विक्रम संवत् २०२० को दशकको सुरुदेखिको जमिनदारहरूको चर्को शोषण र यही कालमा न्यून वर्षा लगायतको पर्यावरणीय परिवर्तनका कारणले कृषि उत्पादनमा आएको ह्रासका कारण उत्पन्न भएको भोकमरीले गर्दा दाङ बाट सहज जीवनयापनको खोजीमा अत्यधिक थारु परिवारहरू आफ्ना लालावाला र पशु चौपाया समेत लिएर बुरहान (बर्दिया) र मल्वारा (कैलाली)का विभिन्न गाउँठाउँहरुमा बसाइसराई गरी आएको पाइन्छ । अमिलिया र सत बरिया उत्तरतिरका चुरेका होचा गल्छीहरू छिचोलेर पूर्व पश्चिम फैलिएको लमतन्न तराई फाँटको सालको घना जङ्गल छेउ किनार र बिचोबिचको लामो बाटो पार गर्दै थुप्रै दङाली थारुका एकल तथा बहुल कबिलाहरू त्यो दशकका धेरै वर्षहरू सम्म परिवार स्थानान्तरण र सहज ठाउँ प्राप्तिका लागि ओहोरदोहोर गरिरहे । लामो बाटो छिचोलेर बाँकेको कोहलपुर पुगेका केही कबिलाहरू यही वरपरका गाउँवस्तीहरुमा समाहित भए भने धेरै कबिलाहरू बर्दियाका विभिन्न गाउँहरूमा पसे र केही परिवारहरू कर्णाली नदीका गेरुवा र खैरी भँगालाहरू पार गरेर मल्वाराको उजेली सेमरा टप्पा सम्मै पुगेको पाइन्छ ।
अगाडी बसाई सरेर बुरहान र मल्वारा जानेहरूले दाङ भन्दा घरपरिवार चलाउन सहज छ भनी सन्देश दिएका कारणले दाङ बाट सामूहिक बसाइसराइको क्रम वर्षौँसम्म चलेको पाइन्छ । बुरहान र मल्वाराका धेरै खेतहरूमा त्यो समय सिँचाइ हुन्थ्यो । यहाँको जमिन पनि प्राकृतिक रूपमै मलिलो र उब्जाउ भएकाले लगाइएको खेतीपाती पनि राम्रो परिमाणमा उत्पादन हुन्थ्यो । अर्को तिर लखनौ गदरमा नेपाल सरकारले ब्रिटिस इन्डियालाई सहयोग गरे पछि सन् १८६० मा उसले सुगौली सन्धि मार्फत आफू अधीनस्थ पारेको पश्चिम तराईको बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको भूभाग नेपाललाई फिर्ता दिएको थियो । यसरी फिर्ता आएर नयाँ मुलुक नाम पाएको यो भूमिका अधिकांश खेतीयोग्य भूभागहरू तत्कालीन नेपाली सेनाका कमान्डर तथा अधिकृतहरूलाई खान्गी-जागिरका रूपमा बिर्ता बाँडिएको थियो । यिनै बिर्तावाल र उनीहरूले बसाएका मानिसहरू मध्येका धेरै मानिसहरू नै यो नयाँ मुलुकका जमिनदारहरू थिए । उनीहरूसँग प्रशस्त जग्गा जमिन थियो तर यो जमिनमा खेती किसानी गर्ने मानिसहरू अझै पनि निकै कम थिए ।
यही कालमा दाङबाट आएका यी मानिसहरूले यिनै जमिनदारहरूका जमिनमा खेती किसानी गर्न थाले । यो समय धेरै ठाउँमा जग्गावालाले खेती गर्नेलाई बिउ विजन देखी खेत जोत्ने राँगा- गोरुको समेत प्रबन्ध गरी दिने चलन थियो । यसरी गरिएको खेतीको जम्मा उत्पादनको तीनदेखी चार भाग खेती गर्ने किसानले र एक भाग जग्गावाला जमिनदारले पाउने चलन थियो । यसरी खेती गर्दा पाइने उत्पादनको तीनदेखी चार भागले परिवारको भरण पोषण सहज रूपमा गर्न सकिने कारणले पनि त्यो समय दाङ बाट बुरहान र मल्वारामा ठुलो सङ्ख्यामा बसाइसराई भएको हुनुपर्दछ । परिवारमा सदस्य सङ्ख्या धेरै भएका मानिसहरू तेखुर (तीन भाग पाउने), चौखुर (चार भाग पाउने) मा जमिनदारको जमिनमा खेती किसानी गर्न थाले भने परिवार सङ्ख्या कम र कमजोर अवस्था भएकाहरू जमिनदार र किसानहरू कहाँ कमैया (तोकिएको कृषि उपज पाउने प्रथा)का रूपमा काम गर्न थाले । यो क्रम चली रहँदा धेरै कमैयाहरु कृषकमा परिणत हुँदै गए भने केही कृषक परिवारहरू कमैयामा पनि परिणत हुँदै गए । यसरी यो किसिमले यहाँको भूमिमा खेतीपाती र कृषि उत्पादन बाँडफाँडको यो प्रणाली केही वर्षहरूसम्म निर्वाध चल्यो ।
