onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

वासगेन्स परियोजना अन्तरगत नगरस्तरीय समन्वय कार्यक्रम सम्पन्न

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकामा वासगेन्स परियोजना अन्तरगत नगरस्तरीय नेटवर्किङ तथा समन्वय कार्यक्रम सम्पन्न भएको छ । बेस बर्दियाको आयोजना तथा वाटर एड नेपालको आर्थिक सहयोग एवम् राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र नेपाल प्रजनन स्याहार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो ।

वासगेन्स परियोजना ठाकुरबाबा नगरपालिकाका ५ वटा विद्यालयसहित बर्दियाका ३३ वटा विद्यालयमा सञ्चालनमा रहेको परियोजनाका अनुगमन, मुल्याङ्कन तथा सिकाई अधिकृत मानबहादुर चौधरीले जानकारी दिनुभयो । ठाकुरबाबा नगरपालिका–१ को जनचाहना आधारभूत विद्यालय डुम्रेनी, वडा नम्बर २ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कर्मला, वडा नम्बर ३ को सरस्वती आधारभूत विद्यालय नेउलापुर, वडा नम्बर ५ को शारदा आधारभूत विद्यालय शाहीपुर र वडा नम्बर ६ को जनता आधारभूत विद्यालय तुल्सीपुरमा परियोजना सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा विद्यालयमा खानेपानी सरसफाई तथा प्रणालीका आधारभूत तत्वहरुको विश्लेषण कार्यशालामा छलफलबाट आएका वर्तमान अवस्थाबारे जानकारी गराउनुका साथै वासगेन्स परियोजनाका उपलब्धिहरुका बारेमा समेत जानकारी गराइएको परियोजनाका फिल्ड सुपरभाइजर शान्ती चौधरीले बताउनुभयो । विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता कार्यविधि तयारी तथा कार्यान्वायन, निर्माण भइरहेका सञ्रचनाहरुको पालिकाबाट अनुगमनको योजना, स्वास्थ्य संस्थाहरुको खानेपानी, सरसफाई तथा स्वच्छता संरचनाहरुको मर्मत संभारको नीति रहेको र मर्मत सम्भारका लागि नीति तयार गर्ने लगायतका विषयमा छलफल गरिएको छ । आगामी दिनमा अझ प्रभावकारी रुपमा परियोजना लागु गर्ने विषयमा समेत अन्तरक्रिया गरिएको छ ।

यसैगरि विद्यालयलाई खानेपानी सरसफाई तथा स्वच्छतामा स्तर निर्धारण प्रमाणिकरण सम्बन्धमा र अपाङ्गता, अति विपन्न, सिमान्तकृत परिवारका बालकालिकाहरुको पढाइमा सहयोग पुर्‍याउनका लागि अभिभावकहरुको आयआर्जन सहयोग कार्यक्रमका लागि सहभागी छनोट गर्ने लगायतका विषयमासमेत छलफल गरिएको परियोजनाका अनुगमन, मुल्याङ्कन तथा सिकाई अधिकृत चौधरीले जानकारी दिनुभयो । ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालको प्रमुख आतिथ्ययता तथा बेस बर्दियाका नगर अध्यक्ष हरिराम थारुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजाल, शिक्षा सुपरिवेक्षकद्वय नन्दराम अधिकारी र नवराज ढुङ्गाना, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरु, परियोजना संचालित वडाका वडा अध्क्षहरु एवम् विद्यालयका प्रधानाध्यापकहरु लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.