onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

स्वमूल्याङ्कनमा ठाकुरबाबा नगरपालिकालाई ७९.५ अङ्क

Sambad ADD long

बगनाहा, बर्दिया : ‘संस्थागत स्वमूल्याङ्कन’मा आर्थिक वर्ष २०७९/८० मा ठाकुरबाबा नगरपालिकाले ७९.५% अङ्क प्राप्त गरेको छ । पुस २६ गते बसेको नगर कार्यपालिका बैठकमा मूल्याङ्कनका सूचक, सूचकहरूको पूर्णाङ्क र प्राप्त अङ्क सम्बन्धी विवरण पेस गरिएकोमा सो प्राप्ताङ्कलाई बैठकले अनुमोदन गरेको हो । आर्थिक वर्ष २०७७/७८ मा ६९.७५% अङ्क प्राप्त गरेकोमा यो अवस्था झरेर आर्थिक वर्ष २०७८/७९ मा ६३% मा पुगेको थियो । विगतको अवस्थामा सुधार गर्दै नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा ७९.५% अङ्क प्राप्त गरेको हो ।

२०७७ सालमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि’अनुसार समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थिति गरी ३ तहका सूचकका आधारमा स्वमूल्याङ्कन हुन्छ। यी सूचकहरूमा क्रमशः २१, ३४ र ४५ प्रतिशत अङ्क भार राखिएको छ। यसलाई १० वटा विषय क्षेत्रमा वर्गीकरण गरिएको छ। स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गरी १० सूचक निर्धारण गरिएको हुन्छ ।

यी सूचकमध्ये ९ पूर्णाङ्कको शासकीय प्रबन्धमा ठाकुरबाबा नगरपालिकाले ८ अङ्क प्राप्त गरेको छ। यस्तै, ८ पूर्णाङ्कको सङ्गठन तथा प्रशासनमा ६, ११ अङ्कको वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ८.५, ११ अङ्कको वित्तीय एवं आर्थिक व्यवस्थापनमा ८, १६ अङ्कको सार्वजनिक सेवा प्रवाहमा १३.५ र ७ अङ्कको न्यायिक कार्य सम्पादनमा ७ अङ्क प्राप्त गरेको छ । १३ अङ्कको भौतिक पूर्वाधारमा ११ अङ्क, १० अङ्कको सामाजिक समावेशीकरणमा ७, ९ अङ्कको वातावरण संरक्षण तथा विपत् व्यवस्थापन ६.५ र ६ अङ्कको सहकार्य र समन्वयमा ठाकुरबाबा नगरपालिकाले ४ अङ्क प्राप्त गरेको छ ।

स्वमूल्याङ्कन प्रणालीमा स्वाभाविक अङ्क मात्र दाबी गरिने र माथिल्ला निकायबाट गुणस्तर सुनिश्चित गर्ने प्रक्रियामा मूल्याङ्कन गर्दा अङ्क नघटोस् भन्ने मूल्याङ्कनका क्रममा ख्याल गरिएको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले जानकारी दिनुभयो । कार्यविधि अनुसार स्वमूल्याङ्कनमा पालिकाहरूको सवाल पक्ष र दुर्लभ पक्षहरूको समीक्षा गरिन्छ ।

जिल्लाका अन्य पालिकाहरू बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिका, गुलरिया नगरपालिका, मधुवन नगरपालिका, राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको संस्थागत स्वमूल्याङ्कन पृष्ठपोषणका लागि पेस भएको छ भने बढैयाताल गाउँपालिकाको अनुमोदनका लागि पेस भएको छ ।

 

Leave A Reply

Your email address will not be published.