
उ
उ मेरो हितैषी मान्छे
तर पनि,
आक्कल झुक्कल मात्र
म सङ्ग भेट हुन्छ ।
उ मलाई नमस्कार ट्क्र्याउछ,
म पनि नमस्कार गर्छु ।
म सन्चो-बिसन्चो सोध्छु
उ औपचारिकता मै
रेडिमेट उत्तर दिन्छ… ठिक छ ।
उ
मलाई मन पर्छ
असाध्यै मन पर्छ
किन कि
म ठान्छु,
उ शहरमा बसेर पढेलेखेको छ
यो सामाजलाई चिनेको छ
परिवेशलाई महशुस गरेको छ
अहिलेको राजनिती बुझ्दछ ।
लोभलाग्दो उसको शरीर छ
जवान छ रिष्ठपुष्ठ छ ।
तर
उ,
मलाई मन पराउँदैन
पटक्कै मन पराउँदैन
मान्छे मन नपरेपछी
उसको बोली मन पर्दैन
श्वास गन्हाउन थाल्छ
राम्रै भने पनि
नराम्रो लाग्न थाल्छ
सल्लाह पनि गाली लाग्छ
अमृत दिए पनि
बिष झै लाग्छ भन्थे
हो रहेछ,
उ मलाई पटक्कै मन पराउँदैन
मन पराओस पनि किन
म उसलाई
सत्यको मार्गमा हिँड भन्छु
तर उ
असत्यको मार्ग छोड्न चाहन्न ।
म उसलाई निमुखा र असहायको
सहारा बन भन्छु
तर उ
सम्पन्नहरुको भिडमा रमाउन खोज्छ
म उसलाई
पिडितहरुको साथमा उभिन भन्छु
तर उ त
पिडकको साथमा मुस्कुराई रहेको हुन्छ
त्यसैले
उ मलाई पटक्कै मन पराउँदैन
म उ सङ्ग नजिकिन खोज्छु
उ म बाट टाढा हुन खोज्छ
जति नजिकिन खोज्छु
झन झन टाढिँदै जान्छ
म सम दृष्टिको कुरा गर्छु
उ हुँदैन भन्छ
म जवाफदेहिताको कुरा गर्छु
उ फरक पर्दैन भन्छ ।
म परिवर्तनका लागि
युवा शक्तिको उपयोगको कुरा गर्छु
उ लठैत बनाउने कुरा गर्छ ।
त्यसैले
उ मलाई मन पराउदैन ।
ना. [लाठाे+ऐत] लठैत = लाठाे लिएर हिँड्ने व्यक्ति वा व्यक्तिहरुकाे समूह ।