onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा : गोठमा आगलागी हुँदा एक जनाको ज्यान गयो

Sambad ADD long

भुरीगाउँ, बर्दिया : भुरीगाउँ–गुलरिया हुलाकी सडक खण्ड अन्तर्गत पर्ने ठाकुरबाबा नगरपालिका ४ मैनवार गाउँमा गए राति गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ ।

मैनवार गाउँको एउटा गोठ र परालको टौवामा गए राति ८ बजेतिर आगलागी हुँदा गोठभित्र रहेका पशुचौपाय निकाल्ने क्रममा ५८ वर्षीय लक्षिराम जैशीको आगोमा जलेर ज्यान गएको नगर प्रमुख तिलकराम लम्सालले जानकारी दिनुभयो ।

गए राति ८ बजेतिर गोठमा एक्कासि आगलागी भएपछि गोठभित्र रहेका भैँसी र बाख्रा निकाल्ने क्रममा गोठ भित्रै उहाँको आगलागीबाट जलेर ज्यान गएको इलाका प्रहरी कार्यालय बगनाहा भुरीगाउँले जनाएको छ ।

गोठमा भएको आगलागी नियन्त्रण गर्दै गर्दा राति साढे १० बजेतिर लछिराम जैशीको पूर्ण रूपमा जलेको अवस्थामा शव फेला पारेको प्रहरीले जनाएको छ । उहाँको पूर्ण रूपमा जलेको अवस्थामा (अस्थिपञ्जर) शव निकालेर पोस्टमार्टमका लागि सदरमुकाम गुलरिया पठाइएको छ ।

आगलागी भए लगत्तै स्थानीय बासिन्दाले धाराको मोटरको सहायताबाट पानीले आगो नियन्त्रणमा लिने प्रयास गर्दै गर्दा नगर प्रहरी, नेपाल प्रहरीले ट्याक्टर जडित पानी ट्याङ्करबाट आगो निभाउने क्रममा मधुवन नगरपालिकाको दमकलको सहायताबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीय बासिन्दाले राति ११ बजेतिर आगो नियन्त्रणमा लिएका हुन् ।

आगलागी भएको ठाउँमा जिल्ला समन्वय समिति प्रमुख सुर्य बहादुर विष्ट, ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालसहित प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल, प्रहरी उपरीक्षक प्रवीण धिताल लगायतको टोली पुगेको थियो ।

आगलागी भएको ठाउँमा पुगेका स्थानीय बासिन्दाले ठाकुरबाबा नगरपालिकामा पनि दमकलको माग गरेका छन् । तत्काल दमकल ल्याउन प्रक्रिया अघि बढाउने नगर प्रमुख लम्सलले प्रतिबद्धता जनाउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.