‘सुर्खेत बुलबुल ताल, माया मै सानु हुनाले छुट्यो माया जाल…’ पुरानो यो गीत र ‘सुर्खेतमा बुलबुले ताल, चौतारीमा भेट भयो यो साल, सुर्खेतमा बुलबुले ताल, लाइगो माया, यो चिनो रुमाल…’ सुर्खेतमै छायाङ्कन गरिएको बन्दकी चलचित्रको यो गीत रेडियो र टेलिभिजनमा आयो की पहिलेदेखि नै सुर्खेतको बुलबुले तालसँगै सुर्खेतका विभिन्न पर्यटकीय क्षेत्रको सम्झना आउँछ । सुर्खेत भनेपछि पछिल्लो समय प्राकृतिक सौन्दर्यले भरिपूर्ण गोठीकाँडा डाँडा र तेलपानी डाँडाको पनि याद आउँछ ।
पूर्वपश्चिम राजमार्गमा पर्ने कोहलपुर चोकदेखि उत्तरतर्फ रत्न राजमार्ग हुँदै ८७ किलोमिटरको यात्रापछि कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लाको उपत्यका वीरेन्द्रनगर बजार पुगिन्छ । ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थल भएको मध्यपश्चिम क्षेत्र हो । मध्यपश्चिम क्षेत्रको बाँके, बर्दिया, सुर्खेत र दैलेख जिल्लामा थुर्पै पर्यटकीय गन्तव्य स्थलहरू छन् । साबिकको मध्यपश्चिम क्षेत्रकै क्षेत्रीय कार्यालय र ऐतिहासिक पर्यटकीय स्थल भएको जिल्ला सुर्खेत उपत्यका हो । देश सङ्घीयतामा गएसँगै कर्णाली प्रदेशको राजधानी प्राकृतिक सौन्दर्यले भरिपूर्ण र ऐतिहासिक पर्यटकीय स्थल धेरै भएको ठाउँ सुर्खेत उपत्यका हो । यहाँका प्रमुख प्राकृतिक स्थल गोठिकाँडा, तेलपानी र ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थलहरू काँक्रेविहार, देउती बज्यै मन्दिर, शिव मन्दिर, बुलबुले ताल, बराह ताल, घण्टा घर हुन् । बाहिरी जिल्लाबाट घुम्न आउने पर्यटकहरू यी क्षेत्र अवलोकन गर्ने चाहना राख्छन् ।
बुलबुले ताल
नेपालगन्ज सुर्खेत सडक खण्ड अन्तर्गत वीरेन्द्रनगर बजार मंगलगढी चोकदेखि १ किलोमिटर दक्षिण तर्फ सडक किनारमै छ बुलबुले तालको मुख्य प्रवेशद्वार । प्रचलित बुलबुले तालको मुख्य प्रवेशद्वारदेखि झन्डै ३ सय मिटर भित्र गएपछि बुलबुले तालमा पुगिन्छ । यहाँ सधैँ मूलबाट पानी निस्किरहन्छ । बुलबुले ताल क्षेत्र आसपासमा ठुला ठुला रुखै रुख र फुलैफुलको बगैँचा छ । बुलबुले ताल क्षेत्रभित्र जल कुण्ड, उद्यान, शौचालय, सडक कालोपत्रे छन् ।
यहाँ स्थानीयसँगै अन्य जिल्लाबाट पनि मानिसहरू नुहाउन, लुगा धुन, पार्कमा बस्न, पिकनिक खान र घुम्न आउने गर्छन् । दिनहुँ जसो बुलबुले ताल घुम्न आउने आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने गर्छ । ‘सुर्खेतमा बुलबुले ताल, लाइगो माया, यो चिनो रुमाल’‘ गीतमा भने झैँ सुर्खेतको बुलबुले ताल निकै रमणीय छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको मुख्य भागमा रहेको बुलबुले तालमा जमिनमुनिबाट बुल्बुल गर्दै पानी आउने भएर पनि बुलबुले ताल नामकरण गरिएको भन्ने भनाई छ ।
प्राकृतिक सौन्दर्य गोठिकाँडा र प्याराग्लाईडिङ्ग
