onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबाका मनकारी नगरप्रमुख तिलकराम, असाहय र विपन्नलाई व्यक्तिगत खर्च गर्दै

सर्पले डसेका बालकको भेन्टीलेटरमा उपचार हुँदै

Sambad ADD long

बर्दिया : ठाकुरबाबा नगरपालिका ९ बेतहनी घर भई हाल वडा नम्बर ८ सुतैया गाउँमा मामाको घरमा बसेका ११ वर्षिय असाहय बालक शिशिर सुनारलाई दुई साताअघि विषालु सर्पले डसेपछि स्थानीय ठाकुरबाबा आधारभुत नगर अस्पतालको सर्पदंश केन्द्रमा उपचारका लागि लगिएको थियो ।
सर्पले डसेको धेरै समय भएकाले अवस्था जटिल भएको जनाएपछि एम्बुलेन्स भाडा र उपचार गर्ने खर्च पनि नभएको भन्दै घर तर्फ फर्काउँदै गर्दा आधारभुत नगर अस्पातालका व्यवस्थापक वेद प्रसाद भण्डारी (विपी) ले मेयर तिलकराम लम्साललाई जानकारी गराएपछि मेयरले आफ्नै खर्चमा तत्काल उपचारका लागि एम्बुलेन्समा बालकलाई भेरी अस्पताल नेपालगंजमा उपचार गर्न पठाएको बाललको ठुलीआमा किरण बिकले जानकारी दिनुभयो ।

‘सर्पले डसेपछि स्थानीय अस्पालसम्म लग्दा अवस्था गम्भीर थियो, उपचार हुँदैन अब बाँच्दैन, अन्त टाढा लैजाउँ भने खर्च छैन, झारफुक गराउँछु, बरु घर लैजान्छु भनेकी थिँए, मेयर तिलराम लम्सालले आफै खर्च दिएर नेपालगंज पठाउनुभयो’ किरण बिकले भन्नुभयो । नेपालगंजमा ७ दिनसम्म पनि सुधार भएन, आफन्तसंग सरसापट गरेर केहि पैसा जोहो गरेर पनि अस्पतालमा उपचार गरायौँ, आँखा पनि नहेर्ने, सिरियस हुँदै गयो, बोल्नेचाल्ने केही नभएपछि सुधार नहुने र आफुसंग भएको पैसा पनि सकिएपछि अस्पतालबाट घर फर्काउन खोजेकी थिएँ,’ उहाँले भन्नुभयो ।

‘अब घर लैजान्छु मरेपनि घरमै त मर्छ भन्ने सोँचेकी थिएँ,’ उहाँले भन्नुभयो । ‘मेयरले जती खर्च लाग्छ, खर्च म दिन्छु, अझैँ केहि दिन उपचार गरौँ, सुधार हुन केहि दिन लाग्छ, मेरो भाईलाई १९ दिन आईसियुमा राखेर निको बनाएर ल्याएको हुँ, बिरामीसंग बस्दिनु, भेन्टीलेटरबाट ननिकाल्नु डाक्टरलाई र मलाई पनि भन्नुभयोे, अनि भेन्टिलेरमा राखेर उपचार भईरहेको छ, ९ दिनमा म घर आएँ, मेरो दिदि बाबुको रेखदेखमा जानुभयो’ उहाँले भन्नुभयो ।
‘आज अस्पालतमा हुनुभएकी दिदिलाई फोनमा कुरा गरेकी थिएँ, बिरामी बाबुको अवस्था केहि सुधार हुँदै गएको छ, उठेको छ, हल्का बोल्छ, अब त बाँच्छ की, मेयरसापले उपचार खर्च दिँदा बालकको ज्यान बच्यो’ खुसी हुँदै किरण बिकले भन्नुभयो । “आशै मारेको बच्चा, मरेपनि मामा घरमै मर्छ भनेर हार खाएका थियौँ, मेयरसापले आफ्नै खर्चमा उपचार गरेर ज्यान बचाईदिनुभयो धेरै खुसी छौँ” उहाँले भन्नुभयो ।
घाईते बालकको अवस्था गम्भीर हुँदै गएपछि नगर प्रमुख तिलकराम लम्साल अस्पताल पुगेर पनि दुई पटक भेट गर्नुभयो । उहाँले आफ्नो व्यक्तिगत खर्चमा भेरी अस्पताल नेपालगंजमा आईसीयुमा राखेर उपचार गर्न र बालकको ज्यान जोगाउन डाक्टरलाई आग्रह गरेपछि आईसियुमा राखेर बालकको उपचार भईरहेको हो । सर्पले डसेका कारण स्वास्थ्य अवस्था गम्भीर रहेका बाललको अहिले स्वास्थ्य उपचारमा केहि सुधार हुन थालेपछि मेयरले बालकलाई बचाउन सकिने भयो भनेर खुसी व्यक्त गर्नुभएको नगरप्रमुखको सचिालय प्रमुख जीवन कंडेलले बताउनुभयो ।
राज्यबाट प्राप्त आफ्नो तलब भत्ता असाहय र विपन्न समुदायको उपचारमा खर्च गर्दै आउनुभएको थियो, त्यही कोषबाट आफुले पनि जतिसक्दो उपचार खर्च व्यहोर्ने मेयरले बताउनुभएको बताउँदै बालकको उपचार र बालकको रेखदेखमा खटिनुभएका आफन्तको खर्चसहित मेयरले अहिलेसम्म ९० हजार रुपैयाँ खर्च दिईसक्नुभएको सचिवालयका जीवन कंडेलले बतानुभयो । घाईते बालकको (बुवा आमा) नभएका कारण उपचार खर्च मेयरले बेहोर्नु भएको हो ।

