onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

नदि आसपासका स्थानीयलाई विद्युतीय चुल्हो

Sambad ADD long

बगनाहा, बर्दिया : ठाकुरबाबा नगरपालिकाले नदीजन्य पदार्थ सङ्कलन तथा उत्खनन प्रभावित क्षेत्रका स्थानीयलाई विद्युतीय चुल्हो वितरण गरेको छ । ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ४ मा बसोबास गर्ने ४०२ घरधुरीलाई विद्युतीय चुल्हो वितरण गरिएको हो ।

नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ अनुसार स्थानीय तहले नदीजन्य पदार्थको बिक्रीबाट आफूलाई प्राप्त रकमको दश प्रतिशत नदीजन्य पदार्थ सङ्कलन, उत्खनन गर्दा प्रभावित हुने क्षेत्रका समुदाय वा खोला नदी किनार संरक्षणका कार्यमा खर्च गर्नु पर्ने व्यवस्था रहेको छ । सोहि व्यवस्था अनुसार नदीजन्य पदार्थ सङ्कलन तथा उत्खनन प्रभावित क्षेत्रमा बसोबास गर्ने वडावासीलाई विद्युतीय चुल्हो वितरण गरिएको वडा नम्बर ४ का कार्यवाहक वडाअध्यक्ष अमिन थारुले जानकारी दिनुभयो ।

प्रभावित क्षेत्रका स्थानीयहरुसँगको छलफल पछि उनिहरुकै माग बमोजिम विद्युतीय चुल्हो वितरण गरिएको वडा नम्बर ४ का कार्यवाहक अध्यक्ष थारुले जानकारी दिनुभयो । विद्युतीय चुल्होको प्रयोगले वातावरण पनि स्वच्छ हुने भएकाले माग अनुसार नै वितरणका लागि पहल गरिएको उहाँले बताउनुभयो ।

नदिजन्य जोखिम प्रभावित क्षेत्र ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ बगनाहा, बिचपुर, खैलार र लामिडाँडाका ४०२ घरधुरीलाई विद्युतीय चुल्हो वितरण गरिएसँगै दाउराको खपत घटाई बैकल्पिक उर्जाको प्रयोग बढाउन र दाउराको प्रयोगबाट निस्कने धुवाका कारण महिलाहरूको स्वास्थ्यमा पर्ने असर कम गर्न यो कार्यक्रमले सहयोग पुर्‍याउने नगर प्रमुख तिलकराम लम्सालले बताउनुभयो ।

विद्युतीय चुल्होको प्रयोगले दाउरा र ग्यासको प्रयोग कम हुने भएकाले वातावरण संरक्षणमा समेत सहयोग पुग्ने बताउँदै कम खर्चिलो र यसको प्रयोगले समयको सदुपयोग हुने नगर प्रमुख लम्सालले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.