
हामीले कुमालेको चक्रमा काँचो माटोको एउटा डल्लो कसरी सुन्दर भाँडामा परिणत हुन्छ भन्ने त देखेकै छौँ । एउटा कुची र रङ्ग हातमा लिएर चित्रकारले सुन्दर चित्र कसरी बनाउँछ पनि देखेकै छौँ । त्यस्तै एउटा किसानले बीउ छरेर गोडमेल र स्याहार सुसार गरी बाली कसरी तयार गर्छ पनि देखेकै छौँ । यदि यी शिल्पकारहरूले चक्र, कुची र बालीलाई लापरबाही गरे भने तिनीहरूको उत्पादन कस्तो होला ?
हामी पनि कुनै बेला काँचो माटो जस्तै थियौँ, सही आकार दिने कुमालेको जरुरत थियो । बट्टामा कैद भएका रङ्ग थियौँ, तस्बिरको रूप दिने चित्रकारको आवश्यकता थियो । उम्रने क्षमता भएका तर ओस नपाएका बीउ थियौँ । यी सबै रूपहरू साकार हुन तब मात्र सम्भव थियो जब यी कच्चा पदार्थहरू एक दक्ष शिल्पकारका हातमा पर्थे । हामीले जिन्दगीको त्यो चुलबुले कालखण्डमा त्यस्ता पथप्रदर्शक भेटायौँ जसले गाउँघरको वातावरणमा नराम्ररी बिग्रिएका, पढाइतिर कुनै मन ध्यान नभएका, स्कुललाई टाइम पास, खेल, मनोरञ्जनको स्थल बनाउन खोज्ने हाम्रो प्रवृत्तिलाई निस्तेज पारेर असल व्यक्तित्वको विकास गर्न भरपुर योगदान गरे । ती व्यक्ति अरू कोही नभएर गणित विषयका शिक्षक ध्रुवबहादुर शाह हुन् ।
एउटा विद्यार्थीलाई गणितको माध्यमबाट कल्पनाशील बनाउन खोज्नु, खेलकुद र अतिरिक्त क्रियाकलापबाट सृजनशील बनाउन खोज्नु, पूर्वव्यावसायिक शिक्षाको माध्यमबाट भविष्यमा व्यवसायप्रतिको लगाव जगाउन खोज्नु एक जिम्मेवार शिक्षकका लागि कति कष्ट साध्य काम हो ?
टिनएज आफैमा बरालिने उमेर हो । मन स्थिर हुँदैन यस्तो बेला । यो गरूँ कि त्यो गरूँ भन्ने चञ्चलताले हरदम सताइरहेको हुन्छ । जवानीको भन्दा अगाडी र बालापनभन्दा पछाडिको यो उमेरमा व्यक्ति अत्यन्त संवेदनशील, हठी र जिद्दी स्वभावको हुन्छ । यस्तो बेला असल खराब थाहा हुँदैन । हामीलाई असल र खराब प्रस्ट चिनाउने एक जबरजस्त शिक्षक हुन् ध्रुवबहादुर शाह । व्यक्तिगत र पारिवारिक सम्बन्धको कुरालाई अलि टाढा राखेर बिचार गर्ने हो भने उनी हाम्रा गोठाला हुन् र हामी भेडा बाख्रा जस्ता थियौँ भन्दा फरक नपर्ला । एउटा विद्यार्थीलाई गणितको माध्यमबाट कल्पनाशील बनाउन खोज्नु, खेलकुद र अतिरिक्त क्रियाकलापबाट सृजनशील बनाउन खोज्नु, पूर्वव्यावसायिक शिक्षाको माध्यमबाट भविष्यमा व्यवसायप्रतिको लगाव जगाउन खोज्नु एक जिम्मेवार शिक्षकका लागि कति कष्ट साध्य काम हो ?
