
भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले राज्यबाट पाउने तलबभत्ता लगायतको सुबिधाको रकम विभिन्न क्षेत्रमा सहयोग गर्नु भएको छ । नगरप्रमुख लम्सालले आफुले पाउने सेवा सुविधाको रकम जम्मा हुने गरी कृषि विकास बैंक लिमिटेडको भुरीगाउँ शाखामा मेयर तिलकराम लम्साल राहत कोषको नाममा खाता संचालन गर्नु भएको र सो खाताबाट नगरबासीको शिक्षा, स्वास्थ्य तथा नगरबासी विपन्न परिवारको दैनिक जीवनयापनमा आउने समस्या समाधान लगायतको क्षेत्रमा खर्च गरि रहेको नगरप्रमुखको सचिवालयले जनाएको छ ।
चालु आर्थिक वर्षको साउन देखी पुस सम्मको सेवा सुविधा २ लाख १० हजार ९६०, कार्यपालिका बैठक भत्ता १४ हजार ८५०, भ्रमण भत्ता ३८ हजार ५६०, अन्य संघ संस्थाबाट प्राप्त बैठक भत्ता १६ हजार २७४, अन्य बैठक भत्ता ४ हजार २००, बैंकबाट प्राप्त ब्याज ३ हजार ७०८ रुपैयाँ ३२ पैसा र गत आर्थिक वर्षको मौज्दात रकम ३८ हजार २१३ रुपैयाँ ४५ पैसा गरी कुल ३ लाख २६ हजार ७६५ रुपैयाँ ७७ पैसा जम्मा भएकोमा १ लाख ४९ हजार १२५ रुपैयाँ विभिन्न प्रयोजनका लागि सहयोग गरेको नगर प्रमुख लम्सालले जानकारी दिनुभयो ।
उच्च शिक्षा अध्ययनका लागि सुकुम्बासी, मुक्तकमैया समुदायका विद्यार्थीहरुलाई छात्रवृत्ति ५६ हजार ८५०, गरिव तथा विपन्न परिवारको उपचारका लागि ६० हजार ७५ तथा अति विपन्न परिवारलाई किरिया खर्च तथा कृषकहरुलाई सहयोग ३२ हजार २०० रुपैयाँ गरी १ लाख ४९ हजार १२५ रुपैयाँ राहत कोषबाट सहयोग गरिएको हो । यस अघि नगर प्रमुख लम्सालले २०७९ सालको जेठ र असारको सेवा सुविधा, नगरसभा बैठक भत्ता लगायत विभिन्न शिर्षकहरुबाट प्राप्त भइ राहत कोषमा जम्मा भएको १ लाख १३ हजार ३३५ रुपैयाँ मध्य यस अघि ७५ हजार १२२ रुपैयाँ विभिन्न प्रयोजनका लागि सहयोग गर्नु भएको थियो । यो संगै राहत कोषबाट २ लाख २४ हजार २४७ रुपैयाँ विभिन्न प्रयोजनका लागि सहयोग गरिएको नगर प्रमुखको सचिवालयले जनाएको छ । कृषि विकास बैंकमा कोषको नाममा रहेको खातामा १ लाख ७७ हजार ६४० रुपैयाँ ७७ पैसा मौज्दात रहेको सचिवालय प्रमुख जीवन कंडेलले जानकारी दिनुभयो ।
नगरप्रमुख लम्सालले निर्वाचनको समयमा तलबभत्ता लिन्न भनेर घोषणा गर्नु भएको थियो, तलबभत्ता नलिएर कसरी अगाडी बढ्छु भन्ने सोंच्नु भएको छ ? भन्ने प्रश्नमा नगरप्रमुख लम्सालले आफ्नो पैतृक सम्पत्ती राम्रो रहेको र आफु त्यसमा सन्तुष्ट रहेको बताउँदै आफु ब्यवसायीक क्षेत्रबाट राजनीतिमा आएकाले ब्यवसायीक क्षेत्रबाट हुने आम्दानी नै पर्याप्त भएकाले राज्यबाट पाउने तलबभत्ता लगायतको सुबिधाको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने योजना रहेको बताउनु भयो । आफ्नो कार्यकालमा भ्रष्टचार नगर्ने र भ्रष्टचार गर्न पनि नदिने उहाँले बताउनु भयो ।