भुरीगाउँ, बर्दिया : सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा असोज ११ गते मंगलबार पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने ठाकुरबाबा नगरपालिका र बाँसगढी नगरपालिकामा बजार अनुगमन गरिएको छ ।
बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयको नेतृत्वमा उपभोक्ता संरक्षण कार्यालय – नेपालगञ्ज, एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, ठाकुरबाबा र बाँसगढी नगरपालिकाको कार्यालय, प्रहरी, राष्ट्रिय उपभोक्ता मञ्च र उद्योग बाणिज्य संघको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।
अनुगमनका क्रममा मासु पसल, होटल, किराना पसल तथा गोदामहरु, मदिरा पसल लगायत २१ वटा ब्यवसायहरुमा अनुगमन गर्दा ठाकुरबाबा नगरपालिका भित्र संचालनमा रहेको क्याफे १, होटल एण्ड लज ३, सपिङ्ग सेन्टर १ र किराना पसल १ वटा गरी ६ वटा ब्यवसायीहरुलाई १९ हजार रुपैयाँ जरिवाना गरिएको सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयले जानकारी दिनुभयो । दुई वटा पसलहरुबाट ७ हजार ४४० रुपैयाँ मूल्य बाराबरको म्याद गुज्रिएका सामाग्रीहरु जफत गरी नष्ट गरिएको छ ।
संयुक्त अनुगमन टोलीले बजारको अनुगमन पछि सबैले देख्ने स्थानमा मूल्यसूची राख्न, म्याद गुज्रिएका सामानहरु बिक्री नगर्न, बिल बिजक दुरुस्त राख्न, होटल तथा रेष्टुरेण्टमा बासी खाना हटाउन, अनुज्ञापत्र दिन र खसी तथा कुखुराको मासुहरु अलग अलग राखेर बिक्री गर्न तथा सरसफाइमा ध्यान दिन निर्देशन दिनुका साथै सात दिन भित्र पसल/ब्यवसाय सुधार गर्न सचेत गराएको छ ।
स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि कडाइ सुरु गरेको छ । बर्दियामाका नगर र गाउँपालिकाका विभिन्न स्थानका बजारमा छड्के अनुगमनलाई तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय, बर्दियाले जनाएको छ ।