onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बुक फ्री फ्राइडे: विद्यालयमा फुड फेस्टिबल

Sambad ADD long

बगनाहा, बर्दिया :  विद्यालयको मुलगेटबाट भित्र छिने बित्तिकै भोजको कुनै कार्यक्रम हुँदैछ कि भन्ने भान हुने दृश्य देखिन्छ । अझै अलि नजिकै जाने हो भने अघि देखिएको दृश्य अझै फराकिलो रुपमा देखापर्छ अनी देन्खिन्छ विद्यालयको प्राङ्गणभरी नै खाना पाक्दै गरेको दृश्य । कोहि पिठो मुछ्दै, कोही रोटीको लागि पिठो बेल्दै त कोहि तरकारीहरु काट्ने तयारीमा ।

माथी उल्लेख गरिएको दृश्य बर्दियाकै अग्रणी शैक्षिक संस्थाको रुपमा परिचित ठाकुरबाबा नगरपालिका–३, जुड्पानीमा रहेको चुरे माध्यमिक विद्यालयमा शुक्रबार देखिएको हो । विद्यालयको खेल मैदानदेखि कक्षाकोठाको अघिल्लो भागमा खाली रहेको प्राङ्गणसम्म, अनी कार्यालय परिसरदेखि प्रतिक्षालयसम्म जताततै छुट्टाछुट्टै समूहमा भेला भएका विद्यार्थीहरु आ–आफ्नै गतीमा खाना बनाउन तल्लिन देखिन्छन् । झट्ट हेर्दा पिकनिक नै हो कि भन्ने भान गराउने दृश्य देखिए पनि वास्तविकता भने केहि फरक रहेको छ । देखिएको दृश्य बुक फ्री फ्राइडे अन्तरगत विद्यालले सञ्चालन गरेको फुड फेस्टिबल कार्यक्रमको हो ।

अहिलेको शिक्षण पद्धति ‘सैद्धान्तिक मात्र भयो, व्यवहारिक भएन’ भन्ने टिका टिप्पणी जताततै सुन्ने गरिन्छ । तर, व्यवहारिक शिक्षाको अभ्यासको प्रयास भने कमै शिक्षणसंस्थाले अपनाएको देखिन्छ । त्यही शिक्षाको अभ्यास गर्ने संस्थामा पर्छ बदिया ठाकुरबाबा नगरपालिकाको जुड्पानीमा अवस्थित चुरे माध्यमिक विद्यालय । विद्यार्थीलाई पाठ रटाउने तर पाठ्यक्रमले खोजेको क्रियाकलापमा संलग्न नगराउने शैक्षिक परिपाटीको अन्त्यको अभियानका रुपमा शिक्षामा नयाँ प्रयोग गरिरहेको प्रधानाध्यापक राजेशकुमार यादवले बताउनुभयो ।

काममुखी शिक्षाको अभावमा अहिलेका विद्यार्थीसँग सर्टिफिकेट छ, तर भनेको बेला रोजगार पाउँदैनन्, पढालेखा छन्, हातमा सीप छैन । यही समस्या हल गर्ने उपायको खोजीमा आफूहरु जुटेको बताउँदै विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा प्रदान गर्न आफुहरु लागि परेका प्रधानाध्यापक यादबले बताउनुभयो ।

चुरे माध्यमिक विद्यालयले माघ २६ गते शुक्रबार विद्यालय परिसरमा फुड फेस्टिबल कार्यक्रम सम्पन्न गरेको छ । पाक शिक्षा जीनका लागि चाहिने अनिवार्य शिक्षा रहेको र विद्यार्थीहरुमा पाक शिक्षाको विकास गर्न तथा विद्यार्थीहरुसँग भएको सिपलाई तिखार्न फुड फेस्टिबलको आयोजना गरिएको विद्यालयका शिक्षक खगेन्द्र नेपालले बताउनुभयो ।

विद्यालय प्राङ्गणमा रहेका ९ वटा स्टलमा खानाका परिकारहरु राखेर उक्त फेस्टिबलको आयोजना गरिएको हो । सबै खानाका परिकारहरु विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुले आफै बनाएका हुन् । फुड फेस्टिबलमा विद्यार्थीहरुले स्थानीयस्तरमा तयार हुने परिकारहरुसँगै विभिन्न खानाहरु तयार गरेका थिए ।

विद्यालयको अतिरिक्त क्रियाकलाप संयोजक अविलाल गड्तोलाले पढाइका साथै विद्यार्थीलाई दैनिकरुपमा आवश्यक पर्ने सिपहरु सिकाउने उद्देश्यले फुड फेस्टिबलको आयोजना गरिएको जानकारी दिनुभयो । पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवन उपयोगी, सीपमूलक तथा व्यवहारिक शिक्षा प्रदान गर्ने वार्षिक कार्य योजना बमोजिम कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । यस किसिमको क्रियाकलापले विद्यार्थीहरुलाई आफ्नो मौलिक परिकारसँग परिचित गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।

विद्यालयले यस प्रकारको कार्यक्रम सञ्चालन गर्दा मनोरञ्जनसँगै, नयाँ कुराको ज्ञान मिलेको कक्षा दशमा अध्ययनरत निर्देश योगीले बताउनुभयो । विद्यार्थीहरुले परम्परागत स्थानीय खानामा तराई क्षेत्रमा फल्ने स्थानीय अन्धी धानका चामलबाट बनाइने ढिक्री, माडारोटी, ढकनी रोटो, सेलरोटी, पकौडा, आलुपरौठा, तरकारी, अचार, टमाटरको चट्नी लगायत खानाका परिकारहरु आफ्नै लगानीमा तयार पारेर अभिभावक, शिक्षक र विद्यार्थीहरुलाई बिक्रि गरेका हुन् ।

यस किसीमका क्रियाकलापहरु सबै विद्यालयहरुले संचालन गर्ने हो भने विद्यार्थीहरुमा विद्यालयस्तरबाट नै सैद्दान्तीक सँगै व्यवहारिक ज्ञान सिक्ने अवसर प्राप्त हुन सक्छ ।

Leave A Reply

Your email address will not be published.