दाजुभाई र दिदिबहिनी अर्थात् माइती र चेली बिचको प्रेम सद्भाव, आत्मियता अक्षुण्ण राख्ने नेपालीको मौलिक पर्व हरितालिका तीजको सबैमा धेरै धेरै शुभकामना ।
आफ्ना दुःख पिडाहरूलाई गीतको माध्यमबाट अभिव्यक्त गर्ने स्वतन्त्रता पाएको दिन हो तीज । भावनात्मक हिसाबले तीज प्रेम र समर्पणको पर्व हो । निश्वार्थ र त्यागमय प्रेमको सन्देश दिने पर्व हो तीज । पहिले नेपाली महिलाहरू आत्मनिर्भर तथा स्वावलम्बी नभएका हुँदा एकदिन भए पनि मीठो–मसिनो खुवाउन माइती पक्षकाहरू लामो समय देखि दरको जोहोमा जुट्थे भने चेलीबेटीहरू पनि महिनौं अगाडि देखि पर्खेर बस्थे । त्यही दिनलाई उनीहरू आफ्नो दुःख पिडा पोख्ने र स्वतन्त्ररूपले रमाउने दिनका रूपमा उपभोग गर्थे ।
सासूले खटाउने संस्कारबाट आएका नेपाली महिलाले एकै दिन भए पनि राम्रो लाउने, मीठो खाने, स्वतन्त्र हुने अनि मनका दुःखेसो खोल्दै धक फुकाएर नाचगान गर्ने मौका पाउने भएकाले यसको पर्खाइमा महिलारू व्यग्र हुन्थे । गीतबाटै पिर व्यथा पोख्ने यो पर्वमा पहिला विद्युतीय उपकरण र साधन थिएन अनि महिलाहरू समूहमा भेला भई गीत गाउने चलन थियो भने अहिले सञ्चार माध्यममा विभिन्न गीत र नृत्य गुञ्जिन थालेका छन् । तीजका गीतमा छोराछोरी बीचको विभेद, पीडा, सासूबुहारीको कचकच, दुःख, ईश्र्या आदि विषय समावेश हुन्थे तर अब समय बद्लिएको छ , तीजपर्व महिला सशक्तीकरण र महिलाको सम्मान गर्ने सन्देश बोकेर घन्किँदै छन् । महिलाहरूलाई जागरुक बनाउँदै सासू बुहारी, नन्द–अमाजु बिचको घरायसी खिचातानीबाट माथि उठेर महिला हक, अधिकारका भावना गुन्जिन थालेका छन् ।
अहिले महिलाहरू घरायसी काममा मात्रै हैन सामाजिक, आर्थिक, राजनीतिक लगायत हरेक क्षेत्रमा सहभागी छन् । महिलाहरू आत्मनिर्भर बन्दै गएका कारण मिठो मसिनो खान र राम्रो लगाउन चाडपर्व नै कुर्नु पर्ने बाध्यताबाट माथि उठिसकेको अवस्था छ । महिलाहरू आत्मनिर्भर हुँदै जानु र यातायात, सञ्चार सामाजिक सञ्जालको विकासले टाढा टाढा भएकासंग पनि आफ्ना दुःखसुखका भावना साट्न चाडपर्वनै कुरिराख्नु पर्दैन । त्यसैले समयको परिवर्तन संगै हामीले भावना अभिव्यक्ति गर्ने स्वतन्त्रता पाएको यो पर्व तीजलाई र धर्म र परम्परामा भएका कतिपय कुरिति, कुसंस्कारलाई हटाउँदै धर्म संस्कृतिमा भएका असल पहिचान मुलक विचारलाई अगाडि बढाउँदै समाजलाई एकतामा बाँध्न अब हिन्दु नारी मात्रै हैन सबै बर्ग समुदायका नारी पुरूष समभावमा दुःखसुख साटासाट गरी यो पर्व मनाउने क्रम बढ्दै छ ।
नेपाली महिलाले मात्रै मनाउने हाम्रो मौलिक पर्व तीज पारिवारिक जमघटमा मात्र नभई सामाजिक राजनैतिक तथा संस्थागत रूपमा समेत आयोजना गरेर मनाउन थालिएको छ । महिलाहरू घरायसी काममा मात्रै सिमित नरहेको आजको परिवेशमा धेरै दिदिबहिनी एकैठाउँ जम्मा हुन, खानपिन गर्न, घरमा समय, ठाउँ नहुँदा सवै मिलेर खुला स्थान भएका होटलमा मनाउन थालिएको छ । जसलाई विकृतिको रूपमा पनि व्याख्या गरेको पाइन्छ । धेरै तडकभडकका साथ मनाउनु अवश्य विकृति हो तर सामान्य खर्चमा धेरै दिदिबहिनी एकैठाउँ जम्मा भएर चुलोचौको र घरायसी कामबाट मुक्त भई ढुक्कसंग तीज मनाउनु आजको आवश्यकता हो ।
हाम्रो मौलिक पर्व तीजमा जसरी हरेक महिलालाई सम्मान गरिन्छ । त्यसैगरी अब हाम्रा छोरी, दिदिबहिनी, आमाले सम्मान र सुरक्षित साथ बाँच्न पाउन । छोरी चेलि बोझ हैनन् हरेक घरका खुशी हुन् । त्यसैले घर, परिवार समाज हु्ँदै राज्यका हरेक संरचनामा महिलाहरूको समान सहभागितालाई व्यवहारिक रूपमा कार्यान्वयन गराउन, समाजमा अग्रणी भुमिका खेल्न, विसंगति र विकृतिका विरूद्ध आवाज उठाउन, महिला हक अधिकारबारे सुसूचित पार्न र हरेक महिलालाई दक्ष बनाउन सन्देश फैलाउन सकौँ ।
फेरि पनि धार्मिक, सामाजिक, सांस्कृतिक र पारिवारिक सद्भाव बोकेको यो हरितालिका तीजले सबैमा सुख शान्ति समृद्धि छाओस धेरैधेरै शुभकामना ।
प्रकाशित लेखमा समावेश भएका विचारहरु लेखकका ब्यक्तिगत विचारहरु हुन् । – सम्पादक