पोखराको सारङ्गकोट डाँडाको नाम जोडिएर आएको चर्चित गीत सारङ्गकोटको डाँडैमा, आउ बस आडैमा …. जस्तै कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लाको प्राकृतिक सौन्दर्यले भरिपुर्ण गोठिकाँडा डाँडा पनि प्रख्यात छ । मानिसहरु जब कोठीकाँडा पुग्छन्, डाँडाबाट सुर्खेतको वीरेन्द्रनगर बजार नियाल्दै कहिलेकाँही त्यही गीतसंग दाँजेर गोठिकाँडा डाँडैमा, आउ बस आडैमा, जति राम्रो बुलबुले ताल, त्यत्ति राम्रो हाम्रो, माया जाल….. गीत बनाएर गुनगुनाउने पनि गर्छन् । घुम्न आएका मनोज दाहालले भन्नुभयो ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ मा पर्ने गोठीकाँडा डाँडामा आजभोली हरेक सनिबार र अन्य चार्डपर्व विषेश सार्वजनिक बिदाका दिनमा सुर्खेतबासीको रोजाईमा पर्ने गरेको छ । वीरेन्द्रनगर बजारबाट सुर्खेत दैलेख सडकखण्ड अन्तर्गत कपासे हुँदै जाँदा झण्डै १२ किलोमिटरको यात्रापछि गोठीकाँडाबाट सुर्खेत उपत्यकाको दृश्य अवलोकन गर्न सजिलो हुने भएकाले सुर्खेतबासीसंगै आसपासका जिल्लाबासीको रोजाईमा प्राकृतिक ठाउँ गोठीकाँडा डाँडा पर्ने गरेको हो । अत्याधिक गर्मि भएमा चिसो मौषमको हावा खान, गर्मि छल्न र पानीमा भिज्न गोठिकाँडा जानेको भिँड हुन्छ । कोही त्यहाँ पुगेर प्राकृतिक दृश्य अवलोकनसंगै डाँडाबाट वीरेन्द्रनगर बजार नियाल्दै रमाउँछन् । कोही साथीहरुसंग, आफ्ना परिवारसंग पिकनिक खाँदै रमाउँछन् त कोही (आकाशमा उड्ने) साहसिक प्याराग्लाईडिङ्ग गरेर पनि आनन्द लिने गर्छन् । झण्डै दुई वर्ष अघिदेखि प्याराग्लाईडिङ्ग संचालन सानु बाबु सुनुवारले गर्नुभएको छ ।
हरियो वन जंगल भएको पहाडि क्षेत्र डाँडामा रहेको गोठीकाँडाबाट विरेन्द्रनगर उपत्यका, पहाड र हिमालको दृश्य अवलोकन गर्न सकिन्छ । तराई क्षेत्रमा पुष र माघ महिनामा मात्र लाग्ने हुस्सु र कुहिरो गोठीकाँडामा हरेक दिनजसो लाग्ने गर्छ । वर्षातमा हुने झरी पनि हरेका दिनजसो पर्ने गर्छ । दिनहुँजसो केहि समयसम्म मात्र कुहिरो लाग्ने र पानी पर्ने भएकाले पनि विहान, दिउँसो र रातीमा चिसो हुन्छ । चिसो हावा चलिरहन्छ, त्यसैले पनि गर्मिको अनुभति नै हुँदैन । पर्यटकका लागि यो ठाउँ आर्कषणको केन्द्र बनेको गोठीकाँडामा ५ वर्षदेखि होटेल व्यवसाय गर्दै आउनुभएकाको भनाई छ । छेडादेखि दक्षिण पश्चिम तर्फ ३ किलोमिटर सडक कालोपत्रे बनाएको भए राम्रो हुने उहाँको माग छ ।
‘शान्त वातावरण, चिसो हावा, स्थानीय उत्पादन दाल, चामल र तरकारीसंगै दुध, दही र लोकल कुखुरा खानका लागि उपयुक्त ठाउँ हो,’ वीरेन्द्रनगर नगरपालिका १ का होटल व्यवसायी मनोज दाहालले भन्नुभयो । ‘पोखराको सारङ्गकोट भन्दा कम छैन, त्यसैले पनि गोठिकाँडा बिस्तारै देशव्यापी रुपमा चिनिन थालेको छ । गोठीकाँडा क्षेत्रमा सुर्खेत जिल्ला भरीमा सबैभन्दा बढी पर्यटक आउने स्थान हो ।’ उहाँले भन्नुभयो । चिसो मौषमको हावा खान, गर्मि छल्न अनि प्राकृतिक सौन्दर्य अवलोकनका लागि वीरेन्द्रनगर नगरपालिका १ का होट व्यवसायी मनोज दाहाल आफ्नी पत्नी कमला डाँगी दाहालको जन्मदिन मनाउन आएको बताउनुभयो । प्रचारप्रसार नभएको व्यवस्थित बास बस्ने होटल, यहाँसम्म पुग्न सडक कालो पत्रे हुनुपर्ने उहाँले बताउनुभयो । झण्डै दुई सय वर्ष अघि बहादुर शाहको पालामा गोठीकाँडा नजिकैको बयलकाँडामा गढी निर्माण गरिएको र त्यो अहिले पनि भग्नावेश रहेको स्थानीय जानकारहरु बताउँछन् । बहादुर शाहको पालामा निर्माण भएको ऐतिहासिक गढीको संरक्षणमा अहिले स्थानीय सरकारले पहल गरिरहेको छ ।
देउती बज्यै मन्दिर
रत्न राजमार्ग अन्तर्गत नेपालगंज कोहलपुर हुँदै सुर्खेत सडकखण्डको यात्रा गर्दा कर्णाली प्रदेशको सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगर बजार पुग्नु अगावै झण्डै ३ किलोमिटर यतै पिपीरा चोक छ । पिपीरा चोकदेखि झण्डै ५ सय मिटर दक्षिण तर्फ गएपछी ऐतिहासिक धार्मीक स्थल देउतीबज्यै मन्दिर छ । देउतीबज्यै मन्दिरमा भगवान देवीको दुवै पाईला रहेकाले यहाँ दर्शन गर्न आउनेको घुँईचो लाग्छ । हरेक सनिवारका दिन यो मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुको घुँईचो लाग्ने गर्छ । देउतीबज्यैलाई सम्झेर कुनै पनि मनामा चिताएको कार्य पुरा भयो भने यस मन्दिरमा आई बोका बली दिने, परेवा उडाउने र घण्टी चढाउने परम्परागत चलन छ । मुख्य चार्डपर्वमा विशेष पुजाआजा गर्ने र बोका बली दिने पनि गर्छन् । हिन्दुधर्म मान्ने अकिाँश मानिसहरु सुर्खेत पुगेपछि समय मिलेसम्म देउतीबज्यै दर्शन गर्न जाने गर्छन् । ऐतिहासिक एवं धार्मिक स्थल देउतीबज्यैमा अझैँ बढि आन्तरीक र वाह्य पर्यटक भित्र्याउन प्रचारप्रसार गर्न आवश्यक देखिन्छ ।
ऐतिहासिक काँक्रेविहार
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बजारको मुख्य चोक मंगलगढी चोकबाट सुर्खेत जुम्ला सडकखण्डसंग सडक जोडिएको छ । मंगलगढी चोकबाट एक किलोमिटर दक्षिण तर्फ गएपछि झण्डै तीन किलोमीटर पुर्व तर्फ गएपछी ऐतिहासिक पर्यटकिय स्थल काँक्रेविहार पुगिन्छ । चारैतिर सालका रुख र सल्लाका रुख भएको जंगलले घेरिएको बीचमा ऐतिहासिक काँक्रेविहार भग्नावशेष स्थल हाल लगभग पुनःनिर्माणको अन्तिम चरणमा रहेको ठाउँ छ । सुर्खेत भन्ने वित्तिकै मानिसहरुले पर्यटकिय तथा ऐतिहासिक स्थल काँक्रेविहारको नाम लिन्छन् । बाहिरी जिल्लाबाट यहाँ घुम्न आउने जो सुकैले पनि एकपटक ऐतिहासिक स्थल काँक्रेविहारको अवलोकन गर्ने चाहना राख्छन् । अनि काँक्रेविहारको अवलोकनका लागि पुगि हाल्छन् ।