विक्रम संवत् २०२१ सालदेखी लागु भएको भूमिसुधार कार्यक्रमले बाँके, बर्दिया, कैलालीका र कञ्चनपुरका जमिनदारहरूमा एक किसिमको आक्रोश पैदा गरेको थियो भने जोताहा कृषक र कमैयाहरूमा उत्साह थपेको थियो । भूमिसुधार कार्यक्रमबाट धेरै किसान र कमैयाहरू लाभान्वित हुन नसके पनि जोताहा किसानहरूलाई उनीहरूले जोतेको जमिनमा मोही हकदार बनाई जमिन माथि द्वैध स्वामित्व कायम गरी उनीहरूलाई केही अधिकार स्थापित गरी दिएको थियो । विक्रम संवत् २०२२/२३ सालमा बाँके जिल्लामा सञ्चालन भएको नेपाल पुनर्वास कम्पनी, विक्रम संवत् २०२६/२७ सालमा बर्दियाको जमुनीमा सञ्चालन भएको नेपाल पुनर्वास कम्पनी र बर्दियाको तारातालमा विक्रम संवत् २०३४/३५ सालमा सञ्चालनमा आएको नेपाल पुनर्वास कम्पनीले देशको विभिन्न ठाउँमा बाढी पहिरो पीडित, नदी किनारका डुबान पीडित, राष्ट्रिय निकुञ्ज तथा आरक्षका लागी घर जग्गा अधिग्रहण गरिएका मानिस, भूमिहीन सुकुम्वासी तथा वर्मा, आसाम र मेघालयमा प्रताडित नेपालीहरूका लागी कृषि कार्य विस्तार गर्न, उनीहरूलाई पुनर्वास गराउन र सीमा सुरक्षाका लागी भारतीय सिमाना नजिक बस्ती बसाउने उद्देश्यले यी ठाउँहरूमा व्यवस्थित बस्ती बसाउने तथा कृषि प्लटहरू व्यवस्थित गर्ने काम गर्यो । राष्ट्रिय स्तरबाट सञ्चालित यो पुनर्वास कार्यक्रममा नगण्य रूपमा समेटिएका र समेट्न लगाइएका बाहेक दाङबाट बसाई सराई गरेर आएका यी जोताहा किसान तथा कमैयाहरू यो कार्यक्रममा समेटिएनन् ।
भूमिसुधार कार्यक्रम पछि आप्mनो स्वामित्व बाट धेरै जमिन छुटनु र बचेको जमिनमा फलेको उब्जनी तेखुर चौखुर बाँडफाँड व्यवस्था बाट आप्mनो भागमा थोरै पर्न गएकोमा जमिनदारहरुमा निकै नैराश्य र आक्रोस पैदा भएको थियो । यसै गरी आफुहरुले खनजोत गरी मेहनत गरी रहेको ठाउँवरपर अन्यत्र बाट सरकार आफैले मानिसहरु ल्याई उनिहरुलाई जमिनको स्वामित्व समेत दिईरहेको र कहिकतै कृषि बाली तयार नभए सम्मका लागी उनीहरुलाई खाद्यान, घर निर्माणका लागी काठ तथा नगद समेत वितरण गरेको थाहा पाएका उनिहरु जमिनदारको व्यबहार, सरकारको निती तथा त्यो बेलाका अगुवाहरु बाट अपमानित र हेपिदै गएको महशुस गरी रहेका थिए ।
