विक्रम संवत् २०३५ सालको पुस महिनाको अन्तिम हप्ता मैले पहिलो पटक माघी शब्द सुनेँ । यो शब्द बर्दियाका थारु समुदायले प्रयोग गर्दा रहेछन् । थारुहरूले भन्ने गरेका वैशाखदेखि चैत्र महिना मध्ये असोजलाई कँवार र मङ्सिरलाई अगहन बाहेक बाँकी महिनाका नाम सबै समान थिए । यिनै महिनामध्ये माघे सक्रान्तिलाई उनीहरू माघी भन्ने गर्दथे । मैले जान्दासम्म माघी सबै समुदायको पर्व भइसकेको थियो ।
बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङमा माघीको छुट्टै महत्त्व थियो । यो थारु समुदायको मात्र नभई त्यो भेगकै साझा नयाँ वर्षको दिन थियो । यो हाम्रो देशको नेपाल संवत् मौलिक भएजस्तै नितान्त मौलिक संवत्को सुरुवातको दिन थियो । त्यसैले माघी त्यो क्षेत्रको साझा पर्व थियो ।
रात परेपछि घरको मझेरीमा घरपरिवार र पाहुनाहरू भेला भएर लस्करै बसेर भतेर खाए जसरी जिता र जाँडरक्सीको चुस्की लिन्थे । दुःख–सुखका गफगाफ हुन्थे । कसैसँग कुनै बेलाको गुनासो भए त्यहीँ पोख्थे र रमाउँथे, त्यो रात एक किसिमको मैमत्त रात हुन्थ्यो
नयाँ वर्षको सुरुवात हुनु अघिल्लो दिन पुस मसान्तको रात मैमत्त माघीको सुरुवात हुन्थ्यो । थारु समुदायका हरेक घरमा उपलब्ध पशुको बलि दिइन्थ्यो जसलाई ‘जिता मार्ना’ भन्थे । शायद यो कुनै विजयको खुसीयाली हुन्थ्यो । असत्यमाथि सत्यको जित भएको दिन, देवताहरूले राक्षसमाथि विजय गरेको दिन, भूमीपुत्रहरुले वर्षभरिका प्राकृतिक विपदमाथि विजय प्राप्त गरेको दिन यस्तै यस्तै । जिता मारेर देउतालाई चढाएर आफूले खाने चलन थियो थारुहरूको । जिता मार्ने दिन घरघरमा कतै सुँगुरको चिच्याहट त कतै हाँसको क्वाक्वा, अनि कतै भेडाखसी त कतै कुखुराको चित्कार । कोही व्यक्तिगत रूपमा जिता मार्थे त कोही समूहमा मिलेर । जितासँगै घरघरका महिलाहरूले आफ्नो सीप र दक्षता अनुसार तयार गरिएको घरेलु रक्सी र जाँडको महक बाटासम्म फैलिन्थ्यो ।
रात परेपछि घरको मझेरीमा घरपरिवार र पाहुनाहरू भेला भएर लस्करै गुँदरी, पिर्का जस्तो बिँडा, चकटी, काठको पिर्का या भुईँमै पनि बसेर भतेर खाए जसरी जिता र जाँडरक्सीको चुस्की लिन्थे । दुःख सुखका गफगाफ हुन्थे । कसैसँग कुनै बेलाको गुनासो भए त्यहीँ पोख्थे र रमाउँथे । त्यो रात एक किसिमको मैमत्त रात हुन्थ्यो । त्यो मैमत्तता करिब एक महिनासम्म पनि चल्थ्यो । महिलाहरू राति ४ बजे नै उठेर माघीका गीत गाउँथे । पुरुष र महिला मिलेर दिउँसो सखिया नाच चल्थ्यो । साथीत्व र भाइचाराको भाव झल्किने त्यो सखिया नृत्य र गीतले सबैको मन छुन्थ्यो:
