online-aama-surachhya-sandesh

बस्ती भित्रको कथा [कविता]

Sambad ADD long

उसले
जहानियाँ शासनको विरुद्धमा
आउ भन्यो
प्रजातन्त्रको पक्षमा हो भन्यो
म डोको नाम्लो फालेर आएँ
जोत्दै गरेको मेलो छोडेर आएँ
दौडिएर आएँ,
सडकमा आएँ
भोको पेट र नाङ्गै खुट्टा लिएर आएँ,
राणाहरुको विरुद्धमा
चर्का चर्का नारा लगाएँ
नारा लगाउदै गर्दा ,
मैले
सानी छोरीको फाटेको जामा सम्झिएँ
सानो भुन्टेको मैलो भोटो सम्झिएँ
दुई जिउकी उजेलिको,
फाटेको गुन्यु सम्झिएँ ।
देशमा प्रजातन्त्र आयो
हर्षोल्लास छायो
सरकार बदलियो
मन्त्री बद्लिए
कार्यालयका हाकिम, बडाहाकिम बद्लिए
तर
बद्लिएन सामाजिक विभेद,
न सानीको फाटेको जामा बद्लियो
न भुन्टेको मैलो भोटो बद्लियो
न उजेलीको फाटेको गुन्यु बद्लियो
उस्तै छन्
भोका पेट र नाङ्गा खुट्टा ।

मैले सोचेँ
तिमिले ढाँट्याै…
समय बद्लिदै गयो
उ फेरि आयाे
हामिले त गर्न खोजेकै हो
पन्चायतले गर्न दिएन भन्यो
एकदलीय ब्यबस्थाले बिकास भएन
भन्यो
अब सबै जाग्नु पर्छ
अब सबै उठ्नु पर्छ,
मैले घरको चुहिने छानो हेरे
रित्तो भकारो हेरे
बैँस मै चाउरिएका उजेलीका गाला हेरेँ
यतिका वर्ष भयो
कहिल्यै राम्रो लाएकी होईन
कहिल्यै मीठो खाना पाएकी होईन
न गलिलो बास छ
न मीठो गाँस छ
अब त केही हुन्छ्की भन्ने आशाले
पन्चायत बिरोधी आन्दोलनमा
लोकतन्त्रको पक्षमा
नारा घन्काउदै
क्रान्तिको बिगुल फुक्दै गर्दा
धरपकड भयो
गोलि चल्यो
भुन्टे पनि सहिद भयो ।
घरको सहारा सडकमा ढल्दा
बुहारी सेतिको सिउदो पखालिदा,
उजेलिका आशुले
चाउरिएका गाला छिचोल्दै
जमिन भिज्यो,
उ आयो
मलिन थियो उसको मुहार
तर
उस्तै जोश
उत्तिकै आशाबादी
सम्झाउन थाल्यो,
अब
छिट्टै लोकतन्त्र आउँछ
हजुरको सहारा हामी बन्छौ भन्यो
तर पनि
उजेलिका आँखा ओभाउन सकेनन ।

केही दिनको आन्दोलन पछि
पन्चायत ढल्यो
बहुदलीय ब्यबस्था आयो
चारै तिर बाजागाजा नाचगान भयो
बिजयको जुलुस भयो
ब्यबस्था बद्लियो
राजाका अधिकार सिमित भयो
आन्दोलनकारी नेता
मन्त्री प्रधानमन्त्री भए
सहारा बन्छौँ भन्नेहरु
फर्किएर आएनन
न चुहिने छानो टालियो
न भकारो भरियो
उजेलिका आँखा कहिल्यै ओभाएनन्
सेतिको मुहारमा कहिल्यै मुस्कान आएन ।

मैले सोँचे
तिमिले फेरि ढाँट्यौ !
एक दिन उनिहरु आए
समाजबाद र साम्यबादका कुरा गरे
जग्गा कस्को जोत्नेको
घरको कस्को पोत्नेको,
यस्तै यस्तै नाराहरुले
भित्ताहरु रङ्गिए
गरिबको पनि दिन आउँछ
छाना माना र नानाका लागि
अधुरो क्रान्ती पूरा गर्छौँ
राजतन्त्रको अन्त्य गरि
बिकासको मुल फुटाउछौ
हो,
कल्कलाउदो नाति फुरुङ्ग भयो
न रोक्दा रोकियो
न छेक्दा छेकियो,
बा को सपना पूरा गर्छु
उज्यालो बिहान ल्याउँछु भन्यो
घरको दियो थियो
लालसलाम!
भनेर निस्कियो ।

हरेक दिन समाचार आउँदा
मरेका मान्छेको गन्ती सुन्दा
उजाड गाउँका बस्ती
सुनसान सडक
बारुदका धुँवाले शहर भरिँदा
जलेका कार्यालय
भत्किएका ब्यारेकहरु देख्दा
रोदन र कोलाहलका
कथाहरु लेख्दा
उसकै कलिलो अनुहार
झल्यास आउने,
हरेक दिन
भेटिएका मान्छेहरुलाई
उसकै खबर सोध्न मन लाग्ने
मात्र
उसकै खबर सुन्न मन लाग्ने,
जनताहरु जुर्मुराए
एक पटक फेरि
पुरै देश उठ्यो
शान्तिपूर्ण क्रान्ती भयो
आन्दोलनले सफलता पायो
राजाले दरबार छोडेर नागार्जुन लागे
राजतन्त्रको अन्त्य भयो
गणतन्त्रको प्रकाशमा
चुहिने छाना बदल्ने आश
बसेको जग्गाको पुर्जा पाउने आश
दुई छाक मीठो खाने आश
आङ्ग ढाक्ने गरि लगाउने आश
आशै आशमा
दिनहरु गुज्रिदैछन्

शक्ति क्षीण भएका हातहरु
हर क्षण कापी रहन्छन्
गलेका खुट्टहरु
गतिलो गरि थामिदैनन्
तर पनि
उज्यालो दिनको पर्खाइमा
आशाहरु जिवित छन् ।

Leave A Reply

Your email address will not be published.