जन्म मिति : विक्रम संवत् २०१८।०५।२७ गते
सेवा प्रवेश मिति : विक्रम संवत् २०३७।१०।२३ गते
अवकाश मिति : विक्रम संवत् २०७०।०६।०१ गते
कोही व्यक्ति यस्ता हुन्छन् जो धेरै हिमचिम नभए पनि मनमा, सम्झनामा बसी रहन्छन्, तिनका कामको शैलीले । त्यति बेला चूरेमा सबभन्दा ह्याण्ड्सम, सबभन्दा थोरै बोल्ने, दिनहुँ सफा चिटिक्कका लुगा फेरेर आउने र दिनभरि काममा खटिने (एकाउन्टिङ्गमा) स्टाफ हुनुहुन्थ्यो मक्कुराम सर ।
स्कुल पढ्दा सरहरूमध्ये मैले सब भन्दा थोरै बोलेको शायद मक्कु सरसँगै होला, फी तिर्ने बेलामा अर्थात् महिनाको १ पटक । अरू बेला आक्कलझुक्कल बोलियो पनि होला किन भने हामीमा कुनै त्यस्तो पानी बाराबार त थिएन तर अरू सबै सरहरूसँग भन्दा उहाँसँग चाहिँ कम बोलिएको पक्कै हो । त्यति बेला ४ कक्षादेखि माथिकाले मासिक फी तिर्नुपर्थ्यो । मैले ४ कक्षामा साढे सात रुपैयाँ फी तिरेको याद छ बरु १० मा पुग्दा फी कति थियो ठ्याक्कै सम्झना भएन । यसरी हिसाब गर्दा कक्षा ७ देखि १० सम्मका ४ वर्षका ४८ महिनामा मक्कु सरसँग ४८ पटक बोलियो होला, सरल हिसाब ।
केही थप गर्नुपरे ६० पटकसम्म जान सकिन्छ राउन्ड फिगरमा तर मलाई लाग्दैन त्यति धेरै बोलियो होला किन भने मक्कुसर फी तिर्नु छ भनेपछि कति पटक त उहाँ नबोलीकनै रसिद दिनुहुन्थ्यो र पैसा बुझ्नुहुन्थ्यो । उहाँले मलाई मेरो क्लास र रोल नम्बर कहिल्यै सोध्नु भएन, रजिस्टर पनि पल्टाउनु भएन । त्यति धेरै विद्यार्थीका बिचमा रोल नम्बर समेत थाहा हुने स्मरण शक्तिलाई मान्नै पर्छ ।
जब वार्षिक परीक्षाका नतिजा आउने दिनमा हेडसरले स्कुलको लेखा परीक्षण दुरुस्त छ, कुनै बेरुजु या अनियमितता छैन भन्नुहुन्थ्यो, त्यसको श्रेय मक्कु र ओम सरलाई नै जान्थ्यो । हामीले स्कुल नछोड्दासम्म स्कूलका हिसाब किताबमा कहीं गडबडी भएको सुन्नुपरेन, यो पनि उहाँहरूकै कार्य कुशलता र इमानदारिताको परिणति थियो ।
ओठले नबोले पनि उहाँको अनुहार र भावभङ्गीमा हेर्दा केही बोली रहेको आभास हुन्थ्यो । कतिपय मान्छेसँग मुखले नबोलेर पनि दिलको संवाद हुँदो रहेछ अनि त्यो संवादले जीवनको कुनै कालखण्डमा भेटेपछि पुनः मौन संवादलाई नै निरन्तरता दिँदो रहेछ । भौतिक रूपमा भेट नभएको त कति भयो कति इन्टरनेटका माध्यमबाट चलिरहनेछ मौन संवाद, ३५ वर्ष अघिकै निरन्तरता ।