भुरिगाउँ, बर्दिया : जिल्ला समन्वय समिति बर्दियाले बर्दिया जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिका प्रमुख सूर्य बहादुर बिष्टले बर्दियालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नुभएको हो ।
बर्दियाका सबै पालिकाहरुमा बालबालिकाले खोप पाए/नपाएको सर्वेक्षण गरेर सबै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिसकेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएकोे जिसस प्रमुख बिष्टले बताउनु भयो । बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित गर्न प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको थियो । त्यहि अनुसार बर्दिया जिल्ला पूर्ण खोप सुनिश्चित भएको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य अधिकृत कृष्ण गोपाल चौधरीले जानकारी दिनुभयो ।
यो पनि पढ्नुहोस् : बर्दिया पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुँदै
८ वटा स्थानीय तहका ७५ वडाका सबै बालबालिकारुलाई नियमित खोप पाउने आधार सुनिश्चित गरेपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताउनुभयो । जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले पूर्ण रूपमा नियमित खोप पाएपछि पालिकाहरूलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गिरीका अनुसार अभियानमा १६ देखि २३ महिनासम्मका छुटेका बालकालिकालाई समेत खोजेर पूर्ण रूपमा खोप सुनिश्चितता गरिएको छ । राष्ट्रिय खोप तालिका अनुसार जन्मेदेखि १५ महिना सम्मका बालबालिकालाई १३ वटा खोप प्रदान गरिन्छ । यसअघि बालबालिकालाई १२ वटा मात्रै खोप प्रदान गरिन्थ्यो । अहिले टाइफाइड विरुद्धको खोप थप भएको हो ।
जिल्ला खोप समन्वय समितिले अनुगमन गरी वडा हुँदै पालिका र जिल्ला पूर्ण खोप सुनिश्चिता घोषणा गरेको हो । पूर्ण खोप सुनिश्चितताका लागि ९५ प्रतिशत सूचकांक पूरा गर्नुपर्ने हुन्छ । सबै स्थानीय तहले ९५ प्रतिशत सूचकांक पूरा गरेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गिरीले बताउनुभयो ।