onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

सरस्वती माध्यमिक विद्यालयको ५१औँ वार्षिक उत्सव सम्पन्न

Sambad ADD long

जयनगर, बर्दिया : बारबर्दिया नगरपालिका–१, जमुनीयामा रहेको सरस्वती माध्यमिक विद्यालयले ५१औँ वार्षिक उत्सव मनाएको छ । २०२९ फाल्गुन १५ गते स्थापना भएको सरस्वती माध्यमिक विद्यालयले मङ्गलवार ५१ वर्ष पुगेको अवसरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी ५१औँ वार्षिक उत्सव मनाएको हो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुमारप्रसाद सापकोटाले विद्यालयको वार्षिक गतिविधि र आगामी वर्षका रणनीति प्रस्तुत गर्नुभएको छ । विद्यालयको ५१औँ वार्षिकोत्सवको अवसरमा वृहत् रक्तदान एवम् आँखा शिविर कार्यक्रमको समेत आयोजना गरिएको छ । ‘रक्तदान जीवनदान’ भन्ने मूल नारासहित वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिएको वृहत् रक्तदान कार्यक्रममा ५१ जनाले रगत दान गर्नुभएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा बर्दियाका अध्यक्ष एवम् केन्द्रीय सदस्य प्रेमप्रसाद लम्सालका अनुसार ५१ जना रक्तदाता मध्ये ३१ जना नयाँ व्यक्तिहरूले रक्तदान गरेका हुन् । नेपाल स्वयंसेवी रक्तदाता समाज बारबर्दियाका अध्यक्ष गंगाराम पाठक र नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा बर्दियाका अध्यक्ष प्रेम प्रसाद लम्सालले रक्तदानको महत्त्व विषयमा प्रस्ट पार्नुभएको छ ।

वार्षिकोत्सवको अवसरमा आयोजित आँखा शिविरमा २ सय २९ जनाको आँखा परीक्षण गरिएको छ । दुई सय २९ जनाको परीक्षण गर्दा ४९ जनामा मोतिविन्दुको समस्या देखिएको विद्यालयका प्रधानाध्यापक कुमार प्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार रक्तदान कार्यक्रममा सह-आयोजकको रूपमा नेपाल स्वयंसेवी रक्तदाता समाज बारबर्दिया रहेको थियो भने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाले प्राविधिक सहयोग गरेको थियो । विद्यालयले विभिन्न सांस्कृतिक कार्यक्रमका साथ भव्य र सभ्य रूपमा वार्षिकोत्सव सम्पन्न गरेको प्रधानाध्यापक सापकोटाले बताउनुभयो । बारबर्दिया नगरपालिका उपप्रमुख रत्ना कुमारी पाण्डेको प्रमुख आतिथ्ययता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तराम थारुको अध्यक्षतामा सम्पन्न वार्षिक उत्सव कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष कैलाशपति थारुको विशेष आतिथ्ययता रहेको थियो ।

झन्डै ५ सय बढी अभिभावकहरूको सहभागिता रहेको कार्यक्रममा सरस्वती माध्यमिक विद्यालयलाई स्मार्ट विद्यालयको रूपमा विकास गर्ने कुराहरूमा वक्ताहरूले जोड दिएका छन् ।

Leave A Reply

Your email address will not be published.