onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

औषधी व्यवसायीहरुलाई व्यवसायिक प्रशिक्षण

Sambad ADD long

बगनाहा, बर्दिया : औषधी व्यवसायीहरूको लागि व्यावसायिक प्रशिक्षण तथा फेलोसिप कार्यक्रम सम्पन्न भएको छ । नेपाल औषधी व्यवसायी सङ्घ, जिल्ला शाखा बर्दियाको आयोजनामा बारबर्दिया नगरपालिकाको सतखलुवा ताल क्षेत्रमा व्यावसायिक प्रशिक्षण तथा फेलोसिप कार्यक्रम सम्पन्न भएको हो ।

‘औषधीको सदुपयोग गरौँ, प्रतिकुल असर हुनबाट बचाऔँ’ भन्ने नाराका साथ व्यवसायीहरूमा पुनर्जागरण ल्याउनका लागि कार्यक्रमको आयोजना गरिएको नेपाल औषधी व्यवसायी सङ्घ, लुम्बिनी प्रदेश समिति सदस्य एवम् बर्दिया जिल्ला इन्चार्ज कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा सहभागीहरूलाई औषधी ऐनको विषयमा जानकारी दिइनुका साथै नागरिकको पहिलो डाक्टर औषधि व्यवसायी नै भएकोले सोहीअनुसारको जिम्मेवारी बहन गर्न औषधि व्यवसायीले निर्वाह गर्नुपर्ने भूमिका लगायतका विषयमा प्रशिक्षण दिइएको पौडेलले जानकारी दिनुभयो ।

औषधि व्यवसायीको सानो कमजोरीले बिरामीको ज्यान तलमाथि हुने अवस्था आउने भन्दै गुणस्तरीय सेवा र सरकारी मापदण्डलाई पालना गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन् । अवैध औषधिको खुला विक्री वितरणले स्वदेशी व्यवसायी मर्कामा परेको कार्यक्रममा सहभागी व्यवसायीले गुनासो गरेका छन् । भारतसँगको खुला सीमाका कारण नेपालमा करोडौँ मूल्य बराबरको ‘नन रजिष्ट्रर’ प्रडक्ट आउने गरेकाले त्यो रोक्न सरकार प्रयत्नशील हुनुपर्नेमा जोड दिइएको छ ।

कार्यक्रमको प्रमुख अथिती रहनु भएका नेपाल औषधी व्यवसायी सङ्घका केन्द्रीय सचिव कृष्णबहादुर रोकायले आम नागरिकको उपचारमा औषधि उत्पादक, डिलर, थोक खुद्रा विक्रेता, चिकित्सक सबैको आ–आफ्नो भूमिका र महत्त्व रहेको बताउनुभयो । व्यावसायिक हकहितको विषयमा संस्थागत पहल गर्ने मात्र नभई उपभोक्तामैत्री सेवा गर्न उहाँले सुझाव दिनुभयो ।

नियमनकारी निकायले कारबाही मात्र गरेर नहुने बताउँदै औषधी व्यवस्था विभाग नेपालगन्ज शाखाका फार्मेसी अधिकृत दीपेन्द्रकुमार शाहले तालीम र प्रशिक्षण पनि दिनुपर्ने बताउनुभयो । नजानेको कुरा सबैलाई सिकाउनुपर्ने बताउँदै औषधी व्यवस्था विभाग औषधी व्यवसायीहरूसँग समन्वय र सहकार्य गरेर अगाडी बढ्न तयार रहेको उहाँले बताउनुभयो ।

कार्यक्रमको सह–आयोजनाका लागि अभिषेक मेडिकल कन्सर्न, नेपालगन्ज र एकता मेडिसिन डिस्ट्रिव्युटर, कोहलपुर बाँकेले सहकार्य गरेका थिए ।

Leave A Reply

Your email address will not be published.