onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबामा ‘मेरो गोजी, मेरो डस्टबिन’ अभियान

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकामा ‘मेरो गोजी, मेरो डस्टबिन’ अभियान सुरु भएको छ । ठाकुरबाबा उद्योग वाणिज्य सङ्घले ठाकुरबाबा नगरपालिका–१ स्थित देवीराम चोकबाट मेरो गोजी मेरो डस्टबिन अभियानको शुभारम्भ गरेको हो ।

अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ठाकुरबाबा नगरपालिका उपप्रमुख बिनाकुमारी भट्टराईले ‘मेरो गोजी, मेरो डस्टबिन’ अभियानले बजारको सौन्दर्ययता कायम राख्न सहयोग पुग्ने बताउनुभयो । ठाकुरबाबा नगरपालिका पर्यटकीय गन्तव्य भएकाले पालिकालाई सरसफाइयुक्त बनाउन आवश्यक रहेको समेत उपप्रमुख भट्टराईले बताउनुभयो ।

उपप्रमुख भट्टराईले नगरपालिकालाई स्वच्छ सफा राख्नका लागि प्लास्टिक न्यूनीकरण गर्न भुरीगाउँमा साल लगायतका पातजन्य वस्तुबाट दुना टपरी उद्योग सञ्चालनमा ल्याइएको बताउँदै ४० माइक्रोन भन्दा तलको प्लास्टिक र फाइवर प्लास्टिकका कप, प्लेटहरू बिक्री वितरण नगर्न भनेर नगरपालिकाले सूचना समेत प्रकाशन गरेको बताउनुभयो । उहाँले आउँदो वैशाखदेखि पूर्ण रूपमा प्लास्टिकका कप, प्लेटहरू बिक्री वितरणमा रोक लगाइने समेत जानकारी दिनुभयो । उद्योग वाणिज्य सङ्घले थालेको ‘मेरो गोजी, मेरो डस्टबिन’ अभियानमा नगरपालिकाको पनि साथ रहने उपप्रमुख भट्टराईले बताउनुभयो ।

ठाकुरबाबा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष निमराज खनालले उद्योग वाणिज्य सङ्घले थालेको ‘मेरो गोजी, मेरो डस्टबिन’ अभियानमा एकताबद्ध भएर वडा कार्यालय प्रशासन पनि लाग्ने बताउनुभयो । नगरपालिकालाई स्वच्छ, सुन्दर र सरसफाइयुक्त बनाउनु सबैको जिम्मेवारी भएकाले यसमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

ठाकुरबाबा उद्योग वाणिज्य सङ्घका महासचिव गोपाल निरौलाका अनुसार सरसफाइको सुरुवात सर्वप्रथम आफैबाट गर्नुपर्छ भन्ने उद्देश्यले मेरो गोजी ‘मेरो गोजी, मेरो डस्टबिन’ गरिएको हो । छिट्टै नै ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ३ मा रहेको बगनाहा बजार र वडा नम्बर ५ मा रहेको शाहीपुर बजारमा पनि अभियानको सुरुवात गरिने सङ्घका महासचिव निरौलाले जानकारी दिनुभयो । चैत्र १० गते वडा नम्बर ६ को बकुवा बजार र वडा नम्बर ९ को ठाकुरद्वारा बजारमा कार्यक्रम गरिने उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.