onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

नरहरि बजगाईँ: हरि धारण गरेका नर

Sambad ADD long

जन्म मिति : विक्रम संवत् १९९९।०८।१५ गते
चुरे माध्यमिक विद्यालयमा सेवा काल : विक्रम संवत् २०३८ देखि २०५७ सम्म
स्वर्गारोहण : विक्रम संवत् २०८०।०५।०७ गते 

कोही कसैले झुटो बोल्यो, हुँदै नभएको कुरा गर्‍यो भने रिस उठ्छ र हामी तुरुन्तै भन्छौँ, “तेरो मनमा हरि छन् भने जे हो त्यही बोल् ।” धेरै मानिसहरू सत्य र असत्यको बिचमा हरिलाई निम्ता गर्छन् । सङ्कट र कुनै प्रलयको बेलामा हरिको पुकारा गर्छन् । मृत्युशय्यामा पुगेको मानिसलाई हरि नाम जप्न लगाउँछन् । भुँइचालोको बेला भयले त्रसित हुँदा नारायण हरि हरि आफसे आफ मुखमा आउँछ ।

वास्तवमा यो हरि भनेको के हो ? हरिको अर्थ हुन्छ हरण गर्ने अर्थात् उद्धार गर्ने । पृथ्वीकायावत् सङ्कटबाट उद्धार गर्ने हरिको रूपमा विष्णु भगवानलाई माने पनि वास्तवमा हरि रूप ब्रह्मा, विष्णु र महेश्वरको समुच्चा रूप हो । अर्थात् सृष्टि, स्थिति र लय भन्नोस् या जन्म, पालन र संहारको कुरा गर्नुस् यी सबैसँग जोडिन्छन् हरि । यसर्थ सारा देवदेवीको एउटै नाम लिनु पर्‍यो भने मुखबाट निस्कन्छ हरि हरि…।

शैशवकलामा क, ख चिन्नु आफैमा एउटा सङ्कट हो । भर्खर बोली फुटेको बच्चाले कथ्य भाषामा धेरै कुरा बोल्छ । खानेकुराहरू पापा, चिची, नाना जस्ता वस्तुहरू एवम् नाताहरू बाबा, आमा, मामा, दादा जस्ता शब्दहरू ऊ राम्ररी बोल्न थाल्छ । तर पापाको पा कस्तो हुन्छ, चिचीको दुइटा चि र ची कसरी भिन्न हुन्छन् भन्ने कुरा उसलाई थाहा हुँदैन । उसलाई यो भन्दा अघि मैले अकार जान्नुपर्छ र अ उ म मिलेर बनेको ॐ मा हरिको बास हुन्छ भन्ने पनि थाहा हुँदैन । यो सब सङ्कटबाट त्राण पाउन उसलाई एक जना हरिको आवश्यकता पर्छ र त्यो हरि मानवकै रूपमा उपस्थित हुनुपर्छ अर्थात् नरहरि ।

चूरे माध्यमिक विद्यालयका एक कक्षामा भर्ना हुने शिशुहरूका नरहरि अर्थात् नरहरि बजगाईँको स्मरण हो यो । सधैँ दौरा सुरुवाल, कोट र टोपीमा एउटा हातमा मसिनो लट्ठी लिएर ती चिचिला बालबालिकालाई अक्षर र शब्दको बोध गराउने, शब्द र वाक्यको महत्त्व दर्साउने, भाषा र व्याकरणका शैली सिकाउने अझ भनौँ बालबालिकाको जिब्रोमा भाषा प्रस्फुटित गराउने जिम्मा लिएका नरहरि बजगाईँ । स्कुल सिक्ने थलो हो भन्ने आभास दिलाउने, जीवनका जस्तै सङ्कटको पनि मुक्ति क्षेत्र स्कूल हो भन्ने ज्ञान भर्ने नरहरि बजगाईँ सर वास्तवमै जीवनको प्रारम्भिक कालका सङ्कट मोचक थिए । तसर्थ उनी बालबालिकाका लागि नर रुपी हरि थिए अर्थात् नरहरि ।

मैले चुरेमा ७ कक्षामा पढ्दा उहाँ प्रा.वि.मा पढाउनुहुन्थ्यो । उहाँको नाम कमैलाई थाहा थियो । उहाँको प्रख्यात नाम थियो: गुरु सर । पण्डित्याइँ गर्ने, पूजापाठमा भगवान्को आस्थामा विशेष ध्यान दिने र बालबालिकालाई असल अभिभावकको अनुभूति गराउने उहाँ साँच्चिकै नरहरि हुनहुन्थ्यो । तर उहाँको प्रख्यात उपमा थियो: गुरु सर । स्कुलमा हुने सरस्वती पूजा लगायतका पूजापाठमा उहाँको सक्रियता देखिन्थ्यो ।

नम्र स्वभाव, अग्लो कद, मसिनो शरीर र मित भाषी उहाँका विशेषता थिए । लामा लामा गोडाले पाइला चाल्दा हात्ती लम्के झैँ लाग्थ्यो । टाढैबाट अग्लो कद देखिँदा नचिन्ने कोही हुँदैनथ्यो । उहाँले पढाएका शिक्षार्थीहरूको कुरा सुन्दा उहाँ बालबालिकाका हरि नै हुनुहुन्थ्यो, साक्षात् हरि । नाम मात्रले हैन, मनभित्रै हरि भएका हरि अर्थात् मान्छे रुपी हरि नरहरि ।

म उहाँबारे धेरै कुरा लेख्न सक्ने स्थितिमा छैन किनभने मैले धेरै निकटबाट बुझ्न पाइन । तर उहाँ टाढा र नजिक जताबाट बुझे पनि एकै बुझाइमा पर्ने हरि हुनुहुन्थ्यो । चुरेमा रहेका नरहरूलाई कहिलेकाहीँ बाटो बिराउँदा वा कसैले अजम्मरी छु भन्ने दम्भ दुर्भाव देखायो भने नरहरूमा पनि हरि छन् है भनेर सम्झाउने सचेतक हुनुहुन्थ्यो, हरि प्रति समर्पित उहाँको जीवनशैलीका कारण । ब्राह्मणहरू थर या उपमाले ब्राह्मण हुँदैनन्, स्वयम् ब्रह्मको आचरणमा बस्ने मात्रै ब्राह्मण हुन सक्छन् भन्ने शिक्षा उहाँका जीवनबाट प्राप्त हुन्थ्यो ।

मानिस जतिसुकै धर्मका आधारमा आफूलाई विशिष्ट देखाओस्, कर्म त्यो अनुरूपको छैन भने सिङ पुच्छर नभएको पशु हो भन्ने शिक्षा कुनै गुरुले दिनु पर्थ्यो, त्यो ज्ञान गुरु सरले दिनु भयो अर्थात् नरहरि सरले ।

Leave A Reply

Your email address will not be published.