बि.सं.२०३४÷०३५ साल सम्म आईपुग्दा यो ठाउँमा लाग्ने औलोसरौटोको प्रकोप कम भैसकेको थियो । अब पहाडतिरबाट राजापुर गोलामण्डीमा हाट लिन आउनेहरु, हिउँदमा भारतका बिभिन्न ठाउँहरुमा देश गर्न (मजदुरी) गर्न जानेहरु , बुरहान र मल्वाराका जंगल र नदी किनाराहरुमा पहिले देखी हिउदमा भैसी पालन गर्न आई बर्षा लाग्नु अगाडी नै पहाडतिर फर्कि जाने मानिसहरु र पहाडतिरका ठालु, मुखीया र जिउमुवालहरुले समेत अब जमिनदारहरु बाट जग्गा किन्न थालीसकेका थिए । उनिहरु मार्फत जमिनदारहरुले पहाडतिर बाट जमिन किन्ने अरु मानिसहरु मगाउदै थप जग्गा समेत बिक्री गर्न थालेका थिए । पहाडतिर बाट आएका मानिसहरु बाट सुरुमा आधा पैसा लिएर आधा पछि लिने गरी पनि जमिनदारहरुले जग्गा बेचिरहेका थिए । यसरी जमिनदार बाट थोरै जग्गा किन्नेहरुले आप्mनो जग्गा आफैले लगाउने, धेरै जग्गा किन्नेहरुले कमैयाहरु राखेर खेती गर्र्न थालेका थिए भने धेरै जग्गा किन्नेहरुले किसानहरुलाई अधिया बटैयामा आप्mनो जग्गा खेती गर्न दिन थालेका थिए । बि.सं. २०३४/३५ साल सम्म बुरहान र मल्वारामा दाङ्गबाट धेरै ठूलो संख्यामा मानिसहरु बसाई सरेर आई सकेका थिए । यसरी आएका सबैलाई जमिनदारको जमिन जोत्न पनि पुगी रहेको थिएन । जोत्ने मानिसहरुको संख्या धेरै भएकाले कृषी उपज तेखुर चौखुर बाट अधिया (आधा जमिनदारले र आधा किसानले पाउने) बाँडफाँडको व्यवस्था लागु भैसकेको थियो । यही कालक्रम र सन्दर्भमा केही जागरुक र सचेत थारु अगुवाहरु जुर्मुराएका थिए । उनीहरु सरकारले आफुहरुका लागी पनि गास, वास र कपासको व्यवस्था गरी दिनु पर्छ भनी आवाज उठाउन थालेका थिए । यो कार्यमा उनीहरुलाई त्यो बेलाको राजनैतिक प्रणाली परिवर्तनमा लागेका प्रतिबन्धित राजनैतिक दलका कार्यकर्ताहरुले पनि सहयोग र समर्थन गरेका थिए । दाङ्ग बाट आएका थारुहरुको एउटा ठुलो समुह बि.सं.२०३३ सालतिर चिल्ला थारु र रंगीलाल थारुको अगुवाईमा बबई नदिको कन्द्रा तटमा बसेको थियो ।
त्यो बेला सरकारको प्रणाली र प्रशाशकिय स्वरुपले सम्बोधन गर्न नसकेका र बिलम्बमा पारिएका जनजिजीविकाका धेरै समस्याहरुको समाधान राजाको हुकुम प्रमाङ्गी बाट हुने परम्परा थियो । बि.सं.२०३५/३६ सालमा तत्कालिन राजाको सुर्खेत सवारी भएको बेला चिल्ला थारु र रंगीलाल थारुले कन्द्रामा बसेका आप्mना मानिसहरुको उचित बसोबास व्यवस्थाका लागी तत्कालिन राजा समक्ष बिन्तीपत्र बुझाए । यो बिन्ती पत्र माथी सुनुवाई भयो र कन्द्रा फाँटामा बसेको चिल्ला बडघरको समुहलाई हालको बाह्रबर्दिया नगरपालिकामा पर्ने जोधिपुर,पचघरुवा, नारायनपुरको केही भाग र भैसाखानीको केही भागमा प्रति परिवार न्युनतम ०-१०-० देखी अधिकतम ०-१०-० सम्म जग्गा दिएर स्थानान्तरण गरियो । यसैगरी सोही ठाउँमा बसेको रंगीलाल थारुको समुहलाई पनि प्रति परिवार न्यनतम ०-१०-० देखी अधिकतम ०-१०-० सम्म जग्गा दिएर हालको बाह्रबर्दिया नगरपालिकामा पर्ने बठुवामा स्थानान्तरण गरियो । कन्द्रा तटमा बस्ने पहिलो समुह चिल्ला थारु र रंगीलाल थारुको समुह हो । यस पछि पनि यो तट यस्तै भुमिहीन तथा सुकुम्बासीहरुले बस्ती बसाउन प्रयास गरेका हुन तर उनीहरु सफल हुन सकेनन ।