अधिकाँश साल र सल्लाका रुख भएको जंगलले घेरीएको बस्तीभन्दा केहि अग्लो ठाउँ लाटिकोईलीमा परम्परागत शिखरशैलीको मन्दिर ऐतिहासिक काँक्रेविहार क्षेत्र छ । काँक्रेविहार क्षेत्रसहित सुर्खेत उपत्यका भित्रका डाँडाहरुमा रहेको वन, जंगलमा साल र सल्लाका रुख बिरुवाहरुलाई स्थानीयबाहरुले झण्डै चार दशक अघिदेखि संरक्षण गर्दै आईरहेका छन् । देश संघियतामा गएसंगै कर्णाली प्रदेशको राजधानी प्राकृतिक सौन्दर्यले भरिपुर्ण र ऐतिहासिक पर्यटकीय स्थल धेरै भएको प्रमुख ठाउँ सुर्खेत उपत्यका हो । यहाँका प्रमुख प्राकृतिक स्थल गोठिकाँडा र ऐतिहासिक धार्मिक एंव पर्यटकीय स्थलहरु काँक्रेविहार, बुलबुले ताल, देउतीबज्यै मन्दिर, शिव मन्दिर, घण्टा घर अवलोकन गरेपछि बाहिरी जिल्लाबाट घुम्न आउने अधिकाँस पर्यटकहरु काँक्रेविहार अवलोकन गर्न आउँछन् ।
काँक्रेविहारको स्थापना हजारौँ वर्ष पहिले पाँच पाण्डवहरुको बसोबास रहेको स्थल थियो भन्ने किम्बदन्ति छ । केहीले यहाँ झण्डै २५ सय वर्ष अघि हिन्दु वौद्ध र जैन धर्मको मन्दिर जस्तो बनाईएको स्थल थियो भन्ने अड्कलबाजीसमेत गर्छन । धार्मिक किम्वदन्ती अनुसार पाँच पाण्डवहरुको बसोबास रहेको स्थल भएको सुनेको र पछी त्यो भत्किएको भनाई भएपनि पुरातत्व विभागले पुष्टि गरेको छैन । इतिहासकारका अनुसार १३ औँ शताब्दीमा सिँजा साम्राज्यका राजाको शाशनकालमा बनेको हुन सक्ने भन्ने पनि छ । तर कसैले पनि वास्तविकता पत्ता लगाउन नसकेपछि पुरातत्वक विभागले पनि ऐतिहासिक महत्व बोकेको मात्रै जनाएको र बि.सं. १९९० सालको भन्दा पनि अघि भत्किएको हुनसक्ने जनाएको काँक्रेविहारको रेखदेख गर्दै आउनुभएका स्थानीय ६५ वर्षिय दत्त बहादुर रावतले बताउनुभयो ।
स्थानीय समाजसेवी नारायाण कोइरालाका अनुसार पुरातत्व विभागले काँक्रेविहार शिखरशैलीको मन्दिर निर्माणको काम सकेको छ । बि.सं. १९९० साल भन्दा अगाडि भत्केको अनुमान गरिएको हो । मन्दिर कहिले भत्केको, कहिले संरचना बन्यो, कसैलाई देखेको पनि कसैलाई थाहा पनि छैन । खाडा चक्रका राजाहरुले जुम्लाका राजाहरुले निर्माण गरेको भन्ने सुन्नमा आएको हो । मन्दिर बनेको शासनकालमा अनुमानित गर्न सकिन्छ, त्यो बेलामा जुम्लामा राजाहरुको शासन थियो, त्यसकारण पनि राजाहरुले नै मन्दिर बनाएका होलान् भन्ने अनुमान गरियो । त्यही अनुमान गरिएपनि आधिकारिक रुपमा कुनै शिलालेख, ताम्रपत्र तथा आधिकारिक दस्तावेज भेटिएको प्रमाण छैन ।
काँक्रेविहार भग्नावशेष २०५७ सालदेखि उत्खनन् शुरु भएको हो । उत्खनन् भएपछि खुल्ला संग्राहलय बन्यो । खुल्ला रुपमा असरल्ल ढुंगाका प्राचिन मुर्तिहरु अवलोकन गर्ने स्थान खुल्ला संग्राहलय बन्यो । पुरातत्व विभागले बजेट छैन, कुनै कार्यक्रम छैन बताएपछि २०७० साल निर्वाचित तत्कालिन सासंद हृदयराम थानीले पुरातत्व विभागमा पहल गरेपछि पुरातत्व विभागले २ जना इिन्जिनियर मन्दिर अध्ययनका लागि भारतमा पठाइएको हो । कुनै विषयको टुङगो नलागेपछि पुरातत्व विभागले पुनःनिर्माणका लागि टेन्डर आव्हान गरेपछि बनेको हो । उत्खनन्का बेलामा कति खर्च भयो, त्यसको बारेमा जानकारी नभएको तर पछिल्लो टेन्डर झण्डै १४ करोड रुपैँयाको रहेको नारायण कोइरालाले बताउनुभयो । टहरा निर्माणका लागि झन्दै १५ लाख खर्च भएको हो । पछिल्लो समयमा जग भन्दा माथी पट्ठिको टेन्डर झण्डै १४ करोडमा स्वीकृत भएपछि पुनःनिमार्ण कार्यले पुर्णता पाएको उहाँले बताउनुभयो ।
