onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दिया : ठाकुरबाबाको खैलार गाउँमा जंगली हात्ती मृत फेला

Sambad ADD long

भुरीगाउँ, बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने ठाकुरबाबा नगरपालिका ४ खैलार गाउँमा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । ठाकुरबाबा ४, खैलार गाउँको प्राथमिक विद्यालय नजिक गहुँ खेतमा हात्ती मृत अवस्थामा फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत डा। अशोक रामले जानकारी दिनुभयो ।

मृत अवस्थामा फेला परेको जंगली हात्तीले गएराति खैलार गाउँमा प्रवेश गरि गहुँबालीमा क्षति गर्न थालेपछि हात्ती भगाउन स्थानीयले निकुञ्ज प्रशासनलाई खबर गरेका थिए । हात्तीलाई राति नै डार्ट गरेर नियन्त्रणमा लिने वा भगाउने प्रयास पनि गरिएको थियो । बर्दिया निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाली सेनाको सुरक्षाकर्मी टोली हात्ती मरेको ठाउँमा पुगिसकेको र मृत्यु भएको विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

अहिले पोस्टमार्टमको तयारी भइरहेको छ । पोस्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण थाहा हुने उहाँले बताउनुभयो । बिरामी भएको हात्ती प्राकृतिक कारणले मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । केही दिनदेखि जंगली हात्तीले गाउँमा गएर अन्नबालीमा क्षति तथा घरगोठ भत्काउन थालेपछि मध्यवर्ती क्षेत्रका स्थानीयवासी आतङ्कित भएका थिए । गएराति पनि खैलार गाउँमा जंगली हात्ती प्रवेश गरेपछि हात्ती भगाउन स्थानीयले निकुञ्जमा खबर गरेका हुन् ।

अन्दाजी ३० वर्षको जंगली भाले हात्ती पहिलेदेखि बिरामी भएको हुन सक्ने अनुमान गरिएको निकुञ्ज प्रशासनले जनाएको छ । यो हात्तीले धेरै वर्ष अघिदेखि हात्तीको समुहमा नबसि एक्लै हिँड्ने र निकुञ्ज आसपासका गाउँमा एक्लै गएर घरगोठ भत्काउने र अन्नबालीमा क्षति गर्दै आएको थियो ।

Leave A Reply

Your email address will not be published.