लाखेनाचको संरक्षणमा ठाकुरबाबामा नेवार समुदायको सक्रियता
कला र संस्कृतिलाई पुस्तान्तरण गर्दै लैजानुपर्ने आवश्यकता छ : नगर सचिव श्रेष्ठ
बगनाहा, बर्दिया : पछिल्लो केही वर्षयता हराउँदै गएको लाखेनाचको संरक्षणमा ठाकुरबाबा नगरपालिकामा बसोबास गर्ने नेवार समुदायले सक्रियता देखाउन थालेका छन् । हराउँदै गएको लाखेनाचको संरक्षणमा नेवाः देय् दबूको ठाकुरबाबा नगर समिति सक्रिए भएको हो । गतवर्षदेखि नेवा: देय दबू अर्थात् नेवार राष्ट्रिय मन्चको आयोजनामा ठाकुरबाबा नगरपालिकाको बगनाहा बजारमा समेत लाखेनाच प्रदर्शन गर्न सुरु गरिएको हो ।
आज जनै पूर्णिमाको अवसरमा बगनाहा बजारक्षेत्रमा लाखे नाछ प्रदर्सन गरिएको नेवार राष्ट्रिय मन्च, ठाकुरबाबा नगर अध्यक्ष भोलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । नेवार समुदायको जात र स्थान अनुसार लाखेनाच फरक–फरक तरिकाले नचाइने गरेको समेत अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । ढोलक र झ्याम्टाको जिउनै थर्किने आवाजमा डरलाग्दा ठूला अनुहार र झ्याप्प परेको बाक्लो कपाल भएका रातो जामा र लुगा लगाएर घँगलाको आवाज निकाल्दै लाखेनाच नाच्ने गरिन्छ ।
नेवार समुदायको धार्मिक तथा सांस्कृतिक उत्सवमा महत्वपूर्ण मानिने लाखेनाच कलाको संरक्षण र निरन्तरताका लागि पुस्तान्तरण गर्दै लैजानुपर्ने आवश्यकता भएकाले लाखेनाचको प्रदर्शन गर्न सुरु गरिएको नेवार राष्ट्रिय मन्च, ठाकुरबाबा नगर सचीव सौगात श्रेष्ठले बताउनुभयो । नेपालका मौलिक नाचहरुमध्ये लाखेनाच लोकप्रिय नाचको रुपमा रहे पनि युवापुस्तामा रुचि नहुँदा यो संस्कृति हराउँदै जान थालेकाले आफुहरु यसको संरक्षणमा लागेको सचिव श्रेष्ठले बताउनुभयो ।
पछिल्लो समय लाखेनाच देख्न मुस्किल हुन थालेको र युवापुस्ताले यसलाई महत्व नदिँदा संस्कृती हराउँदै गएको श्रेष्ठले बताउनुभयो । लाखेनाच नृत्य मात्रै नभई नेवार समुदायको सांस्कृतिक पहिचान र कलात्मक अभिव्यक्तिको मूर्त रुप भएकाले यसको निरन्तरता र संरक्षणमा ध्यान दिइएको श्रेष्ठले बताउनुभयो ।