बि.सं.२०३५÷०३६ साल पछिको समयको कालखण्डमा बर्दियाको खेतीयोग्य जमिनको स्वामीत्व र उपभोग तथा त्यो जमीनमा खेतीपाती गर्नेहरु बिच आईरहेको उतारचढाव र परिवर्तनका धेरै कथाहरु छन । यो बिचमा यहाँको धर्तिले धेरै किसीमका मालिकहरु व्यहोरेको छ । बि.सं.२०३६ सालतिर बर्दिया जिल्लाको गेरुवा नदि पश्चिमको भवरा टप्पामा आफुहरुका लागी समेत थातवास व्यवस्थाका लागी जमिन चाहीयो भनी दाङ्गतिर बाट आई यो टप्पाका बिभिन्न गाउँहरुमा अधियाँमा जमिन जोतीरहेकाहरु र कमैयाहरु संगठित हुँदै आन्दोलित भए । उनीहरु हुलका हुल भएर गाउँहरुबाट निस्कन थाले । मानपुर टपराका टेकलाल थारुका छोरा बालकिसुन थारुले यि भुमीहिन, सुकुम्बासी, जोताहा किसान तथा कमैयाहरुको गरिबीको वकालत गर्दै उनीहरुलाई सरकार बाट गास, बास र कपासको व्यवस्था गर्नु पर्दछ भनि संगठीत गरेका थिए । यो समय बर्दिया जिल्लाका धेरै ठाउँहरुमा यस्ता भुमीहिन सुकुम्बासीहरुको छिटफुट संगठन निर्माण र अधिकार प्राप्तीको आवाज उठन थाली सकेको थियो । भवरा टप्पामा यती धेरै मानिसहरुका घरकुरीया बनाउन आवश्यक जमिन उपलब्ध नभएकाले त्यो समुह बि.सं. २०३६ सालको माघी मानेर गेरुवा वारीको हाल मधुवन नगरपालिकामा पर्ने डल्लागाउँमा आई बस्यो । यस पछि डल्लामा बर्दियाका बिभिन्न बस्तीहरुबाट यकत्रित भई वस्ती बस्न सुरु भयो । त्यो बस्तीमा बसेका ३०० भन्दा बढी कुरीयाका हजारौको संख्याका मानीसहरुले जग्गा प्राप्तीको माग गर्दै आन्दोलन चलाए । डल्लाको त्यो क्षेत्र बर्दिया शिकार आरक्षको किनार थियो र यो क्षेत्रमा हिउँदे याममा राजा तथा बिदेशी पाहुनाहरुका शिकार क्याम्पहरु लाग्ने गर्दथे । त्यसैले यो ठाउँमा वस्ती बस्न सुरु भएको थाहा पाए पछि तत्कालिन बनप्रशाशन र त्यो बेलाको जिल्ला पञ्चायतले समेत त्यो वस्ती बसाउने अगुवाहरुलाई त्यहाँ नबसी अन्यत्र कतै जान सम्झाएका थिए । दमनध्वज चन्द र सालिक राम चौधरी समेतले तारातालमा कटान हुँदै छ । त्यहाँ काम पनि पाईने सम्भावना छ । त्यही नजिक यो वस्ती सार्नुहोस भनेका थिए तर उनीहरुले मानेनन र बसेकै ठाउँमा साना घरकुरीयाहरु बनाउदै खेतीपाती र पशुपालन सुरु गरे । बि.सं.२०३७ साउन २ गते बन प्रशाशनले हात्ती, प्रहरी र आप्mनो जनशक्ति लगाएर त्यहाँको बस्ती उजादै त्यहाँ बसेकाहरुलाई त्यो ठाउँ बाट लखेट्यो । उनीहरुले आवाद गरी लगाएको मकै खेती निकै राम्रो थियो त्यो सबै हात्ती लगाएर कुल्च्याईयो । घरकुरीयाहरुमा आगो लगाईयो । अगुवाहरुलाई सोनाहा बनबिभाग कार्यालयको चौरमा राखेर कुटीयो । यो बस्ती बसाउनका लागी अगुवाई गरेका टपराका बालकिसुन,बेलवाका जंगली थारु, गोलाका प्रेम बहादुर थारु, परसीयाका कालुराम, खुलपुरका बेचन, भौराकै कालुराम, प्रतापुरका भोजलाल, खैरापुरका कालुराम, सतरीया दमौलीका गुरीलाल, झग्गु, बल बहादुर र नेउलापुरका श्रीप्रसाद, रिसमान र ठेगान नखुलेका लक्ष्मीनारायन समेत लाई बनबिभागले पक्रेर थुन्यो । थुनेको एक महिना पछिको सोह्र दिन सम्म उनीहरुलाई दैनिक हाजीर जमानीमा राखी त्यसपछि तारेखमा छाडीयो । मंसीरको महिनामा तारीख छुट्यो ।
