onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

चुरेको स्वर्णमहोत्सव: पूर्व विद्यार्थी डा. उपाध्यायको ‘गुरूदक्षिणा’ विमोचन

Sambad ADD long

बगनाहा, बर्दिया : चुरे माध्यमिक विद्यालय, बगनाहाको ५०औँ स्वर्णमहोत्सव समारोहमा डा. कालिकाप्रसाद उपाध्यायद्वारा लिखित संस्मरणात्मक पुस्तक गुरुदक्षिणाको विमोचन गरिएको छ । चुरेका पूर्व विद्यार्थी कृषि वैज्ञानिक डा. उपाध्यायद्वारा लिखित पुस्तकको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनी प्रदेशसभा सदस्यद्वय जन्मजय तिमिल्सिना र कृष्णा कुश्मा थारु (आस्था) लगायतले संयुक्तरुपमा विमोचन गर्नु भएको हो ।

आफ्ना सम्पुर्ण गुरुहरुको स्मरण गर्दै पुस्तक प्रकाशन गरेको पुस्तकका लेखक डा. उपाध्यायले बताउनुभयो । पुस्तकमा चुरे माध्यमिक विद्यालयमा अध्ययनरत छँदा आफूलाई अध्यापन गराउनुहुने शिक्षकहरु कृष्णप्रसाद पौड्याल, मदन ज्ञवाली, राममणि शर्मा, नन्दगोपाल श्रीवास्तव, भोजराज पण्डित, तिलकप्रसाद शर्मा शास्त्री, किरुलाल थारु, रेश्मीराज सुवेदी, सन्तराम बस्याल, ध्रुवबहादुर शाह, फुलराम थारु, गजेन्द्र घर्तीमगर, ओमराज ढुंगाना, दुर्गा जोशी, मक्कुराम थारु, नरहरि बजगाई, कृष्णबहादुर केसी र बुद्धिमान चौधरीको सिकाइका अनुभव र अनुभूतिलाई संस्मरणात्मक रुपमा प्रस्तुत गरिएको छ ।

सन् २०११ देखि २०१५ सम्म पिएचडीको लागि अष्ट्रेलियामा रहँदा इन्टरनेटका माध्यमबाट चुरेमा अध्ययन गरेका साथीभाई तथा चुरेमा अध्यापन गराउनु भएका गुरुहरु फेसबुकमा भेटिएको स्मरण गर्दै डा. उपाध्यायले भन्नुभयो “एकजना गुरुले मलाई गुरुदक्षिणा के पठाउँछौ ? भनेर ठट्टा गर्नुभयो । मैले त्यसलाई गम्भीरतापूर्वक लिएँ र भनें, सबै सरहरुको लागि साझा दक्षिणा के हुनसक्छ भनेर सोँच्दैछु । त्यसपछि मैले आफूलाई अध्यापन गराएका सरहरुबारे उहाँहरुले आफूमा छोडेको छापलाई विषयवस्तु बनाएर लेख्नथालें ।”

सामाजिक संजाल फेसवुकमा केहि लेखहरु पोष्ट गरेपछि त्यसमा साथीभाइ र सरहरुले दिएका प्रतिकृयाबाट आफू उत्साहित भएर लेखहरुलाई एउटै पुस्तकमा संग्रहित गर्ने कार्यमा लागेको उहाँले बताउनुभयो । आफुले अध्ययन गरेको विद्यालय र गुरुहरुबारे लेख्ने कार्य सकिएपछि तयार भएको पुस्तक सोही विद्यालयमा हस्तान्तरण गर्ने उपर्युक्त समयको खोजीमा आफु रहेको स्मरण गर्दै करिब १२ वर्षको समयावधिमा लेखिएका लेखहरु समावेश गरेर तयार गरिएको पुस्तक विद्यालयको स्वर्णमहोत्सवको अवसरमा लोकार्पण गरेको बताउनुभयो ।

गुरुदक्षिणा पुस्तकमा समावेस गरिएका लेखहरुमा कुनै सिलसिला नभएको र मनमा उर्लेका भावनाका छालहरु जुन क्रममा प्रवाहित भए, त्यही श्रृंखलालाई समावेश गरेर पुस्तक तयार गरिएको उहाँले बताउनुभयो । पुस्तकमा नेपालीमा आदरार्थी नमानिएका उ, त्यो, उनी जस्ता शब्दहरु प्रसंगवश सर्वनामका रुपमा आदरपूर्वक भाषाको मिठासलाई विचार गरेर प्रयोग गरिएको समेत लेखक उपाध्यायले जानकारी दिनुभयो ।

समाजमा अनन्त कालसम्म जीवित रहनुपर्ने मानिसहरु समयक्रममा खोजीका विषय नबनुन र खोज्दा कुनै दस्तावेजमा सजिलै भेटिन सकुन् भन्ने उद्देश्यले पुस्तकको प्रकाशन गरिएको बताउँदै उपाध्यायले भन्नुभयो “पुस्तक व्यक्ति विशेषको जीवनी या इतिहास होइन । यो स्कूलको वा मेरो स्कूले जीवनको इतिहास पनि होइन । यो मेरो आत्मकथा पनि होइन । यो आफूलाई शिक्षित गराएका गुरु र धुलाम्मे हुञ्जेल लडिबुडी गरेर खेलेको एवम् कक्षाकोठाभित्र ज्ञान सिकेको स्कूलको सम्झना मात्र हो । पढ्दै जाँदा यसमा इतिहास, समाज, जीवन, दर्शन, कर्तव्य, आत्मकथा जस्ता विषयवस्तु पनि भेटिनसक्छन् ।”

अनलाइन संवादसंगको कुराकानीमा चुरे माध्यमिक विद्यालय, बगनाहाबाट २०४६ सालमा एसएलसी दिनु भएका डा. उपाध्यायले विद्यालयबाट निस्केपछि कलेज र जागिरको व्यस्ततामा पनि स्कूलको झझल्कोले नछोडेको स्मरण गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.