onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

आउँदो वर्ष नेपालको आर्थिक वृद्धि ५ प्रतिशत पुग्ने विश्व बैङ्कको अनुमान

Sambad ADD long

काठमाण्डाै : विश्व बैङ्कले आउँदो आर्थिक वर्षमा धेरै देशको आर्थिक वृद्धि सुस्त हुने भए पनि नेपालको वृद्धिदर पाँच प्रतिशत पुग्ने अनुमान गरेको छ । विश्व बैङ्कले सार्वजनिक गरेको विश्वव्यापी आर्थिक सम्भावनाहरूको प्रतिवेदनअनुसार आउँदो आर्थिक वर्षमा नेपालमा पाँच प्रतिशतको आर्थिक वृद्धि रहने उल्लेख छ ।

विशेष गरेर नेपालको जलविद्युत् क्षेत्रमा भइरहेको लगानीका कारण आर्थिक गतिविधि र आर्थिक वृद्धिमा टेवा पुग्ने प्रतिवेदनमा उल्लेख छ । आयोजना निर्माणबाट हुने रोजगारी, त्यहाँ खपत हुने सामग्री र उत्पादनपछिको सहज बिजुली आपूर्तिले गर्दा अर्थतन्त्र चलायमान बनाउने देखिएको हो । चालु आर्थिक वर्षमा भने नेपालको आर्थिक वृद्धि तीन दशमलव नौ प्रतिशत विश्व बैङ्कको अनुमान छ । गएको आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर एक दशमलव नौ प्रतिशतमा सीमित भएको थियो ।

यस्तै यो अङ्ग्रेजी वर्ष सन् २०२४ मा विश्वव्यापी आर्थिक वृद्धि घट्ने विश्व बैङ्कको प्रक्षेपण छ । सन् २०२३ मा दुई दशमलव छ प्रतिशत रहेको विश्वव्यापी आर्थिक वृद्धि सन् २०२४ मा दुई दशमलव चार प्रतिशत रहने देखिएको हो । यस्तै सन् २०२५ मा दुई दशमलव सात प्रतिशत वृद्धि हुने अनुमान छ ।

कोरोना महामारीपछि निरन्तर दबाबमा रहेको विश्वको अर्थतन्त्रमा अहिले पनि मन्दी देखिएको र यसले अति कम विकसित र विकासशील देशमा धेरै असर गर्ने पनि विश्व बैङ्कले चेतावनी दिएको छ ।

Leave A Reply

Your email address will not be published.