भुरीगाउँ, बर्दिया : झन्डै २२ वर्ष अघि २०५८ सालमा बम विस्फोटबाट पूर्ण रूपमा भत्किएको इलाका प्रहरी कार्यालय बगनाहा, भुरीगाउँको भवन पुनः निर्माण भएको छ । झन्डै २२ वर्षअघि द्वन्द्वकालमा बम विस्फोटबाट पूर्ण रूपमा क्षति भएको इलाका प्रहरी कार्यालय बगनाहा, भुरीगाउँ बर्दियाको भवन पुनः निर्माण भएको हो ।
बर्दिया ठाकुरबाबा नगरपालिका–२, मा रहेको नवनिर्मित इलाका प्रहरी कार्यालयको भवन निर्माण कार्य लुम्बिनी प्रदेश सरकारबाट प्राप्त ३ करोड ७८ लाख ४१ हजार रकम लागतमा सम्पन्न भएसँगै लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले मङ्गलवार एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले यस कार्यालयमा कार्यरत प्रहरीहरूले विगतका दिनमा भन्दा आगामी दिनमा आम नागरिकलाई सेवा दिन र नागरिकका पीडा कम गर्ने खालका काम गर्न अनुरोधका साथ निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो “यति सुन्दर भवनबाट मनको सुन्दर होइन, कानुनको सुन्दर हुन जरुरी छ, प्रहरीले आफ्नो कार्यशैली परिवर्तन गर्न जरुरी छ” । इलाका प्रहरी कार्यालयको भवन पुनः निर्माणमा सहयोग गर्ने लुम्बिनी प्रदेश सरकार, स्थानीय सरकारसहित विभिन्न क्षेत्रबाट सहयोग गर्ने स्थानीयबासी सम्पूर्णप्रति आभार प्रकट गर्नुभयो ।
इलाका प्रहरी कार्यालय बगनाहा भुरीगाउँको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समेत समस्या थियो, थुनुवा हिरासत कक्षसहितको भवन निर्माण भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दाका लागि प्रहरीसँग सम्बन्धित मुद्दा पनि यहीँबाट सञ्चालन हुने भएकाले अब सदरमुकाम गुलरिया जानुपर्ने समस्याको अन्त्य हुने जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधिरराज शाहीले बताउनुभयो ।
साबिकको बगनाहा गाउँ विकास समिति जुडपानीमा रहेको इलाका प्रहरी कार्यालय बजार क्षेत्रको विकाससँगै झन्डै ३ दशकअघि भुरीगाउँ बजारको सिंहवाहिनी मा ऐलानी जग्गामा भवन बनाएर बसेको थियो । त्यही इलाका प्रहरी कार्यालयको पक्की भवन २२ वर्षअघि द्वन्द्वकालमा तत्कालीन विद्रोही पक्षले बम विस्फोट गराएपछि भत्किएको थियो । त्यतिबेला भुरीगाउँबाट प्रहरीहरू निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गुल्म ठाकुरद्वारा गएर बसे, केही वर्षपछि शान्ति सम्झौता पश्चात् स्थानीयको घर भाडामा लिएर इलाका प्रहरी कार्यालय स्थापना भएको थियो ।
द्वन्द्वकालमा भत्किएका सबैजसो इलाका प्रहरी कार्यालयहरू पहिले नै बनिसकेका थिए । तर पूर्व पश्चिम राजमार्गमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज नजिक ठाकुरबाबा नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय बगनाहा भुरीगाउँको भवन २२ वर्ष अघि द्वन्द्वकालमा बम विस्फोटबाट भत्किएपछि प्रहरीहरू साँघुरो घर भाडामा लिएर बसिरहेका थिए । द्वन्द्वकालका बेला २०५८ सालमा साबिकको नेउलापुर गाउँ विकास समिति हाल ठाकुरबाबा नगरपालिका–२ मा रहेको इलाका प्रहरी कार्यालय बगनाहा भुरीगाउँको भवन बम विस्फोटपछि भत्किएको थियो ।
प्रहरी कार्यालयको नाममा आफ्नै जग्गाधनी पुर्जा भए पनि नेपाल सरकारले भवन निर्माणका लागि समयमै बजेट विनियोजन नगर्दा वर्षौँ देखि भुरीगाउँका प्रहरीहरू जीर्ण भवनमा भाडामा बस्न बाध्य थिए । झन्डै ५ वर्षअघि इलाका प्रहरी कार्यालय बगनाहा भुरिगाउँको नाममा १० कट्ठा जग्गाको पुर्जा पनि बनिसकेपछि लुम्बिनी प्रदेशको सहयोगमा गत वर्ष असोज महिनादेखि भवन निर्माण कार्य सुरु भएको थियो । नवनिर्मित भवनमा महिला र पुरुष बन्दीका लागि छुट्टै कोठा, कार्यालय प्रमुखको निवास, सञ्चार कक्ष, महिला तथा पुरुष ब्यारेक, भान्छा, शौचालय, हिरासत कोठा रहेका छन् ।
पहिले बनेको भुरीगाउँको इलाका प्रहरीको भवन ऐलानी जग्गामा थियो । अहिले इलाका प्रहरी कार्यालय बगनाहा भुरीगाउँको नाममा पुर्जासमेत प्राप्त भएको जग्गामा भवन निर्माणका लागि केन्द्र र प्रदेश सरकारसँगको निरन्तर प्रयास पहल र समन्वयले गर्दा लुम्बिनी प्रदेशबाट भवनका लागि बजेट छुट्टाइएको र डिपिआर पश्चात् गत वर्ष असोज महिनादेखि निर्माण कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधिरराज शाहीले बताउनुभयो ।
उद्घाटन कार्यक्रमकामा बर्दिया जिल्लाभरबाट उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कार वितरण गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रहरी महानिरीक्षक कुबेर कडायतले यस क्षेत्रका आपराधिक क्रियाकलापहरूलाई मध्यनजर गर्दै निर्माण गरिएको भवनमा कार्यरत सबै प्रहरी कर्मचारीलाई दत्तचित्त भएर जनताको सेवामा लाग्न निर्देशनसमेत दिनुभयो । उद्घाटन कार्यक्रममा भवन निर्माणको प्रतिवेदन प्रहरी नायब उपरीक्षक इन्जिनियर रोशन सारुले प्रस्तुत गर्नुभएको थियो ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी महानिरीक्षक कुबेर कडायतको प्रमुख आतिथ्ययतामा सम्पन्न कार्यक्रम ठाकुरबाबा नगरपालिकाका पूर्व नगर प्रमुख घननारायण श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख सुधिरराज शाही, ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजाल, राष्ट्रिय अनुसन्धान कार्यालय बर्दियाका प्रमुख, बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषाेतम वाग्ले, देवीदत्त गणका मेजर, वडा अध्यक्षहरू, होटेल व्यवसायी विभिन्न सङ्घसंस्थाका प्रतिनिधि बुद्धिजीवीहरूको सहभागिता रहेको थियो ।