
भारतको पन्ना टाइगर रिजर्व अवलोकन भ्रमणबाट फर्किएपछि ।
नेपालका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष र राष्ट्रिय वन क्षेत्र एवम् संरक्षित जैविक मार्ग क्षेत्रमा पाटे बाघ अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्छन् । पर्यटकहरूले पाटे बाघ लगायतका वन्यजन्तु अवलोकन गरेर जान्छन् । त्यस्तै नेपालको छिमेकी मुलुक भारतका पनि विभिन्न निकुञ्ज तथा आरक्षहरूमा पनि पाटे बाघ अवलोकनका लागि पर्यटकहरू जाने गर्छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिबाट हरेक पाँच वर्षमा ठुला निकुञ्ज तथा वन्यजन्तु आरक्ष अवलोकनका लागि भ्रमणमा जाने गरिन्छ । समितिबाट पाँच वर्ष अघि एक सीँगे गैँडा र पाटे बाघ अवलोकनका लागि भारतको आसाममा रहेको काजिरङ्गा राष्ट्रिय निकुञ्ज गएको थियो । यस वर्ष पनि बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अन्तर्गतका १९ वटा उपभोक्ता समितिका अध्यक्षहरू सहित २१ जनाको टोली भारतको मध्य प्रदेशमा रहेको पन्ना टाइगर रिजर्व अवलोकनमा गएर फर्किएको छ । जङ्गली हात्ती, एक सीँगे गैँडा बाहेक पाटे बाघ, बाह्रसिङ्गे, जरायो, नीलगाई, चित्तल, बाँदर मात्रै रहेको पन्ना टाइगर रिजर्व बाघका लागि प्रख्यात क्षेत्र हो ।
बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत रहेका उपभोक्ता समितिको टोली जिप सफारीका क्रममा मध्य प्रदेश भारतको पन्ना टाइगर रिजर्वको जङ्गल भित्र जाँदा पाटे बाघसँग जम्काभेट भएको थियो । सफारीमा यात्रा गर्दा पर्यटकलाई बाघ देखाइदिने टुरिस्ट गाइडले बताए लगत्तै जङ्गल सफारीका क्रममा एउटै बाघसँग दुई पटक जङ्गल भित्र बाटोमा जम्का भेट भयो । बघिनी आफ्ना डमरु सहित खेलिरहेको पनि देखा परे । एउटै बाघ दुई ठाउँमा नजिकैबाट बाटो काटेर हिँडेको र बच्चासहित चार वटा बाघ जङ्गल भित्र नदी किनारमा खेलिरहेको अवस्थामा देख्न पाउँदा सबै जना खुसी भएका मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष नेत्रराज आचार्यले बताउनुभयो । पन्ना टाइगर रिजर्व ५४२.७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । झन्डै ३० वर्ष अघि सन् १९९४ मा बाघ पाइने क्षेत्र भन्दै भारत सरकारले मध्य प्रदेशको सबैभन्दा ठुलाे पन्ना टाइगर रिजर्व घाेषणा गरेकाे हाे । ७ वर्ष अघि ७० भन्दा बढि पाटे बाघ रहेकाे पन्ना टाइगर रिजर्वमा १ सयकाे हाराहारीमा बाघ रहेको अनुमान गरिएको जनाइएको छ ।
बाघसँग जम्काभेट…..