सखिए हो माघी के पिलीपिली गुरिगुरि जाँर, सखिए हो
सखिए हो मोरे सालीके नथुनी गिरल पानीघाट, सखिए हो
सखिए हो मोरे भाटुके मुहेम परल गुरी जाँर, सखिए हो…
वास्तवमा सखिया नाचमा सुख दुःख, गुनासो, ठट्टा, विरह सबै कुरा हुन्थे । एक किसिमले भन्ने हो भने सङ्गीतका नौ वटै रस सखियामा पाइन्थ्यो । सखिया मात्रै नभएर बर्दियाका थारुहरूले हुर्दुङ्गवा र अन्य नाच पनि नाचेको देखिन्थ्यो । त्यो नाचमा के थारु, के पहाडी सबै समुदायका मानिसहरू बुरुकबुरुक उफ्रेर पर्वको मजा लिन्थे ।
पहाडीहरू घरमा सेल रोटी र बाबर, तिलका लड्डु, भुजाका लड्डु, तरुल, पिँडालु र सखरखण्डका परिकार बनाउँथे र छरछिमेकका थारुहरूसँग बाँडिचुँडी खान्थे । त्यसै गरी थारुहरूको लोकप्रिय परिकार ढिकरी थियो । चामलको पिठोको डल्लालाई बाफमा मःमः पकाए जसरी बफाएर पकाएको त्यो परिकारलाई नुन खुर्सानीको चटनीसित मात्रै खाँदा पनि स्वादिष्ट हुन्थ्यो । ढिकरी अण्डाकार र लामो नली आकारका गरी २ किसिमका बनाइन्थे । कसकसैले कलात्मक पनि बनाउँथे । एक अर्काका घरमा पाकेका परिकारहरू साटासाट गर्ने होडबाजी नै चल्थ्यो । विशेष गरी आत्मीय केटा साथीहरू जसलाई साँघर या सँघारी भनिन्थ्यो र आत्मीय केटी साथीहरू जसलाई गोचा या गोची भनिन्थ्यो, उनीहरूबिचको आत्मीयता साटेको र सँगै बसेर खाएको हेर्न लायक हुन्थ्यो । गोचा र साँघरको सम्बन्ध मित मितिनी जस्तो हुन्थ्यो, बाँचुन्जेलको दिगो आत्मीय सम्बन्ध ।
माघीको अघिल्लो रातदेखि करिब १ हप्ताभित्र जग्गाधनी या जिमीदारले एउटा सभाको आयोजना गर्थे, जसलाई खुजुनीबुझनी भनिन्थ्यो । खुजुनीबुझनी अर्थात् खोज्ने र बुझ्ने । खुजुनीबुझनीमा जग्गावालाले एक रात हरेक कमैया वा बटैया गर्ने मान्छेलाई लस्करै बसालेर सुख दुःखका कुराबाट छलफल सुरु गर्थे । बिचमा आगोको धुनी बलिरहेको हुन्थ्यो ।
माघी सुरु हुनुभन्दा करिब एक महिना अघिदेखि समाजको सामाजिक आर्थिक प्रणालीमा एक किसिमको अन्योल र खलबली सुरु हुन्थ्यो । अब कसको घरको कमैयाले कमाउन छोड्ने हो, कसको अधियाँ बटैया लगाइरहेकोले छोड्ने हो भन्ने त्रास जग्गाका मालिकहरूमा हुन्थ्यो । त्यस्तै त्रास कतै मलाई जग्गा मालिकले निकालिदिने हो कि भन्ने कमैयालाई हुन्थ्यो भने बटैया या अधियाँ लगाउनेलाई पनि मैले यो वर्ष खेती लाउन नपाउने हुँ कि भन्ने डर हुन्थ्यो ।
