च धर्मदास थारुलाई बाँकी अवधि जिम्मा लगाएर उनी दैलेखबाट रापंस उम्मेदवार भए । बर्दियामा ४ वर्षमा आर्जेको ख्याति, सातालामा पञ्चायतको ४ अवधिमा परिवारका दाजुभाइको आधिपत्य, ठूलोबुबा बिशाखरको खान्दानी प्रशिद्धि, दैलेखका प्रायः गाउँमा नातागोता र इष्टमित्र भएको पृष्ठभूमिलाई आकलन गरेर उनले चुनाव लडे । चुनाव चिन्ह थियो पुतली । उनले पुतलीको पर्चामा केही गीत लेखेका थिए, ती मध्ये यो एक टुक्का खुबै चर्चित भयो:

आफ्नो मौका पड्याबेला अर्नु मनको चाइनु
फ्याक्स्या खायाजसा आँखा पछि क्यान लाइनु ?

यो भोटरहरूलाई गरिएको व्यङ्ग्य थियो । फ्याक्स्या भनेको जङ्गली पिँडालु रहेछ जसलाई बर्दियामा वनगब्दा पनि भन्छन् । जसलाई पायो उसलाई भोट हालेर पछि मन नकोक्काओस्, बुद्धिमत्तापूर्ण निर्णय लिनुहोस् भन्ने आग्रह थियो त्यो ।

देविरामको गीतले जित्यो तर उनले चुनाव हारे । गीतले यस कारण जित्यो कि दैलेखमा विकासको भोटे ताल्चा खोल्छु भनेर अत्यधिक मतले जितेका डा. प्रेमबहादुर शाही चुनाव जितेपछि गुमनाम भए, गगनबहादुर शाहीले सुर्खेत जाने बाटोमा पर्ने सातसल्लीको विकट उकालोमा बटुवालाई पानी खाने गगनधारा निर्माण गरेरै सीमित भए । अन्ततः दैलेखबासीले फ्याक्स्या खाएजस्ता आँखा लगाए ।

देविरामले मतदाताको बदलिँदो चेतनाको स्तर बुझ्न सकेनन् । उनी बर्दिया आए । उनका भाइ रामनाथ राजनीतिमा चासो नराख्ने मान्छेसँग ठट्टा गर्दै अब तँ एउटा गीत भन् त भने पछि भाइ रामनाथको पनि जवाफ फर्कियो:

पुत्ला उडेजस्तो भयो पुतलीको चिन्ह
दाजुभाइ इष्टमित्र भया छिन्नभिन्न ।

त्यसपछि देविरामले बर्दियामै राजनीति गर्ने विचार गरे । तर आफ्ना मतदाताको मन भाँचिएको उनले पत्तै पाएनन् । विक्रम संवत् २०४६ सालको आन्दोलनपछि उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) तिर लागे । नेपाली काँग्रेस या नेकपा एमाले तिर कतै लागेको भए उनको विकल्प कोही थिएन तर उनले परिवर्तनको मर्म र बर्दियाको माहौललाई बुझ्न सकेनन् । त्यसपछिका २ वटा स्थानीय चुनावहरूमा उनले नेउलापुर गा.वि.स. अध्यक्षमा उम्मेदवारी दिए तर पराजित भए । बाँकी जीवन पनि उनले राप्रपामै सक्रिय भएर बिताए ।