भारतको मध्य प्रदेश पन्ना टाइगर रिजर्वमा बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्रका संरक्षणकर्मीहरू बिहान ७ बजे जिप सफारीका लागि पुगेर टिकट काटेर भित्र प्रवेश गर्दा ८ बजिसकेको थियो । हामीहरू चार वटा जिपमा २१ जना र साथमा गाइड र चालक गरी २९ जना थियौँ । जङ्गल भित्र २६ भन्दा धेरै जिप सफारीमा २ सय ८ जना जङ्गल प्रवेश गरेका थिए । प्राकृतिक वासस्थानमा बाघ हेर्न पाइने भन्दै बर्दियाबाट मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले संरक्षणकर्मीहरू सहितको टोली लिएर पन्ना टाइगर रिजर्वको भ्रमणका लागि गएको थियो ।
जङ्गल सफारी मलाई नौलो त थिएन । तर पनि नेपालमा झैँ बाघ देख्न पाइएला कि नपाइएला कौतुहलता थियो । जिप सफारीका चालकले बाघ देखिएको छ साथीहरूले म्यासेज गरेका छन् भन्दै जिप दौडाए । बाघ देख्न पाइने भयो भनेर हामीहरू सबै जना खुसी भयौँ । झन्डै आधा घण्टाको जङ्गल भित्रको यात्रापछि पाटे बाघ सडक किनारमा बनाइएको पानी खाने ठाउँ नजिक आउँदै थियो । बाघ भएको ठाउँ नजिकै जिप रोकियो । बाघ देख्ने बित्तिकै सफारीमा रहेका सबै बाघ भएको ठाउँमा पुगे । झन्डै २०-३० फिटको दुरीमा रहेको पाटे बाघ देखियो । हामीहरूले मोबाइल र क्यामरामा बाघको फोटो र भिडियो खिच्न गर्न थाल्यौँ । बाघ जुरुक्क उठेर हामीतिर फर्कियो । एक छिन हामी सबै जना डरायौँ । गाइडले हामीलाई सम्झाउँदै थिए, हल्ला नगर्नुस्, अनि चालकलाई गाडी अघिपछि गराउन आग्रह गर्दै थिए । डराउँदै भए पनि हामीले मोबाइल र क्यामरामा फोटो र भिडियो खिच्न थाल्यौँ । हामीतिर फर्किएको बाघलाई जिपका चालकले साइड दिएपछि जङ्गल भित्रको सडकमा दुवै तर्फ रहेका जिपको बिचबाटै बाघ जङ्गलतिर गयो ।
हामी जङ्गल सफारीको यात्रामा थियौँ । केहिबेर पछि त्यही बाघ अर्को ठाउँमा जम्काभेट भयो । बाघले सिकार गर्न तयारी अवस्थामा रहेको गाइडले बताए । फेरी पनि बाघ हामीहरू चढेको जिपको झन्डै १० फिट नजिक आयो, चालकले जिप अघिपछि गरेपछि दुवै तर्फ रहेका जिपको बिचबाट बाघ गयो । उसले जरायो ताकेर गएको रहेछ । सिकार ताकेर गएको बाघ धेरै हो हल्ला भएका कारण एक्सनमा आए पनि फुरुक्कै फर्कियो र रुखमा कोपर्न थाल्यो । त्यसपछि बाघ जङ्गल भित्र पस्यो ।
कहिबरेपछि हरियाली कम सुख्खा क्षेत्र बढी भएको जङ्गल भित्र, बोट बिरुवाका पात झर्ने बेला, जङ्गल भित्र सगुन, सलाई लगायतका कुकाठ मात्रै केही ठाउँमा बाँस घारी मात्रै थियो । हामीहरू नदी किनारमा बच्चासहितको बाघ भएको ठाउँमा पुग्यौँ । नदी किनारमा डमरु सहित बघिनी खेलिरहेको अवस्थामा देख्यौँ । बच्चासहित ४ वटा बाघ देखेपछि फोटो र भिडियो खिचेर हामी अगाडी बढ्यौँ । जङ्गलतिर भित्र बाघसँगै घाँसे मैदानमा चित्तल, बाह्रसिङ्गे, जरायो, बाँदर पनि देख्यौँ । तीन घण्टापछि बाहिर निस्कियौँ । जङ्गल सफारीमा देखिएका पाटे बाघ, बाह्रसिङ्गे, जरायो, चित्तल, नीलगाई, बाँदरका केही तस्बिरहरू ।