माघीको अघिल्लो रातदेखि करिब १ हप्ताभित्र जग्गाधनी या जिमीदारले एउटा सभाको आयोजना गर्थे, जसलाई खुजुनीबुझनी भनिन्थ्यो । खुजुनीबुझनी अर्थात् खोज्ने र बुझ्ने । खुजुनीबुझनीमा जग्गावालाले एक रात हरेक कमैया वा बटैया गर्ने मान्छेलाई लस्करै बसालेर सुख दुस्खका कुराबाट छलफल सुरु गर्थे । बिचमा आगोको धुनी बलिरहेको हुन्थ्यो । कमैयाहरू धेरै भएका जग्गावालाले कमैयाँहरुको मूली ‘अगुवा’लाई अन्य कमैयाँहरुको राय बुझ्न लगाउँथे । अगुवाको पालो अन्तिममा आउँथ्यो । अगुवाले प्रत्येकसँग अबको वर्ष जग्गा कमाउने नकमाउने के विचार छ भनेर सोध्थे । अगुवाको जवाफमा कमैयालाई जग्गावाल मन परेको रहेछ भने त्यहीँ निर्णय दिन्थ्यो र अर्को वर्ष पनि कमाउने इच्छा देखाउँथ्यो । केही कारणले चित्त नबुझेको भए उसले त्यस्तै कुनै अप्ठेरो देखाएर काम नगर्ने निर्णय दिन्थ्यो ।
यसै गरी कमैयाको राय सकिएपछि जग्गावालाले पनि कसैसँग चित्त नबुझेको भए उसलाई म राख्न सक्दिन भनेर निर्णय दिन्थ्यो । खुजुनीबुझनीको रात जाँडरक्सी चल्ने जग्गावाला रहेछ भने मैमत्त रात हुन्थ्यो । आआफ्ना निर्णयमा सन्तुष्टि जनाउँदै दुवै पक्ष रातको अबेरसम्म मैमत्त हुन्थे । यही प्रक्रिया महिला कामदारहरू जसलाई बुक्रही भनिन्थ्यो, भाँडा माझ्ने र सरसफाइका काम गर्ने ओर्गानओर्गानीहरु, गाई चराउने गैयार, भैँसी चराउने भैंसहवा र सबै काम गर्ने बर्दिवाहरुको हकमा पनि लागू हुन्थ्यो । तसर्थ यो त्यति बेलाको हाम्रो समाजको एक मौलिक नयाँ वर्ष थियो ।
माघी मनाएर र खुजुनीबुझनी सकेपछि गाउँ गाउँमा जग्गा कमाउनेहरूको दौडधुप हुन्थ्यो यो वर्ष कामको निरन्तरता नपाउनेहरू गाउँ गाउँका जग्गावालाहरूसँग गएर जग्गा कमाउन दिने हो ? भनेर अनुनय विनय गरेको सुनिन्थ्यो भने जग्गावालाहरू पनि उपयुक्त कमैयाको खोजीमा हुन्थे । करिब १ महिनासम्म कामको सौदाबाजी हुन्थ्यो । जग्गावालाहरू नयाँ कमैयाहरूका लागि बुकुरा बनाउने या भएकैलाई मर्मत गराउने ध्याउन्नमा हुन्थे । कामदारहरूको फिरन्ता जीवन जस्तो थियो त्यति बेलाको सामाजिक व्यवस्था ।
फेरि माघी तिरै फर्कौँ । बर्दियाको ठाकुरद्वारा त्यस क्षेत्रका मेलाहरूमध्ये सबैभन्दा ठुलो मेला थियो । यो एक हप्तासम्म चल्थ्यो । माघीको अघिल्लो दिनदेखि नै टाढा बसाइ हुनेहरू ठाकुरद्वारा पुग्थे । हनुमानको रूपका ठाकुरजी र विष्णु भगवानको पूजाआजाका कारण यसको महत्त्व थियो । त्यहाँ पुग्न जताबाट गए पनि जङ्गल पर्थ्यो । यो मन्दिर जङ्गलमै थियो । मन्दिरमा जान गाउँ गाउँमा लडिया र लहरु तम्तयार हुन्थे, हिँड्न नसक्ने वृद्धवृद्धा र केटाकेटीका लागि । लडियानहरु राँगाको जीउमा कालो दलेर आकर्षक बनाउँथे, लडियाको अवस्था हेरेर आवश्यक मर्मत गर्थे । लडियामा पर्याप्त पराल राख्थे ता कि माघीको बिहान राँगालाई आहारा होस् । तीर्थयात्रुहरु पनि खानपिन र पूजाका आवश्यक सर्जाम तयार गर्थे ।
जब बेलुकीपख बाटोमा लडियाका लस्कर देखिन्थे, कुनै क्याराभानभन्दा कम हुँदैनथ्यो । लडियान राँगाको नाथ समातेर जब तकतकतक र अँहँअँहँ गरेर लडियालाई लिकमा ल्याउँथे, यात्रुहरू ढुक्क हुन्थे । लिक छोड्न लागेका राँगालाई जब लडियानले मसिनो लाठीमा बाँधिएको छालाको या बनकसको डोरीले बनेको सराकीले चेटचेट पारेर पिट्थे, राँगाहरू दगुर्थे र लडियाको गति बढ्थ्यो । यात्रुहरूलाई लडियामा बसेर यस्तो यात्रा गर्नु रमाइलो लाग्थ्यो । उनीहरू परालको गद्दामाथि पल्टेर ठाकुरद्वारा पुग्थे ।
मन्दिर परिसरमा एक जना तपस्वीको एउटा हात सधैँ ठडिएको हुन्थ्यो । उनी रहस्यका पात्र थिए । कसैले उनले हात भगवानका नाममा चढाए पछि सँधैका लागि ठाडो भएको भन्थे त कसैले जन्मजातै त्यस्तै हात हो भन्थे । तर ठाकुरद्वारामा पुगेपछि नै त्यस्तो हात भएको भन्ने कुरामा उनलाई पहिले देख्ने पुराना मानिसहरू सहमत छन् ।
ठाकुरद्वारामा माघीको अघिल्लो दिनको बेलुकी मानिसको छिचोल्न नसकिने भीड हुन्थ्यो । बर्दिया जिल्ला मात्र नभएर दाङदेखि कञ्चनपुरसम्मका मानिसहरू ओइरिएर त्यो मन्दिर परिसरमा मेला लाग्थ्यो । मन्दिर वरपर जङ्गलमा हप्तौँदेखि खरका सयौँ छाप्राहरू बन्थे । छाप्रामा अनेकथरि वस्तुहरूका पसल राखिन्थे । बिचबिचमा गल्ली बनाएर राखिएका पसल छिचोल्न घण्टौँ लाग्थ्यो । मन्दिरछेउमा कुटीहरू थिए । त्यहाँ तपस्वी र योगीहरू पनि थिए । गाईहरूलाई तीर्थालुहरुले खानेकुरा, फलफूल दिएको रमाइलो देखिन्थ्यो ।
मन्दिर परिसरमा एक जना तपस्वीको एउटा हात सधैँ ठडिएको हुन्थ्यो । उनी रहस्यका पात्र थिए । कसैले उनले हात भगवानका नाममा चढाए पछि सँधैका लागि ठाडो भएको भन्थे त कसैले जन्मजातै त्यस्तै हात हो भन्थे । तर ठाकुरद्वारामा पुगेपछि नै त्यस्तो हात भएको भन्ने कुरामा उनलाई पहिले देख्ने पुराना मानिसहरू सहमत छन् । ती व्यक्ति दैलेखको साताला गाउँबाट विक्रम संवत् २०२२ सालतिर ठाकुरद्वारामा आएर बसेका थिए । उनी वास्तवमा सातालामा राम्रै घर गृहस्थी गरेर बसेका थिए । तिनको नाम थियो जस थापा । ठाकुरद्वारामा पुगेपछि सन्त रूप धारण गरेर उनले आफ्नो नाम बदलेर गङ्गादास बनाए । गङ्गादासकै नामले चिनिए । उनको ठडिएको हातमा एउटा सानो त्रिशूल पनि हुन्थ्यो । उनको दर्शन पाउन र आशीर्वाद थाप्न दर्शनार्थीको भीड लाग्थ्यो ।