तर, ध्रुव सरका काँधमा आइपरेका सबै जिम्मेवारी सफल रहेको महसुस मैले गरेको छु । बरबाद हुनसक्ने कैयौँ विद्यार्थीलाई सही बाटोमा हिँडाएर, त्यो पनि कहिले सम्झाएर त कहिले हप्कीदप्की गरेर भए पनि आफ्नो काँधमा आइपरेको अभिभारालाई सफलतापूर्वक निर्वाह गरेको देखी देखी उहाँबारे केही नलेख्न पनि मेरो मनले मानेन । उहाँको भावभङ्गीमा नै यस्तो थियो कि मोटा र लामा जुँगाको घुम्टोभित्रबाट मुस्कुराइरहेका सेता दाँतहरूले रिस उठेको छ भन्ने कुनै आभास दिँदैनथे । अर्थात् रिस उठेकै भए पनि पोखिएपछि मात्रै थाहा हुन्थ्यो । उहाँको हिँडाइको गतिले भने मनोविज्ञान बुझ्न सकिन्थ्यो । हातमा सधैँ एउटा लट्ठी हुन्थ्यो तर त्यसको दुरुपयोग हुँदैनथ्यो । कहिलेकाहीँ मात्रै लट्ठीले विद्यार्थीलाई भन्थ्योस् हद कर दी आपने ।
हुन पनि कुनै विद्यार्थी त यति अनुशासनहीन थिए कि हद नै पार गर्न पछि पर्दैनथे । तिनका लागि अरू केही गर्नु पर्दैनथ्यो, ध्रुव सर उभिइदिए पुग्थ्यो । उहाँको जीउ डाल र बनावट नै यस्तो थियो कि सज्जन र मूर्ख दुवै नतमस्तक हुने । ध्रुव सर हाम्रो घरमा आउनुहुन्थ्यो, हाम्रा क्रियाकलाप नियालेर हेर्नुहुन्थ्यो । केही प्रशंसा गर्नुहुन्थ्यो, केही सम्झाउनुहुन्थ्यो । म पनि कहिलेकाहीँ सैनवार उहाँको घरमा जान्थेँ, परिवार सबै हार्दिक थिए । यो त्यति बेलै स्थापित भएको सम्बन्ध थिएन पुस्तौँदेखिको थियो । तर, पढाइको मामलामा त्यो सम्बन्धले काम गर्दैनथ्यो । हाम्रो मेहनत र क्षमताबाट हामीले उहाँको ओठका जुँगालाई विस्तारित गरेर मुस्काउने बनाउन सक्नु पर्थ्यो । यौटा कुरामा चाहिँ मलाई गर्व लाग्छ, उहाँको हातमा रहेको बेतको लट्ठी मेरा अगाडी सधैँ नतमस्तक थियो, लज्जित थियो र भन्थ्योस् स्याबास!
तन, मन र मस्तिष्कको संयोजन बिना लथालिङ्ग तरिकाले बाँचिरहेको हाम्रो जीवनभन्दा पर पनि एउटा जीवन छ जसलाई भोग्नु कष्ट साध्य छ तर त्यसले नै जीवनलाई वास्तविक जीवनजस्तो बनाइदिन्छ भन्ने भावना उहाँमा थियो । त्यसै कारणले शारीरिक शिक्षा, सिर्जनात्मक अतिरिक्त क्रियाकलाप, खेलकुद जस्ता गतिविधिहरू उहाँको जिम्मेवारीमा पर्थे ।
ध्रुव सरले पारिवारिक रूपमा अरू थुप्रै पेसा व्यवसायको विकल्प हुँदाहुँदै पनि शिक्षण पेसा रोज्नुभयो । यो उहाँको सोख थियो कि के थियो थाहा भएन, हाम्रा लागि भने एक वरदान थियो । त्यस्तो वरदान जुन हातमा परेपछि अपरिपक्व मानिस परिपक्व हुन्थ्यो । काँचो माटोले भाँडाको रूप धारण गर्थ्यो, रङ्ग सुन्दर चित्रमा परिणत हुन्थ्यो । जीवनमा बाँच्नुको अर्थ थपिन्थ्यो । अतिरिक्त क्रियाकलापमा उहाँको प्रोत्साहनले के झल्काउँथ्यो भने