डल्लाबाट लखेटीय पछि जो जहाँ बाट आएका थिए उनीहरु त्यही त्यही फर्किए । यसरी फर्केको केही समय सम्म यो आन्दोलन निस्तेज जस्तै भयो । बनफडानीको मुद्दामा सायद बालकिसुन कमजोर भैसकेका थिए यसैले यसपछि उनले अगुवाई गर्न सकेनन । यसपछि बेलवाका जंगली थारुले प्रत्येक गाउँठाउँका भूमीविहीन, जोताहा किसान र कमैयाहरुलाई थातवास प्राप्तीका लागी संगठित गरी रहे । बि.सं. २०१५ सालमा जन्मेका जंगली थारुका बाबु भागीराम बेलवाका राणा जमिनदारका कमैया थिए । जंगली आफु बेलवाकै एउटा किसान घरमा कमैया थिए । बि.सं. २०३६ सालमा महुवाकी चोक्टी थारु संग विवहा गरेका जंगली थारु राम्रो संगठक र कुशल व्यवहारका थिए । यसैले उनले थातवासको अधिकार प्राप्तीका लागी धेरैलाई संगठित गर्दै एउटा आन्दोलनको नेतृत्व गरे । आन्तरिक रुपमा संगठन गर्दै बुरहानका धेरै ठाउँहरुमा कयौ पटक बैठक बसाल्दै उनले धेरैभन्दा धेरैलाई जागरुक बनाउदै आप्mनो नेतृत्वमा बि.सं.२०३७ सालको माघी मानेर फेरी बर्दिया माचडको देउरिनीयामा भुमीहिन तथा सुकुम्बासीहरुको वस्ती बसाउन सुरु गरे । माचडको बसाई उनीहरुका लागी निकै कष्टकर थियो । भारतको निशानगाडाबाट ल्याएको पिठोमा माचड जंगलको सालको बिउको धुलो मिलाएर खाई वस्तीका मानिसहरुले प्राण धाने । पिउने पानीको समेत निकै अभाव थियो । यो वस्तीमा यो समय बुरहानका बिभिन्न गाउँठाउँ बाट आएका ७०५२ घरकुरीयाहरु थिए । जुनजुन गाउँठाउँ बाट मानिसहरु आएका थिए ती गाउँठाउँका मानिसहरुको समुहको नेतृत्व उनिहरुले चुनेको वडघरले गर्दथ्यो भने । ती समुहको हरहिसाब, अभिलेखीकरण लगायत कामको जिम्मेवारीको खटनपटन सचिवले गर्दथ्यो । बिभिन्न बडघर र सचिवहरु र उनीहरुका समुहको मुल नेतृत्व जंगली थारुले गर्दथे । जंगली थारुको सहायकको रुपमा गोला खलुवागोलाका प्रेम बहादुरले गर्दथे । माचड बसाईकै क्रममा बि.सं.२०३९ सालको फागुन चैत्रतीर बस्तीमा केही मतभेद आयो । खैरापुरका कालुराम र गोलाका सुन्दरलाल र बल बहादुरले नेतृत्व गरेका करिब २००० घरकुरीया माचड बाट हालको बाँसगढी नगरपालीकामा पर्ने सतरिया दमौली तर्फ सरेर गयो । यो समुहलाई सुरेन्द्र चन्दले सहयोग तथा समर्थन गरेका थिए ।
अब माचडमा ५०५२ घरकुरीया बचेको थियो । प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, बनमन्त्री बुद्दिमान तामाङ्ग, जिल्ला पञ्चायत सभापति सुरेन्द्र चन्द भएका बेला यो वस्तीको समस्या समाधानका लागी जेठको महिनामा बनमन्त्री बुद्दिमान तामाङ्ग माचड आएका थिए । वस्तीका अगुवा र जिल्लाका नेताहरु संग समस्या समाधानका लागी छलफल गरेका थिए तर सुरेन्द्र चन्द र दमनध्वज चन्दको आन्तरिक टकरावका कारणले वस्तीका भुमीहिनहरुका लागी जग्गा खोज्ने र वितरणको निर्णय गर्ने काम हुन सकेन । त्यसपछि वनमनत्री तामाङ्ग माचड वस्तीका ढकिया, गुन्द्री, मचिया, भौका र बेना (हाते पंखा) जस्ता थारु हस्तकलाका सामानहरु उपार लिएर बस्तीका अगुवाहरुलाई काठमाडौ आउन भन्दै फर्किए । माचडमा वस्ती बसेको जग्गा दर्तावाल नम्बरी जग्गा भएकाले जग्गावालाले उठेर जान दवाव दिई रहेका थिए । यसै समययमा बर्दियाको तारातालमा नेपाल पुनरर्वास कम्पनी (हाल राष्ट्रिय आवास कम्पनी) ले शाही बर्दिया राष्ट्रिय शिकार आरक्षको बबई उपत्यका बाट स्थानान्तरण गरिन लागेका मानिसहरुका लागी कृषि तथा आवास प्लटको बिकास गर्दै थियो । त्यो ठाउँमा रहेको रुखहरु नेपाल टिम्बर कर्पोरेशनले कटान गर्दै थियो । त्यो रुख काटेका रुखका जरा उखेल्ने काम पाईन थालेको थियो ।