त्यतिन्जेल देविरामलाई पारिवारिक बोझ पनि बढिसकेको थियो । शरीरमा दम रोगले डेरा जमाइसकेको थियो । तैपनि उनी सामाजिक र राजनीतिक काममा सक्रिय नै थिए । बर्दियामा परिवार ठुलो भएपछि जेठो छोराको परिवारलाई जिम्मा लगाएर कान्छो छोरा पञ्चप्रसाद शर्माको जग्गा जमिन हेरविचार गर्ने उद्देश्यले उनी कैलालीको लम्कीमा गए । पञ्चप्रसाद त्रिभुवन विश्वविद्यालयको सहप्राध्यापक थिए, साहित्य र लोकसंस्कृतिका विद्वान् पनि । लम्कीमा छँदा दैलेखी र अछामीहरूको माहौलले उनलाई राजनीतिक वातावरण अनुकूल भए पनि देविरामले पदीय महत्त्वाकाङ्क्षा राखेनन् । विक्रम संवत् २०५२ सालदेखि चलेको माओवादी सशस्त्र द्वन्दका कारण प्रताडनमा परेका दुवै पक्षका पीडितहरूलाई सुरक्षा दिने र ज्यान बचाउने काममा लागे । विद्रोहीहरूलाई आर्मी प्रहरीबाट छुटाएर उनले कैंयौंको उद्धार गरे ।

उनका चर्चित दुई उक्तिहरू अहिले पनि स्मरण गरिन्छ:
१. अवस्थाले व्यवस्था ल्याउँछ, २. भाषण गर्नु र शासन गर्नु फरक कुरा हुन् । राजनीतिमा लागेर देविरामले के पाए, के दिए, के गुमाए भनेर अहिले चर्चा गर्नु भन्दा उनको शिक्षाको स्तर, त्यतिबेलाको समाज, उपलब्ध स्रोतसाधन र उनको क्षमतालाई विचार गरेर मूल्याङ्कन गर्दा सही निष्कर्षमा पुगिन्छ जस्तो लाग्छ ।

देविराम देउडा गीतका पनि पारखी थिए । उनी छोटो समय मात्र देउडा खेल्ने तर खेलाडीलाई ठहरै हुनेगरि व्यङ्ग्य गर्ने खालका गीत भन्थे । उनलाई पनि जवाफमा ठहरै पार्‍योभने हाँसाहाँसी खेल छोडिदिन्थे । कविता लेखनमा उनको रुचि थियो तर धेरै कविता लेखेनन् । राष्ट्रिय भावनाका छोटा छोटा कविता उनले कहिलेकाहीँ कोर्थे । चौध अञ्चल बारे लेखिएको उनको नेपाल आमा चमाचम शीर्षकको गीति कविता एक पटक मलाई सुनाएका थिए, त्यो यस्तो थियो:

सगरमाथा शिरैमा
मेची र काली चुलठी
कोसीको रिवन पैरेकी
जनकपुर, गण्डकी,
लाई टीका निधारमा
धवलागिरी चुचुरा
नारायणी घन्केकी
वागमतीको पटुकी
कर्नालीको फरिया
भेरीको सुन्दर पछ्यौरा
सेतीको चोलो लाएकी
लुम्बिनीको शान्तिमा
रुपको कान्ति छाएकी
राप्तीको पाउजु छमाछम्
नेपाल आमा चमाचम्
नेपाल आमा चमाचम ।

विक्रम संवत् २०६३ सालको असोज महिनाको तेस्रो हप्तामा दसैँ सुरु भइसकेको थियो । अष्टमीको दिन थियो । उनी बिहानै लम्की बजार जाने इच्छा गरी साइकलमा पुर्‍याइदिन भने । कसैले लम्की बजारमा पुर्‍याइदियो । त्यसपछि उनी कहिल्यै नफर्किने गरी अलप भए । लम्की बजारको एउटा घुम्ती पसलमा बसिरहेको बेला एउटा बस आएपछि चिसापानी जान्छु मलाई बसमा चढाइदिनू भन्दा कसैले चढाइदियो भन्ने सम्मको गाइँगुइँ सुनियो तर न त उनको लास भेटियो न त सास नै ।