वयोवृद्ध ८८ वर्षीय रामनाथ उपाध्यायका अनुसार उनी दैलेखमा एकपछि अर्को पारिवारिक पीडा र अन्य ठक्करहरू खाएर बैरागिएर हिँडेका एक जना मुसाफिर जस्ता थिए । त्यहाँ आएर उनले मन्दिरमा साधु बनेर जिन्दगी बिताए । मन्दिरमा नै उनको बास हुन्थ्यो । त्यहीँ उनले एक हात भगवानका नाममा समर्पण गरेर हात खडा गरेका हुन् । गङ्गादास मन्दिरमा आउने भक्तहरूलाई भुङ्ग्रे रोटीले स्वागत गर्थे । पिउन लत बसेकालाई उनी गाँजा पनि दिन्थे । वरिपरिका गाउँका भक्तहरू र गाँजा सेवन गर्नेहरू दिनभरि मन्दिरमा बसेर जान्थे । गङ्गादास जाडोमा कछाड मात्र लाएर खरानी घसेर बस्थे । गर्मीमा पञ्चाग्नि तापेको देखेको कुरा रामनाथ उपाध्याय बताउँछन् । उनलाई र मन्दिरलाई भनेर १४ मौजा लगायत राजापुर टप्पादेखि तिहाइ प्रणाली अन्तरगत वार्षिक अन्नपात आउँथ्यो । त्यो हरेक घरले सरकारलाई या गुठीलाई तिर्ने वार्षिक तिरो जस्तो हुन्थ्यो । मन्दिरमा आउनेका लागि खान बस्नको समस्या थिएन । यस हिसाबले हेर्दा उनी साधनारत तपस्वी नै हुन् भन्दा हुन्छ । केही वर्षपछि उनका छोरा बलजित पनि ठाकुरद्वारामा बसाइ सरेर आए र घरजम गरे ।
माघीको बिहान २ बजेदेखि नै मानिसहरू नजिकका कुलाहरूमा नुहाउन भिड लाग्थे । चिसो पानीमा चोपलिन एक छिन त ठुलै साहस चाहिन्थ्यो । शरीरको प्रत्येक अङ्गमा कम्पन गराउने त्यो चिसोले घण्टौँसम्म दाँत किट किटाउँथे । उता मन्दिर परिसरमा पनि अँध्यारैदेखि दर्शनाथीहरुको घुइँचो लाग्थ्यो । रातभरि पेट्रोम्याक्सको उज्यालोमा मन्दिर परिसर र मेला झल्झलाकार हुन्थ्यो ।
त्यति बेला ठाकुरद्वारामा जाने तीर्थालुहरु हिँडेरै जाने धेरै हुन्थे । भुरीगाउँबाट कञ्चनपुर, नेउलापुर, गोदाना हुँदै ओराही खोलामा चप्पल फुकालेर चिसो पानीमा साथीभाइसँग हात समातेर चप्लंगचप्लंग हिँड्नुको मज्जा पनि बेग्लै हुन्थ्यो । सुखाड सुतैया हुँदै वनतरियाको जङ्गलमा एक्लैदुक्लै हिँड्न नसकिने हुनाले मानिसका समूहहरू देखिन्थे । समूहमा गएका मानिसहरू मेला पनि सकेसम्म समूहमै घुम्थे मेलामा हराइएला भनेर ।