बि.सं.२०३९ असारमा यो वस्ती माचड बाट हालको मधुवन नगरपालिकाको गुराँस मा.बि.रहेको ठाउँ नजिकको श्रीगैडाको खाली र विरान जमिनमा सारियो । यो ठाउँ त्यो बेला निकै सुख्खा थियो । पानी ल्याउन निकै टाढा जानु पर्दथ्यो । साउन भदौ महिनातिर हुनुपर्छ यो वस्तमा कुवा खनियो । कुवा खन्ने क्रममा भवरा सरखोलतीरको एकजना र भठ्यारा भौराको अर्को एक जना पुरीएर मरे । सरजमिन मुचुल्का गरेर उनीहरुको सदगत गरियो । यो वस्ती विकास र थातवास प्राप्तीको लडाईमा प्राण आहुती दिने ती दुईजना यो वस्तीका सबैका लागी सधैका लागी स्मरणिय छन । अहिले पनि श्रीगैडाको त्यो ठाउँमा त्यो बेला लगाएको पिपलको रुख यथावत छ ।
बि.सं. २०३९ साउनको महिनामा जंगली, प्रेम बहादुर, गंगाराम (खोदाउ कजुवाको बाबु) लगायत १२ जनाको टोली काठमाडौ गयो । बनमन्त्री लगायत सबै संग भेटघाट गरे तर उनीहरुको सुनुवाई भएन । काठमाडौमा आप्mनो माग सुनुवाईका लागी उनीहरुले भोक हडताल सम्म गरे तर उनीहरुको पहुँच पुगेन । त्यसैले उनिहरु काठमाडौ बाट निरास भएर फर्किए । समुहका साथीहरु निरास र थकित भए पनि जंगलीले हिक्मत हारेका थिएनन । उनले आप्mना वस्तीका बडघर, सचिव र वस्तीका वासीन्दाहरुलाई आप्mनो आन्दोलन सफल हुने र एकदिन आफुहरुको माग पुराहुने कुरामा विश्वस्त पार्दै सबैलाई उत्साहित गरिरहे । बि.सं.२०३९ साल माघ २ गतेका दिन जंगली र प्रेम बहादुरको नेतृत्वमा श्रीप्रसाद, उत्तम र बेचनको टोली आप्mनो समुहलाई थातवास व्यवस्थाका लागी राजालाई बिन्तीपत्र चढाउन सुर्खेत गए । त्यो बेला राजाको सुर्खेत टुरमुकाम थियो । यो टोलीको सुर्खेत बसाई अवधिका लागी आवश्यक पर्ने खाद्यान, लत्ताकपडा र भाँडाकुडा लगायत वन्दोवस्तीका सामानहरु बोकेर ठगराम, कान्छा, अँगानु, छुनाराम र पतिराम पनि संगै गएका थिए । यसैगरी बन्दोवस्तीका सामानहरु सहित कालुराम, भोजलाल, ठग्गा, दुर्गा प्रसाद, परसियाको कालुराम, बाबुराम लगायत बिभिन्न फाँटाका बडघर र अगुवाहरु समेत यही प्रयोजनका लागी सुर्खेत पुगेका थिय । उनीहरु सबैलाई आ आप्mनो समुहको नेतृत्व गर्दै सुर्खेत पुग्न जंगली र प्रेम बहादुरले आव्हान गरेका थिए । उनीहरु मध्ये कोही तेलपानी – रानीघाटको बाटो हुँदै त कोही बबई – छिन्चुको बाटो हुँदै दुई दिन पैदल हिडेर सुर्खेत पुगेका थिए । सुर्खेतमा उनीहरु तातापानीमा बसेका थिए । राजा लाटीकोईली आउने कार्यक्रम थियो । सोही दिन बाटोमा राजालाई फुलमालाले स्वागत अभिनन्दन गर्दै बिन्तीपत्र बुझाउने कार्यक्रम तय भएको थियो । त्यो दिन राजाको लाटीकोईली सवारी हुन लाग्दा चिट्कैयाको एकजना जुम्ली आप्mना केही माग राख्दै बाटोमै