पुरातत्व विभागले झण्डै २४ वर्ष अघि २०५७ सालमा उत्खन गरी भग्नावशेष मुर्तिहरु निकालेर मन्दिर जस्तो आधा संरचना बनाउन थालेको हो । पुनःर्निर्माणको नाममा धेरै वर्षसम्म केही फिट मात्र अग्लो संरचना बनाईएको थियो । बाँकी संरचना वरिपरी केही भाग तारबारले अझैँपनि घेरिएको छ । पुरातत्व विभागले पुनःर्निर्माणको काम सुरु गरेपछि झण्डै १४ करोड लगानीमा निर्माणको सम्पन्न भएको छ । काँक्रेविहार सर्वदेवता अर्थात हिन्दु, वौद्ध र जैन धर्मको संयुक्त मन्दिर रहेको स्थल हुनसक्ने भएका कारण पनि यो एउटै सम्प्रदायको मात्र नभएर सामुहिक संप्रदायको ऐतिहासिक एवं धार्मिक स्थल हो भन्ने मान्यता छ । ऐतिहासिक काँक्रेविहारको स्थापना हजारौँ वर्ष पहिले पाँच पाण्डवहरुको बसोबास रहेको स्थल रहेको किम्बदन्ती छ । तर काँक्रेविहार उत्खनन् गर्दा फेला परेका केही शिलालेखहरुलाई भारत र जापान पठाउँदा पनि केही पत्ता लाग्न नसकेको स्थानीय जानकारहरु बताउँछन् ।
काँक्रेविहार भग्नावशेष स्थललाई झण्डै २४ वर्षअघि ०५७ सालमा पुरातत्व विभागले उत्खनन गरेपछि धेरैजसो मुर्तिहरु दुई दशकसम्म असरल्ल छाडिएका थिए । झण्डै २५ सय वर्ष पहिलेको ऐतिहासीक स्थल भएको अनुमान मात्र गर्छन् । उतिबेला पुरातत्व विभागले गाडिएका मुर्ति उत्खनन गर्दा १२ औँ सताब्दीमा खस मल्ल राजाको पालामा हिन्दु, वौद्धको संयुक्त मन्दिर रहेको र कसैले भत्काएको हुन सक्ने ठम्याई केहि जानकारहरुले गरेपनि कुनै ठोस शिलालेख फेला नपरेका कारण वास्तवीकता के हो कसैलाई पनि थाहा छैन । उत्खनन गरेपछी फेला परेका केही वहुमुल्य वस्तु तथा मुर्तिहरु सुरक्षाका लागि पुरातत्व विभागमा राखिएको थियो ।
अहिले पुनःनिर्माणको काम लगभग सकिएको छ । भग्नावशेष छँदै धेरैलाई लोभ्याएको काँक्रेविहारले अब पुरानै शैलीमा नयाँ स्वरुपमा आएकाले पनि धेरैको मन प्रफुल्ल बनाएको छ । शिखरशैलीको प्रस्तावित संरचना अनुसार काँक्रेविहारमा उत्खनन गर्दा फेला परेका ढुँगाका मुर्तिबाटै झण्डै ५ फिट अग्लो शिखरशैली उठिसकेको थियो । तर बजेट अभावमा केहि वर्षसम्म काम रोकीएकोमा अहिले त्यो पुरा भएको छ । काँक्रेविहार अब अवलोकन गर्न लायक बनेको छ । काँक्रेविहार पुनःनिर्माण भएको खबरले सुर्खेतबासीको जति मन हर्षित बनाएको छ, त्यति नै प्रचारप्रसार नहुँदा पर्यटकिय गतिबिधी बढ्न नसक्दा धेरैको मन कुँडिएको पनि छ, काँक्रेविहारको रेखदेख गर्दै आउनुभएका वीरेन्द्रनगर नगरपालिका ९ का दत्त बहादुर रावतले भन्नुभयो । झण्डै १ सय ७५ हेक्टर क्षेत्रफल रहेको काँक्रेबिहारमा सल्ला र सालको घना जंगललाई संरक्षण गर्न थालीएको झण्डै चार दशक वर्ष भयो । पुरात्तव विभागले भग्नावशेष काँक्रेविहार उत्खनन गरेर निकालिएका पुरानै मुर्तिबाट अहिले सिरलीक्क परेको माथि चूच्चो भएको शिखरशैलीमा मन्दिर बनाईएको छ । शिखरशैलीको प्रतावित संरचना अनुसार उत्खनन गर्दा फेला परेका ढुँगाका मुर्तिबाटै बनाईएको हो ।