राति ठाउँ ठाउँमा आगोका धुनीहरूमा मान्छे झुम्मिन्थे । मेलामा किसिम किसिमका मनोरञ्जनका साधनहरू हुन्थे । कोही रिङले रुपैयाँ लपेटेको इँटालाई घेर्ने खेल खेल्थे, कोही चक्रे पिङको आनन्द लिन्थे । पछिपछि त भिडियो पनि देखाइन्थ्यो । नमकहलाल, गंगवा, तेजाव, कुदरतका कानून, घरद्वार जस्ता फिलिम हेर्न टिकट लिनेहरूका कारण टिकट पाउनै मुस्किल हुन्थ्यो । बतासा, बन्दुक, ममफली, भुजाका लड्डु किन्ने बच्चाहरूको घुइँचो हुन्थ्यो ।
माघीको बिहान २ बजेदेखि नै मानिसहरू नजिकका कुलाहरूमा नुहाउन भिड लाग्थे । चिसो पानीमा चोपलिन एक छिन त ठुलै साहस चाहिन्थ्यो । शरीरको प्रत्येक अङ्गमा कम्पन गराउने त्यो चिसोले घण्टौँसम्म दाँत किट किटाउँथे । उता मन्दिर परिसरमा पनि अँध्यारैदेखि दर्शनाथीहरुको घुइँचो लाग्थ्यो । रातभरि पेट्रोम्याक्सको उज्यालोमा मन्दिर परिसर र मेला झल्झलाकार हुन्थ्यो । पेट्रोम्याक्समा छिनछिनमा दम दिनेहरू तम्तयार भएर बसेका हुन्थे । कसै कसैले जेनरेटरबाट पनि बत्ती बाल्थे । भजन कीर्तनमा स्वयम् मन्दिर र ठाकुरजी लट्ठै भए झैँ लाग्थ्यो । भगवानका समर्पणमा भोकै नाचिरहेका आस्तिकहरू नाच्दानाच्दै ढल्थे । केहीलाई पानी छम्केर ब्युँताइन्थ्यो ।
ठाकुरद्वाराको मेला सकेर फर्किने केटाकेटीको हातमा एउटा बन्दुक, एक झोला ममफली, सुन्तला, बतासा या अन्य खानेकुरा हुन्थे । २ रुपैयाँको ममफली किन्दा एक जनाले भुरीगाउँसम्म पुग्दा खानलाई पुग्थ्यो । कोही टिर्लिंगटिर्लिंग साइकलका घण्टी बजाउँदै बाटोमा हिँडिरहेकालाई तर्किन बाध्य पार्थे । ठाकुरद्वारा पुगेकाहरू हात्ती हेर्न हात्तीसार पुग्ने सौख पनि हुन्थ्यो ।
उता मेलाभित्र लाउडस्पिकरमा भजन आउँथे । बेलाबेला कसैलाई कतै उपस्थित हुन अनुरोध गरिएको, कसैको बच्चा हराएको, कसैको सामान हराएको, पाउनुहुने महानुभावले फलानालाई बुझाइदिनुहोला भन्ने सन्देश सुनिन्थे । मन्दिरको मूल ढोकाबाट प्रवेश गरेपछि अनुहार प्रस्ट नभएको हनुमानको ढुङ्गे मूर्ति देखेपछि बल्ल मेलामा आउनुको उत्कर्षमा पुगे झैँ लाग्थ्यो । मन्दिर परिसरमा रहेका मूर्तिहरू र भुँइमा समेत चामल, अक्षता र सिक्काहरू यत्रतत्र छरिएका हुन्थे । गाउँ गाउँबाट आएका भक्तहरु पूजापाठमा लीन हुन्थे भने सर्वसाधारणहरू सामान्य दर्शन मात्रै गरेर फर्किन्थे । अशक्तहरूलाई लडिया र लहरुबाट बोकेर दर्शन गराइन्थ्यो । दर्शनपछि ठाउँ ठाउँमा चूला बनाएर खाना पकाएको देखिन्थ्यो । कोही कोहीले खाना बाटैमा, ओराही नदीको किनार पुगेपछि पनि बनाउँथे । एक किसिमको पिकनिकजस्तो पनि हुन्थ्यो ।