पल्टियो र राजाको सवारी अवरोध गर्यो । यसपछि त्यो दिन राजाको सवारी अगाडी बढन पाएन र उनीहरुले बिन्तीपत्र चढाउन पाएनन । यसपछि पालो र मौका पर्खिदै जंगली र प्रेम बहादुरले माघको १० गते राजाको क्याम्पमा बिन्तीपत्र चढाए । त्यो बिन्तीपत्र राजाको सवारी क्याम्पमै रहेका वकीलहरुले लेखीदिएका थिए । बर्दियामा थातवासका लागी लामो समय देखी चलेको उनीहरुको आन्दोलन देखी काठमाडौ सम्म पुगेर उनीहरुले आप्mना माग पुरा गर्नका लागी गरेको भोक हडताल र तत्कालिन सरकारले उनीहरुको समस्या समाधानका लागी तत्कालिन बनमन्त्री समेत उनीहरुका घरकुरीया बसेका माँचडका फाँटामा पुगी यथास्थिती समेत देखी सकेकाले उनीहरुको अभियान र आन्दोलन त्यो बेला राष्ट्रिय रुपमै चर्चित थियो । त्यसैले उनीहरुको बिन्तीपत्र र समस्याका बारेमा त्यो टुरमुकाममा राजालाई राम्रोसंग ब्रिफीङ्ग गरिएको हुन पर्दछ ।
यसैले यो विन्तीपत्र मार्फत बर्दियाली थारुहरुको समस्याको बारेमा जानकारी पाएका राजाले तत्कालै रेडियो नेपाल मार्फत बर्दियाका थारुहरुलाई उचित स्थानमा जग्गा दिएर बसोवास गराउनु भनी हुकुम प्रमाङ्गीको आदेश दिए । राजाको यो आदेश पछि तातापानीमा बसेको जंगली लगायतको टोली खुशीमा रमायो । उनीहरुले एकापसमा खुसी साँटासाट गरे । उनीहरुले तीलपुर, जोगीगाउ लगायतका थारु गाउहरुमा पसेर जाँड र माछा किने । एक रुपियाँमा एक बोतल जाँड पाईन्थ्यो । आप्mनो माग सम्बोधन भएको खुसीयालीमा जाँड र माछा खाँदै बर्दिया फर्केर आप्mना वस्तीहरु व्यवस्थित गर्ने सल्लाह गरे । राजालाई बिन्तीपत्र चढाएर राजा बाट माग सम्बोधन भएको सात दिन सम्म सुर्खेत बसेको जंगली र प्रेम बहादुरको टोली बर्दिया फर्कियो । उनीहरु बर्दिया पुग्नु भन्दा पहिले नै उनीहरुका घरकुरीया भएका ठाउँहरुमा सरकारी टोली पुगी उनीहरुको लगत संकलन गरी रहेको थियो । लगत संकलन पछि सरकारी टोलीले उनीहरुलाई जो जहाँ बाट आएका हुन त्यही पठाउन थाल्यो । यो क्रममा श्रीगैडामा हेलीकप्टर र सरकारी गाडीको ताँती नै लाग्ने गर्दथ्यो । हुलका हुल सरकारी मानीसहरु आउने गर्दथे । जिल्ला पञ्चायतले समन्वय गरेको थियो । यसैले जंगली समुह र सरकारी निकायका बिच जुन मानिसहरु जहाँजहाँ बाट आएका हुन सकभर त्यही ठाउँको खाली र उपयुक्त जमीनमा यि मानीसहरुलाई बसाउने सहमति भयो । सहमती अनुसार मानिसहरु आ–आप्mना ठाउँहरु तिर फर्किए ।
बि.सं.२०४० को सुरुदेखी नै बर्दिया जिल्लाका बिभिन्न ठाउँहरुमा बस्ती बसाल्नका लागी उपयुक्त जमिनको खोजी कार्य सुरु भयो । बनजंगल फडानी गर्नु नपर्ने, खेतीयोग्य र वस्ती बस्न लायकका अन्य बस्तीहरु नजीकका नेउलापुर, गुलरिया, मगरागडी, मोतीपुर र पदनाहा लगायतका क्षेत्रहरुमा यो समुहका लागी जग्गा नापजाँच गरी वस्ती बसाउने काम सुरु भयो । जंगली र प्रेम बहादुरहरुले माचडमा संकलन गरेको लगत र जिल्ला पञ्चायतले संकलन गरेको लगत लाई रुजु गर्दै त्यो लगतमा नाम समाबेस भएका नेपाली नागरिकता प्राप्त व्यक्तीलाई प्रती व्यक्ति ०–१०–० दश कठ्ठाका दरले जग्गा बितरण गरिएको थियो ।