ठाकुरबाबा नगरपालिका ९ बेतहनी घर भएका कक्षा ३ मा अध्ययनरत ११ वर्षिय बालक शिशिरका बुवा (कारगारमा र आमा बेपत्ता) घरका बाजेबज्यै पनि प्यारालाईसिस भएर थला परेपछि रेखदेख गर्ने कोही पनि नभएकाले बालक शिशिर सुनार मामाघर सुतैयामा बस्दै आएका र दिउँसो घर नजिकै रुखमा खेलिरहेका बेला सर्पले डसेको बालककी ठुलीआमा किरण बिकले बताउनुभयो । अहिलेसम्म उपचारमा मेयरले ९५ हजार खर्च बेहोर्नुभएको उहाँले बताउनुभयो । खुट्टामा डसेको संकेत अनुसार करेत सर्पले डसेको हुनसक्ने अनुमान गरिएको छ । गर्मी मौसममा पानी परेका बेला करेत, गोमन लगायतका विषालु सर्पको विगविगी हुने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ । यदी सर्पले डसेमा झारफुकमा नलागी तत्काल उपचारका लागि स्वास्थ्य संस्थामा जान मेयर लम्सालको सुझाव छ ।

राज्यबाट आफुले पाउने रकमबाट असाहय र विपन्नको उपचार गर्दै मनकारी मेयर तिलराम लम्साल
बर्दिया ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले राज्यबाट आफुले पाउने सेवा सुविधा तथा अन्य भत्ता वापतको रकमबाट असाहय र विपन्नको उपचारमा सहयोग गर्दै आउनुभएको छ । निर्वाचित भएदेखि उहाँले राज्यबाट पाएको रकम र विभिन्न संघसंस्थाबाट आएको भत्ता वापतको रकमसहित जम्मा भएको एउटा कोषबाटै योसंगै अनगिन्ती विपन्न समुदायको उपचारमा आर्थिक सहयोग गर्दै आउनु भएको हो ।
ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले राज्यबाट पाउने तलबभत्ता लगायतका सुबिधाको रकम विभिन्न क्षेत्रमा सहयोग गर्नुभएको छ । मेयर लम्सालले आफुले पाउने सेवा सुविधाको रकम जम्मा हुने गरी कृषि विकास बैंक भुरीगाउँ शाखामा मेयर तिलकराम लम्साल राहत कोषको नाममा खाता संचालन गर्नुभएको र उक्त खाताबाट नगरबासीको शिक्षा, स्वास्थ्य तथा नगरबासी विपन्न परिवारको दैनिक जीवनयापनमा आउने समस्या समाधान लगायतका क्षेत्रमा खर्च गरिरहेको नगरप्रमुखको सचिवालय प्रमुख जीवन कंडेलले जानकारी दिनुभयो ।
ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले आफूले मेयरको हैसियतमा राज्यबाट प्राप्त गर्ने सबै रकम असाहय तथा विपन्न समुदायका लागि सामाजिक क्षेत्रमा खर्च गर्ने घोषणा गरेसंगै व्यवहारमा लागु गर्नुभएको छ । मेयर लम्सालले आफू पैसाका लागि नभई जनताको सेवा गर्ने अभिप्रायले राजनीतिमा लागेको भन्दै नगर प्रमुखको हैसियतका सबै सुविधाहरु सामाजिक क्षेत्रमा खर्च गर्ने निर्वाचनका क्रममा उद्घोष गर्नुभएको थियो । मासिक रुपमा नगरपालिकाबाट प्राप्त गर्ने पारिश्रमिक र भत्ता वापतको रकमले आफ्नो छुट्टै कोष बनाउनु भएको छ ।
