राजापुर, बर्दिया : बर्दिया राजापुर महोत्सव २०८० को तयारी पुरा भएको छ । ‘समग्र बर्दियाको प्रमुख आधार, कृषि, पर्यटन, व्यापार, संस्कृति र पूर्वाधार’ भन्ने मूल नारा सहित पौष २७ गते शुक्रवारदेखि सञ्चालन हुने महोत्सवको तयारी पुरा भएको महोत्सव आयोजक समितिका प्रमुख व्यवस्थापक सूर्य केसीले जानकारी दिनुभयो ।
यस पटक बर्दिया राजापुर महोत्सवमा नेपाली सिने जगतका महानायक राजेश हमाल, चर्चित मोडल तथा नायक पल शाह, गायक प्रमोद खरेल, हास्य कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’, गायिका अनु चौधरी एवम् स्थानीय कलाकारहरूको प्रस्तुति रहने बर्दिया उद्योग वाणिज्य सङ्घ राजापुरका महासचिव लोकराज ढुगांनाले बताउनुभयो ।
विगतका वर्षहरूमा झैँ यस वर्ष पनि थारु गाउँ मेला आकर्षणको केन्द्र रहने स्थानीयहरूले पूर्वानुमान गरेका छन् । पौष २७ गते सुरु भएर माघ ९ गते सम्म चल्ने महोत्सव हुलाकी राजमार्गको दक्षिणतर्फ कैलाली जाने बाटोको छेउको चौरमा लाग्नेछ ।