हालको ठाकुरबाबा नगरपालीकामा पर्ने खोदाउ (राजापुर), खुलपुर, पेरहनी, सुन्दरवस्ती, गुलरिया नगरपालीकामा पर्ने बालापुर, बगही, पण्डितपुर, मृगौवा तुरन्तपुर, रामपुर बुणलदिया र बाह्रबर्दिया नगरपालिकामा पर्ने भण्डीहवा लामीदमार, कोन्ठीया, जयपुर तेदहवा, लठवा बेपत्तापुर, ठगपुर, लालपुर, झक्कीपुर, लक्ष्मनपुर, मुराहा जब्बरपुर लगायतका वस्तीहरु जंगली, प्रेम बहादुर लगायतका अगुवाहरुको थातवासका लागी गरिएकोे आन्दोलनको सुनुवाई स्वरुप राजाको हुकुम प्रमाङ्गी आदेश बाट बसालिएका वस्तीहरु हुन । यसैगरी हाल बाँसगढी नगरपालीकामा पर्ने सटेरिया दमौलीको वस्ती पनि यही समयको वस्ती हो । कालुराम थारुले माचण बाट फुटाएर ल्याएको एउटा समुह यता आई बसेको थियो । हाल त्यो बेलाको समय, परिस्थिती र संयोग अनुसार नाम राखीएका मध्ये धेरै गाउँबस्तीका ऐतिहासिक नामहरु परिवर्तन भईसकेका छन । त्यो बेला कोरीएका जमिनका साँध, सिमानाका रेखाहरु फरक परिसकेका छन । साना घरकुरीया र बुकुराहरुका स्वरुप पनि परिवर्तन भएका छन ।
बि.सं.२०४७ सालको राजनैतिक परिवर्तन पश्चात यि गाउँ वस्तीहरुमा पनि धेरै परिवर्तन आयो । नयाँ नयाँ अगुवा र नेताहरु स्थापित भए । प्रेम बहादुर थारु तत्कालिन शिवपुर गाउँ विकास समितिको उपाध्यक्ष सम्म बन्नु भयो । जनताको साझा नेताको रुपमा अगुवाई गर्न खोज्दै जंगली थारुले कुनै दलको स्पष्ट राजनिती नगरेर स्वतन्ञ उम्मेदवारका रुपमा चुनावहरु लडनु भयो । तर कुनै चुनावमा जित हाँसिल गर्न सक्नु भएन । बाह्रबर्दिया नगरपालिका वडा नं. ३ जबरपुरमा उहाँकी धर्मपत्नी चोक्टी थारु आप्mना दुई छोराहरु जगतकुमार र तुल्सी प्रसादको परिवार सहित बसिरहनु भएको छ । वि.सं.२०७३ माघ २८ गते जंगली थारुको देहवसान भईसकेको छ । समय, अवस्था र परिस्थिती संगै मानिसहरुको चेत र धारणामा समेत परिवर्त आई सककेको थियो । जंगली र प्रेम बहादुरहरुले बसालेका वस्तिमा हुर्किदै गरेका पछिल्ला पिढींका युवाहरुले उनीहरुको अघिल्लो पुस्ताका अग्रजहरुको थातवासका लागी एकोहोर लडाई लडने अग्रजहरु लाई स्थापित गर्न र उनीहरुको विरासत लाई थाम्न नसकेको जस्तो देखिन्छ । त्यसैले पनि आप्mनो समुदायको थातवास व्यवस्थाको लामो लडाई लडी राज्य बाट आप्mना माग सम्बोधन गराई एउटा दर्बिलो ईतिहास बनाउने जंगली थारु जस्ता नायकहरु दिनानुदिन ओझेल पर्दै गएका छन ।
यो आलेख जंगली थारु र प्रेमबहादुर थारुको थातवास प्राप्तीको अभियानमा लागेका र उनीहरुद्वारा बसाइएका बिभिन्न फाँटाका मानिसहरुसँग गरिएको स्थलगत भेटघाट, कुराकानी, छलफल र उनीहरुसँग गरिएको सोधपुछका आधारमा विश्लेषण गरी तयार पारिएको हो । जीवनको उत्तरार्धमा पुगीसकेका उनीहरुले उनीहरुको बस्तीबस्ती विस्तार सो सँगका घटनाहरुका बारेमा दिएको जानकारी अनुसारका तिथीमितीमा केही फरक पर्न सक्छ ।
(लेखक ग्रामीण जीवनका मौलिक कलाकौशल, संस्कृती र परम्परा तथा ऐतिहासिक घटना र परिघटनाहरुमा रुची राख्दछन् ।)