onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बढैयातालको बजारमा अनुगमन, २१ हजार बढीको सामान जफत गरी नष्ट

Sambad ADD long

बर्दिया : हुलाकी राजमार्ग अन्तरगत पर्ने बढैयाताल गाउँपालिकाका विभिन्न बजारहरुमा अनुगमन गरि म्याद गुज्रिएका सामानहरु नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालय, बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय – नेपालगञ्ज, बढैयाताल गाउँपालिका, घरेलु तथा साना उद्योग कार्यालय, प्रहरी र बजार ब्यवस्थापन समितिको संयुक्त टोलीले आज बुधबार बजार अनुगमन गरेको हो ।

अनुगमनका क्रममा मासु पसल, होटल, किराना पसल, मदिरा पसल लगायत १२ वटा पसलरब्यवसायहरुमा अनुगमन गर्दा २१ हजार ३०० रुपैयाँ मूल्य बाराबरको म्याद गुज्रिएका सामाग्रीहरु जफत गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी रमेश पाण्डेयले जानकारी दिनुभयो ।

संयुक्त अनुगमन टोलीले बजारको अनुगमन पछि सबैले देख्ने स्थानमा मूल्यसूची राख्न, म्याद गुज्रिएका सामानहरु बिक्री नगर्न, बिल बिजक दुरुस्त राख्न, सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिनुका साथै सात दिन भित्र पसलरब्यवसाय सुधार गर्न सचेत गराएको छ ।

स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि कडाइ सुरु गरेको छ । यस अधि हिजो मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयको नेतृत्वमा पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने ठाकुरबाबा नगरपालिका र बाँसगढी नगरपालिकाको बजारमा अनुगमन गरि ब्यवसायीहरुलाई १९ हजार रुपैयाँ जरिवाना तथा ७ हजार ४४० रुपैयाँ मूल्य बाराबरको म्याद गुज्रिएका सामाग्रीहरु जफत गरी नष्ट गरिएको थियो ,

यस्तै सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेय साउन २५ गते गुलरिया नगरपालिका र मधुवन नगरपालिकाको बिभिन्न बजारहरुमा अनुगमन गरी २५ हजार १९९ रुपैयाँ मूल्य बाराबरको म्याद गुज्रिएका सामाग्रीहरु नष्ट गर्नुका साथै ब्यवसायीहरुलाई कैफियतका आधारमा ९२ हजार रुपैयाँ जरिवाना गरिएको थियो । चाडपर्व नजिकिए संगै बर्दियाका नगर र गाउँपालिकाका विभिन्न स्थानका बजारमा छड्के अनुगमनलाई तीव्र पारिएको छ ।

Leave A Reply

Your email address will not be published.