आँखाको शान्तिका लागि त्यहाँ कुनै चमकदमक र झिलीमिली केहि पनि छैन । तर मनको शान्तिका लागि इतिहासकै उत्कृष्ट प्रसस्त कला र कारिगरी भने पक्कै मनमोहक छ । चारैतिर चार ढोका रहेको जताबाट हेर्दा पनि उस्तै देखिने काँक्रेविहारको भित्र वुद्धको मुर्ती राख्ने तयारी भएपनि हालका लागि वुद्धको तस्विर मात्र राखिएको छ । नेपालका ७ वटै प्रदेश तथा मेचिदेखि महाकालीसम्मका आन्तरीक पर्यटकहरु यहाँ अवलोकनका लागि दिनहुँजसो आउने गर्छन् । तर काँक्रेबिहारको पुनःनिर्माणको काम हुँदा पनि प्रचारप्रसारको कमिले काँक्रेबिहारमा आन्तरीक तथा वाह्य पर्यटकहरुको आवागमन बढ्न सकेको छैन । पर्यटन प्रवद्र्धन विकासका लागि बाहिरी देशबाट आएका पाहुना र देशका विभिन्न जिल्लाहरुबाट वीरेन्द्रनगर पुगेका जोकोहीलाई पनि काँक्रेविहारमा घुम्न जानुपर्ने बनाउन जरुरी छ ।
रमणीय काँक्रेविहार, काँक्रेविहार नेपालको एक प्राचीन सभ्यता मध्येको एक महत्वपुर्ण स्थान हो । सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ लाटीकोइलीमा रहेको यस ठाउँमा बौद्ध धर्म सम्बन्धी पुरातात्विक भवन तथा विहार रहेको पाईन्छ । यो नेपालको सबैभन्दा ठूलो बौद्ध विहार हो । काँक्रेविहारको सुर्खेत क्षेत्र तत्कालिन खश साम्राज्य अन्तर्गत पथ्र्यो । यसको निर्माण १२ सय शताब्दीमा भएको इतिहास रहेको बताईन्छ । मेचिदेखि महाकालीसम्मका मानिसहरु यहाँ आँउछन् । तर विदेशी पर्यटकशरुको आगमन न्युन छ । काँक्रेविहार अवलोकनका लागि आएका आन्तरीक पर्यटकहरुले पुनःनिर्माण सकिएपनि प्रचारप्रसार लगायत अरु थुप्रै काम गर्न सरकारले ध्यान दिनुपर्ने बताउँछन् । काँक्रेबिहारको पुनःनिर्माण भइसकेपछि अब आन्तरीक तथा वाह्य पर्यटक आउने बनाउन सुर्खेतकै प्रमुख पर्यटकीय स्थलको रुपमा पुरातात्विक बगैँचा बनाउन काँक्रेविहारलाई सुर्खेतको मात्रै नभई पश्चिम नेपालकै प्रमुख पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न सरकारको बेलैमा ध्यान जान आवश्यक छ ।
शिव मन्दिर
काँक्रेविहारको मुख्य प्रवेशद्धारदेखि झण्डै ५ सय मिटर पश्चिम तर्फ ऐतिहासिक शिव मन्दिर छ । यो सुर्खेत उपत्यकाको बीचच भागमा पर्छ । झण्डै ४ सय वर्ष अघि वि.सं. १६३९ सालमा जुम्लाका राजा मान शाही र प्रताप शाहीका पालामा योगी लंगरनाथका चेला आत्मानाथले शिव लिङ्ग राखेर शिला स्थापना गरी बनाईएको शिव मन्दिर हो भन्ने गरिन्छ । शिव मन्दिर वरपर झण्डै ४ सय वर्ष पुराना ठुला बेलका रुख भएको यस मन्दिरमा शिव लिङ्गको मुर्ति छ । यहाँ पनि दर्शन गर्न आउनेहरुको घुँईचो लाग्ने गर्छ ।
सुर्खेत उपत्यका बजार र घण्टा घर
