onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

भुरीगाउँ बजारमा पनि साप्ताहिक हाटबजार मेला

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका भित्र बगनाहा बजार, ठाकुरद्वारा बजार लगायतका विभिन्न गाउँगाउँमा लाग्दै गरेकाे साप्ताहिक हाटबजार मेला भुरीगाउँ बजारमा पनि सुरु भएको छ । सबै किसिमका सामान बिक्री गर्न पाइने गरि ठाकुरबाबा नगरपालिका-१, भुरीगाउँ बजार नजिक साप्ताहिक हाट बजार मेला आज शनिबारदेखि सुरु भएको हाे ।

बजार क्षेत्रका स्थानीयबासिन्दाकाे माग अनुसार ठाकुरबाबा नगरपालिकाले गरेकाे निर्णय अनुसार भुरीगाउँ बजार नजिक पनि साप्ताहिक हाटबजार मेला लगाउन सुरु भएको स्थानीय हाटबजार व्यवसायीले जनाएका छन् । नगरपालिकाले खुल्ला व्यायमशाला अर्थात् ओपन जिम क्लब, बालबालिकाका लागि चिल्ड्रेन पार्क बनाउनका लागि अतिक्रमित जग्गा निकालेर नगरपालिका मातहतमा रहेकाे भुरीगाउँ, कञ्चनपुर हुँदै नेलापुर जाने सडककाे टेलिकम टावर नजिकको पुल किनारमा तत्कालका लागि हाटबजार मेला लगाउन सुरु गरिएको नगर प्रमुख तिलकराम लम्सालले बताउनुभयो ।

साप्ताहिक रुपमा लाग्ने हाटबजार मेलाकाे आज पहिलो दिन नगर प्रमुख लम्सालले स्थलगत अवलोकन समेत गर्नु भएकाे छ । उहाँले हालका लागि अस्थायी रुपमा पार्क बनाउनका लागि छुट्टयाइएको खालि ठाउँमा हाटबजार मेला लगाउन भनिएको र केही महिना पछि नजिकै व्यवस्थित रुपमा व्यवस्थापन गरिने बताउनुभयो । फेन्सी तथा थान कपडा, कस्मेटिक पसलहरु संगै आलु, प्याज, साग, ताजा हरियाे तरकारी तथा तरकारीका बेर्ना र चाउमिन लगायतका खाजा पसल समेत मेलामा राखिएको र पहिलाे दिन नै निक्कै चहलपहल रहेकाे स्थानीयले जनाएका छन् ।

पहिलाे दिन नै चहलपहल व्यापक रहेपनि कपडा व्यवसायीहरुले भने खासै व्यापार हुन नसकेको जनाए । तरकारी लगायतका अन्य पसलहरुमा बिक्री भइरहेको जनाएका छन् । ठाकुरबाबा नगरपालिका भित्र सबै किसिमका सामानहरु बिक्री गर्न पाइने गरि साप्ताहिक रुपमा हरेक हप्ता बिहीबार बगनाहा बजारमा, हरेक हप्ता शुक्रबार ठाकुरद्वारा बजारमा र हरेक हप्ता भुरीगाउँ बजारमा हाटबजार मेला लगाउन पाइने गरि निर्णय गरेपछि आजदेखि भुरीगाउँ बजारमा पनि मेला लगाउन थालिएको हाे ।

 

Leave A Reply

Your email address will not be published.