मेयरको व्यक्तिगत कोष मार्फत असाहय, विपन्न तथा आयआर्जन लगायतका क्षेत्रका विपन्न समुदायका विद्यार्थी, आयआर्जनका लागि महिलालाई, विभिन्न किसिमका बिरामी नागरिकलाई आर्थिक सहयोग गरिहनुभएको छ । उहाँले न्युनतम १० हजार रुपैयाँदेखि विरामीको अवस्थाका आधारमा आर्थिक सहयोग गरिरहनु भएको छ कंडेलले भन्नुभयो ।
असाहय र विपन्न बिरामीलाई सहयोग गर्नु प्रशंसनीय काम बताउँदै स्थानीयबासीले मनकारी मेयर तिलकराम लम्सालको प्रशंसा गर्न थालेका छन् । ‘जनप्रतिनिधि भएर यस्तो काम गर्नु निकै राम्रो हो ।’ स्थानीय अर्जुन शर्माले भन्नुभयो । यो मैले मेयर हुनुको नाताले भन्दा पनि मानवीय भावनाले सहयोग गरेको हुँ । म पहिलेपनि गर्थेँ, पछिसम्म पनि गर्छु, यसमा नगरपालिकाको होईन, नितान्त मेरो व्यक्तिगत सहयोग हो ।’ मेयर लम्सालले भन्नुभयो ।
मेयर लम्सालले निर्वाचनको समयमा तलब भत्ता लिन्न भनेर घोषणा गर्नुभएको थियो, तलबभत्ता नलिएर कसरी अगाडी बढ्छु भन्ने सोंच्नु भएको छ ? भन्ने प्रश्नमा मेयर लम्सालले आफ्नो पैतृक सम्पत्ती राम्रो रहेको र आफु त्यसमा सन्तुष्ट रहेको बताउँदै आफु व्यवसायीक क्षेत्रबाट राजनीतिमा आएकाले व्यवसायीक क्षेत्रबाट हुने आम्दानी नै पर्याप्त भएपछि राज्यबाट पाउने तलबभत्ता लगायतका सुबिधाको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने योजना रहेको बताउँदै आफ्नो कार्यकाल अवधिभर भ्रष्टचार नगर्ने र भ्रष्टचार गर्न पनि नदिने उहाँले बताउनुभयो ।
मेयरको तलबभत्ता दुःखी गरिबलाई, दुई वर्षमा ५ लाख बढी सहयोग
मेयर लम्सालले आफ्नो कोषबाट यस वर्ष स्वस्थ्य उपचारमा विपन्नलाई झण्डै २ लाख ६९ हजार, उच्च शिक्षा अध्ययनका लागि सुकुम्बासी र मुक्तकमैयाका ५ जना छात्रछात्रालाई ९८ हजार, हरेक वर्ष एक जनाको १७ देखि १९ हजारसम्म खर्च, आयआर्जनका लागि सिलाई कटाई मेसिन खरिद ४० हजार, विपन्नका लागि खानेपानीको धारा गाड्नमा १७ हजार, व्हिलचियर अपाङ्गता भएकालाई १७ हजार, वन्यजन्तुले घर भत्काएकालाई १० हजार, अरु थुप्रै १०–१० हजार सिफारिस लिएर आउनेलाई प्रदान गरिएको छ । दुई वर्षको अवधीमा राहत कोषबाट साउन महिनासम्म झण्डै ५ लाख २४ हजार ५५० रुपैयाँ विभिन्न प्रयोजनमा सहयोग गरिएको नगर प्रमुखको सचिवालय प्रमुख जीवन कंडेलले बताउनुभयो ।
Leave A Reply

Your email address will not be published.