ठाकुरद्वाराको मेला सकेर फर्किने केटाकेटीको हातमा एउटा बन्दुक, एक झोला ममफली, सुन्तला, बतासा या अन्य खानेकुरा हुन्थे । २ रुपैयाँको ममफली किन्दा एक जनाले भुरीगाउँसम्म पुग्दा खानलाई पुग्थ्यो । कोही टिर्लिंगटिर्लिंग साइकलका घण्टी बजाउँदै बाटोमा हिँडिरहेकालाई तर्किन बाध्य पार्थे । ठाकुरद्वारा पुगेकाहरू हात्ती हेर्न हात्तीसार पुग्ने सौख पनि हुन्थ्यो । वर्षैभरि भेट्न नपाएका आफन्त र साथीभाइ त्यहाँ भेट्दा त्यसको चर्चा घरमा आएर पनि गरिन्थ्यो । वनतरियाको जङ्गलमा कर्मलाका गोरे नेपालीको पछिपछि लागेर ‘मयूरको कल्की मयूरको कल्की, लैजान्छु पातलीलाई गैजान्छु ढल्की’ भन्ने चुट्के गीतको धुनमा नाच्दै र गाउँदै फर्किनुको आनन्द पनि बयान गरी साध्य छैन । बाटो नछुट्टिउन्जेल उनको बाँसुरी सुनिरहूँ जस्तो लाग्थ्यो गोदानाको ओराही तर्ने लडियाहरु हिलोमा फसेर मान्छेले धक्का लगाउने र राँगालाई जोड जोडले पिटेर उकाल्ने तरिका पनि अनौठो थियो ।
माघीमा के भयो, के गरियो, के खाइयो त्यसको चर्चा साथीभाइलाई सुनाउन स्कुल खुल्नुपर्थ्यो । केही दिन कसैले बाटोमा सर्प भेटेका, कुनै दुई गाउँका युवाबिच कुटाकुट भएको, कोही प्रेमीप्रेमिकाहरुलाई मेलाले भागेर विवाह गर्ने साइत जुराइदिएको जस्ता चर्चा सुनिन्थे । तर मेलामा गएका कारण कसैको मृत्यु नै भएको सुनिँदैनथ्यो ।
माघी आफैमा मैमत्त थियो । हामी झन् उन्मत्त । बाटोमा कसैले खोपी खेलिरहेका देखे त्यतै झुम्मिने । पाँच पैसाका ढ्याकहरू खोपीमा राखेर आठानाको ढ्याकले ५ मिटर परबाट हान्नुपर्ने । लङ्गुर बुर्जामा पनि त्यत्तिकै भीड । म प्रायः झन्डामा एक मोहोर चार आना थापेर खेल्थेँ, धेरैजसो हार्थेँ । त्यसपछि मलाई कहिल्यै जुवातास पैसा थापेर खेल्न मन लागेन । हामी कसैले लट्टु खेलेको देखे त्यतै ओइरिने । कसको लट्टुले कसको लट्टुलाई टाउकैमा हानेर दुई फ्याक पार्छ भन्ने कम्पिटिशन । मान्छेले हिँड्दाहिँड्दै बनेको चिल्लो बाटोमा गुच्चा खेल्नेहरू पनि त्यत्तिकै ।
कोही कोही त १० मिटर टाढा पनि निशाना लगाउन खप्पिस । वास्तवमा ती माघीहरू माघी मात्रै नभएर हाम्रो वर्ष दिनका ठुला उत्सव थिए । बर्दियालाई चिनाउने निशानी थिए । आन्तरिक पर्यटनका पूर्वाधार थिए । सबैले वर्षैभरि प्रतीक्षा गर्ने चाड थिए जहाँ निर्धन कमैयादेखि ठूल्ठूला जिमीदारसम्म मैमत्त हुन्थे । केटाकेटीदेखि वृद्ध वृद्धासम्मको लागि मैमत्त हुने अवसर हुन्थ्यो । मैमत्त आफ्नै लागि, समाजका लागि र भगवानका लागि पनि ।