सुर्खेतको वीरेन्द्रनगर मुख्य बजारदेखि झण्डै २ सय मिटर उत्तर तर्फ छ घण्टाघर । समय जनाउने चारै दिशा तर्फ ठुला घडी राखिएको घण्टा घर पार्क भित्र घुम्न यहाँ स्थानीय तथा बाहिरी जिल्लाका आन्तरीक पर्यटकहरु आउने गर्छन् । घण्टाघर भित्र गएर मानिसहरु आराम गरी बस्ने गर्छन् । घण्टाघर नजिकैको खुल्ला परिसरमा बेलाबेला ठुलाठुला मेला महोत्सवको आयोजना पनि हुने गर्छ । साविकको मध्यपश्चिम क्षेत्रकै क्षेत्रिय कार्यालय र ऐतिहासीक पर्यटकीय स्थल भएको जिल्ला सुर्खेत उपत्यका हो । राजतन्त्रका बेला राजा वीरेन्द्रलाई सुर्खेत असाध्यै पन पर्ने जिल्ला पनि हो । सुर्खेत बजार घुमेपछी यहाँका प्रमुख ऐतिहासिक धार्मिक एंव पर्यटकीय स्थल देउती बज्यै मन्दिर, ऐतिहासीक धार्मिक स्थल काँक्रेविहार, शिव मन्दिर, बुलबुले ताल र घण्टाघर अवलोकन गरेर केही मानिसहरु उपत्यकाको उत्तर र दक्षिण तर्फ रहेको पर्यटकीय स्थल गोठीकाँडा, तेलपानी, गाइनेकाँडा, बराहताल लगायतका स्थानमा पनि सम्भव भएसम्म यातायातका साधनको प्रयोग नभएपनि पैदल मार्ग हुँदै प्राकृतिक सौन्दर्य अवलोकनका लागि जाने गर्छन् ।
तेलपानी र बराहताल
सुर्खेतको अर्को घुम्न लायक ठाँउ हो तेलपानी । बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्र प्राकृतिक ठाउँ सुर्खेतकै तेलपानी, गाईनेकाँडा लगायतका क्षेत्रमा पनि ट्रेकिङ (पैदल हिँड्ने) पर्यटकहरुको चहलपहल बढ्दो छ । राष्ट्रिय प्रकृती संरक्षण कोषले छिन्चुदेखि तेलपानी हुँदै गाईनेकाँडासम्मका विभिन्न गाउँमा स्थानीयलाई होमस्टे संचालनका लागि सहयोग गरेपछि तिँ ठाउँमा होमस्टेहरु पनि संचालनमा रहेकाले अर्गानिक खानाका परिकार खाएर प्राकृतिक मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने तेलपानी र गाईनेकाँडा क्षेत्रमा पहिले आफ्नो खेतबारीको अन्नबाली र पशुचौपाया खाएर नोक्सानी पुर्याएको भन्दै जंगलका वन्यजन्तुको शिकार गरि खाने र जिविकोपार्जन गरिरहेकाहरुले वन र वन्यजन्तु संरक्षण अभियान खटिएसंगै शिकार खेल्ने भरुवा बन्दुक बुझाएर संरक्षण अभियानमा खटिएका छन् । स्वःस्र्फुत झण्डै २५० भरुवा बन्दुक निकुञ्जमा बुझाएर संरक्षण अभियानमा जुटेका हुन् । बर्दियाको भुरीगाउँ तेलपानी सुर्खेत सडकखण्ड अन्तर्गत आम्बासादेखि ढाँडबास हुँदै धरमपानीसम्म सडक ट्रयाक खुलिसकेको र बाँकी तेलपानीको डाँडासम्म पुग्न झण्डै ७ सय मिटर बाँकी छ । पुर्व पश्चिम राजमार्गको भुरीगाउँ नजिक आम्बासाबाट ढाँडबास, धरमपानीसम्म गाडिको यात्रा गरेपछि झण्डै ७ सय मिटर उकालोमा पैदल हिँडेर तेलपानीको डाँडामा पुगिन्छ ।
यस्तै बराहताल गाउँपालिका वडा नम्बर ४ मा रहेको बराहताल विषेश गरी दशैँ तिहारमा घुम्नका लागि उपयुक्त स्थान हो । झण्डै १६ बिघा क्षेत्रफलमा फैलिएको ताल जंगलको बीचमा छ । वन्यजन्तु र चराचुरुङ्गीको अवलोकन गर्न यो ताल निकै रोमान्चक छ । केहि वर्षअघि तालमा पानी सुकेपछि पशुचौपायाको चरनस्थल बनेको थियो । ताल क्षेत्रको झारपात हटाएर पुनः ताल बनाउन सुरु गरेसंगै तालमा आफै पानी भरिएपछि पर्यटक भित्रिने आशा पलाएको छ । स्थानीय पालिका र प्रदेशबाट रकम छुट्याएर संरक्षण अभियानमा जुटेका छन् ।