जसलाई हामी जीवन भन्छौँ त्यो बाहेकको अर्को अतिरिक्त जीवन पनि छ है । तन, मन र मस्तिष्कको संयोजन बिना लथालिङ्ग तरिकाले बाँचिरहेको हाम्रो जीवनभन्दा पर पनि एउटा जीवन छ जसलाई भोग्नु कष्ट साध्य छ तर त्यसले नै जीवनलाई वास्तविक जीवनजस्तो बनाइदिन्छ भन्ने भावना उहाँमा थियो । त्यसै कारणले शारीरिक शिक्षा, सिर्जनात्मक अतिरिक्त क्रियाकलाप, खेलकुद जस्ता गतिविधिहरू उहाँको जिम्मेवारीमा पर्थे ।
विद्यालयमा हुने जिल्ला स्तरीय क्रियाकलापहरू, रनिङ्गशिल्ड र टुर्नामेन्टको माहौल बिग्रन लाग्यो भने नियन्त्रणमा लिन सक्ने क्षमता उहाँले देखाउनुहुन्थ्यो । उहाँले जतिसुकै जिम्मेवारी लिए पनि विद्यालय व्यवस्थापनको असल सहयोगी, विद्यार्थीको असल सुपरभाइजर र अभिभावकहरूको असल भरोसाको रूपमा भूमिका निर्वाह गर्नुभयो । मैले ध्रुव सरलाई जिम्मेवारीको नमुना यस कारण पनि भनेँ कि शिक्षणसहित विद्यालयले सुम्पेका हर जिम्मेवारीलाई उहाँले कुशलतापूर्वक निर्वाह गर्नुभयो ।
आफ्नो कुनै चेलाचेली बिरामी भएर अस्पतालमा छ भन्ने कुरा सुन्नै हुँदैन, टुप्लुक्क पुग्नुहुन्छ र ढाडस दिनुहुन्छ । जीवनप्रतिको आशा जगाउनुहुन्छ । बिरामीले रिलिफ महसुस गर्छ । बिरामीले आफ्नो पिताको झल्को मेटाउँछ ।
आज त्यो स्कुलमा हामीले रोपेको सिसौको बगैँचा छैन होला, तरकारीका क्यारी छैनन् होला, युक्लिप्टसका रूख छैनन् होला नत्र तिनले देखाउने थिए ध्रुव सरको जिम्मेवारी । सरस्वतीको मन्दिर छ होला, त्यसले देख्यो स्कुलको सरसफाइ र ध्रुव सरको खटाइ, हरेक शुक्रवार बालबालिकाका साथमा । सिमलको बूढो रूख साक्षी छ ध्रुव सरले निभाएको जिम्मेवारी देख्ने । त्यसको वाक्य फुटेको हुन्थ्यो त उसैले धेरै कुरा भन्थ्यो । मैले लेखिरहनु पर्दैनथ्यो ।
ध्रुव सरको सक्रियता निवृत्त जीवनमा पनि उत्तिकै देखेको छु । काठमाडौँमा चुरे पूर्व विद्यार्थी परिवारको कार्यक्रममा होस् वा बगनाहामा । समय जुरेको बेला बोलाएको ठाउँमा उपस्थित भएर हौसला बढाउने स्वतःस्फूर्त जिम्मेवारीमा हुनुहुन्छ उहाँ ।
आफ्नो कुनै चेलाचेली बिरामी भएर अस्पतालमा छ भन्ने कुरा सुन्नै हुँदैन, टुप्लुक्क पुग्नुहुन्छ र ढाडस दिनुहुन्छ । जीवनप्रतिको आशा जगाउनुहुन्छ । बिरामीले रिलिफ महसुस गर्छ । बिरामीले आफ्नो पिताको झल्को मेटाउँछ । स्वयम् मैले नै यस्तो महसुस गरेको छु, गङ्गालाल हृदय केन्द्रको शैयामा । कक्षा ७ को गणित र पूर्वव्यावसायिक शिक्षामा मात्र उहाँसँग साक्षात्कार भएको मैले त यतिका सम्झना सँगालेको छु भने कक्षा १ देखि नै उहाँको ताताथैया पाएर हुर्केकाहरूका मनमा सम्झनाका छालहरू कति उर्लिँदा हुन् ?