समाजका लागि सोच्दासोच्दै विक्रम संवत् २०६० सालसम्म आइपुग्दा उनको स्वास्थ्य बिग्रिसकेको थियो । जीवनको उत्तरार्धतिर लम्कीमा बसेका बेला उनी दमको रोगले थालिसकेका थिए । सानैदेखि चुरोट पिउने र तास खेल्ने बानी परेका उनले अन्तिम अवस्थामा यी दुवै चीज छोडेका थिए । दुब्लाएर हातका नसामा रगत जमेको बाहिरैबाट देखिन्थ्यो । हिँड्न नसक्ने हुँदा पनि साइकलमा चढाउन लगाएर लम्की बजार दिनको एक पटक पुग्नै पथ्र्यो । वरिपरि एक दुई जना राखेर बोली राम्ररी नआउँदा पनि सासले बोलेर गफिने देविराम कुरा सुनिदिने मान्छेसँग घण्टौँ कुरा गर्थे ।

विक्रम संवत् २०६३ सालको असोज महिनाको तेस्रो हप्तामा दसैँ सुरु भइसकेको थियो । अष्टमीको दिन थियो । उनी बिहानै लम्की बजार जाने इच्छा गरी साइकलमा पुर्‍याइदिन भने । कसैले लम्की बजारमा पुर्‍याइदियो । त्यसपछि उनी कहिल्यै नफर्किने गरी अलप भए । लम्की बजारको एउटा घुम्ती पसलमा बसिरहेको बेला एउटा बस आएपछि चिसापानी जान्छु मलाई बसमा चढाइदिनू भन्दा कसैले चढाइदियो भन्ने सम्मको गाइँगुइँ सुनियो तर न त उनको लास भेटियो न त सास नै । कसैले कर्णालीमा हाम फालेको रे भने त कसैले अपहरणमा परेको अडकल काटे । हिँड्नै नसक्ने व्यक्ति त्यति टाढा गएर कर्णालीको तीरसम्म पुग्ने कुरा पत्याउनै गाह्रो थियो । कसैले उनको मफलर र खैनीको डब्बा कर्णालीको किनारमा भेटियो भने त कसैले कर्णाली नदीमा एक जना बूढा मान्छे पसेको, नजाऊ भन्दा पनि नमान्दा डुब्दै उत्रँदै गरेको कसैले देख्यो रे भन्नेसम्मका हल्ला चले तर त्यो देख्ने व्यक्ति पनि पत्ता लागेन र त्यो व्यक्ति तिनै थिए भन्ने पनि यकिन भएन । अडकल र अनुमानकै बिचमा देविरामको अन्त्य भयो । यसरी आफ्नो जमानाका एक होनहार जनप्रतिनिधिको अवसान एउटा रहस्यमा गएर टुङ्गियो । करिब १ महिनाको तलासपछि कतै लास समेत नभेटिँदा जहाँ र जसरी भए पनि उनको मृत्यु भइसकेको निर्क्योल गरियो । मृत्यु दर्तामा विक्रम संवत् २०६३ साल कार्तिक १२ गते उनको निधन भएको उल्लेख छ ।

जन्म र मृत्यु शाश्वत सत्य हुन् तर केही व्यक्तिको मृत्यु समाजलाई लामो समयसम्म सहन गर्न गाह्रो हुन्छ । उनको मृत्युको शोकमा उनले स्थापना गरेको बजार शोकसंतप्त भयो, एक दिन बन्द भयो । बजारवासीको उनीप्रतिको असीम श्रद्धा, उनीपछिका सबै जनप्रतिनिधिहरूको आदर भाव, समाजका सबै तहका व्यक्तिहरूको उच्च सम्मानका कारण उनी भुरीगाउँ बजारमा सालिक बनेर बस्दैछन्, आफुले बनाएको बगैँचा फलेफुलेको हेर्दै होलान् माथि कतै अर्कै लोकबाट ।

 

*लेखलाई थप स्मरणीय बनाउनका लागि लेखमा तस्वीरहरु थप गरिएको छ । -सम्पादक
Leave A Reply

Your email address will not be published.