मधुवन, बर्दिया : मधुवन नगरपालिकामा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका सदस्यहरूका लागि लैङ्गिक रूपान्तरण र सुरक्षित विद्यालय कार्य ढाँचा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । प्लान इन्टरनेश्नल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बि–ग्रुप) बाँकेको साझेदारी तथा मधुवन नगरपालिकाको सहकार्यमा अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको थियो ।
विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका सदस्यहरूका लागि लैङ्गिक रूपान्तरण र सुरक्षित विद्यालय कार्य ढाँचा सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सुरक्षित सिकाई वातावरण मार्फत रोजगार उन्मुख शिक्षाको व्यवस्थापन गर्ने, विद्यालयको रूपमा स्थापित हुने, बालमैत्री विद्यालय सिर्जना गरी काम प्रति सकारात्मक सोच विकास र उत्पादन गर्ने उत्कृष्ट थलोको रूपमा विद्यालयलाई विकसित बनाउने लगायत विषयमा छलफल गरिने योजनाका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको परियोजना फिल्ड सुपरभाइजर गङ्गा गुरुङले जानकारी दिनुभयो ।
आगामी दिनहरूमा विद्यालयको लैङ्गिक रूपान्तरण र सुरक्षित विद्यालय कार्य ढाँचामा रहेको दूर दृष्टि प्राप्तिका लागि निश्चित उद्देश्य तय गर्नुपर्ने, बाल केन्द्रित रचनात्मक सिकाई मार्फत उच्चतम सिकाई उपलब्धि सुनिश्चितताका लागि प्रेरित एवम् लगनशील जनशक्ति उत्पादन गर्ने संस्थाको रूपमा विकास गराउने उद्देश्य अनुसार आगामी दिनमा सामुदायिक विद्यालयमा हेर्न र देख्न चाहेको बि–ग्रुपका परियोजना प्रबन्धक बिर्खराज उपाध्यायले जानकारी दिनुभयो ।
मधुवन नगरपालिकाका नगर उपप्रमुख अनिता चौधरीले विद्यालयमा भएका असल अभ्यासहरूलाई अवलम्बन गदै बालिकाहरूको विद्यालय शिक्षामा निरन्तरता शिक्षण सिकाइ क्रियाकलापमा सुधार, अभिभावको सक्रिय सहभागिता गराउन र विद्यालयलाई लैङ्गिक मैत्री, बालमैत्री वातावरण सृजना गर्नका लागि अपनाउनु पर्ने कुरालाई मध्यनजर गर्दै २ दिने अभिमुखीकरणको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
२ दिनसम्म सञ्चालन भएको अभिमुखीकरण कार्यक्रममा ११ विद्यालयका व्यवस्थापन, शिक्षक अभिभावक सङ्घका पदाधिकारी र प्रधानाध्यापक सहित २१ जनाको सहभागिता रहको थियो । उक्त अभिमुखीकरण २ दिनसम्म लामो समयदेखि शिक्षा क्षेत्रमा क्रियाशील व्यक्ति बखत भण्डारीले सहजीकरण गर्नुभएको थियो ।