पर्यटकको पर्खाईमा सुर्खेतका विभिन्न पर्यटकीय स्थल
वर्षाको समय लगभग सकिँदैछ, तिज, दशैँ, तिहार लगायतका पर्वहरु पनि नजिकिन थालेका छन् । चार्डपर्वमा बिदा हुने भएकाले अधिकाँश मानिसहरु फुर्सदिला हुन्छन् । फुर्सदको समयलाई सदुपयोग गर्न धेरैले घुमघामको योजना पनि बनाउँछन् । तर कहाँ घुम्ने भन्ने अन्योल हुने गर्छ । यदि लामो होस् वा छोटो बिदाको सदुपयोग गर्ने हो भने कर्णाली प्रदेशको राजधानी सुर्खेतका विभिन्न ठाउँ तपाईँका गन्तव्य लागि उपयुक्त हुन सक्छन् । सुर्खेतको वीरेन्द्रनगरमा सुबिधा सम्पन्न आरामदायी थुप्रै होटलहरु छन् । गोडिकाँडा क्षेत्रमा पनि स्थानीय परिकारसहितका बास बस्न मिल्ने केहि आरामदायी होटलहरु पनि छन् । राष्ट्रिय प्रकृती संरक्षण कोषले छिन्चुदेखि तेलपानी हुँदै गाईनेकाँडासम्मका विभिन्न गाउँमा स्थानीयलाई होमस्टे संचालनका लागि सहयोग गरेपछि तिँ ठाउँमा होमस्टेहरु पनि संचालनमा छन् ।
प्रर्यटकीय सम्भावना सुर्खेत
सुर्खेतमा संचालित होटल तथा पर्यटन व्यवसायीहरुले आन्तरीक र वाह्य पर्यटक घुमघामका लागि विषेश प्याकेज ल्याउनुपर्ने साथै स्थानीय सरकार र प्रदेश सरकारले पनि बढिभन्दा बढि पर्यटक भित्र्याउने खालका विभिन्न कार्यसंगै भौतिक पुर्वाधार तर्फ पनि ध्यान आवश्यक छ । आन्तरिक र वाह्य पर्यटन विकासलाई जोड दिने गरी गोठिकाँडाको डाँडामा साहसिक प्याराग्लाडिङ्ग (हावाको वेगसंगै खुल्ला आकाशमा उडने) भेरी नदी र कर्णाली नदीमा र्याफिटङसंगै काँक्रेविहार, देउतीबज्यै, बुलबुले ताल, बराहताल, तेलपानीसम्म पुग्नका लागि सर्वसुलभ यातायातका साधन संचालन गर्न जरुरी छ ।
यस्तै स्थानीय विपन्न समुदायको आयआर्जन र जीविकोपार्जन माथी उठाउन पर्यटकिय चहलपहल हुने ठाउँठाउँमा अर्गानिक खानाका परिकार र स्थानीयको परम्परागत संस्कृतीसहितको होमस्टे संचालन गर्न जरुरी छ । बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्र प्राकृतिक ठाउँ सुर्खेतकै तेलपानी, गाईनेकाँडा लगायतका क्षेत्रमा पनि ट्रेकिङ (पैदल हिँड्ने) पर्यटकहरुको चहलपहल बढाउन आवश्यक छ । प्राकृतिक, भौगोलिक, धार्मिक र ऐतिहासिक पर्यटनको कुरा गर्ने हो भने “कर्णाली प्रदेशको सुर्खेत जिल्ला कस्तुरी जस्तै हो, जसले विनालाई आप्mनै गर्भमा राखेपनि त्यसैको सुगन्धका पछाडि भौतारिरहन्छ ।” सुर्खेतको गोठीकाँडा, काँक्रेविहार, देउतिबज्यै मन्दिर, बुलबुले ताल, तेलपानी, गाईनेकाँडा, बराहताल लगायतका पर्यटकिय गन्तब्यको विशेषतालाई सरकारी तवरबाट भएको बेवास्तालाई हेर्दा लाग्छ बुढापाकाहरुले भनेझैं “बुझ्नेलाई श्रीखण्ड, नबुभ्mनेलाई खुर्पाको विंड ।” त्यसैले सुर्खेतलाई पश्चिम नेपालकै प्रमुख पर्यटकीय स्थलको रुपमा विकास गर्न सरकारले बेलैमा ध्यान दिन आवश्यक छ ।