मधुवन, बर्दिया : मधुवन नगरपालिकामा “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नारा सहित ५औं मेयर कप तथा रास्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिता आइतबारबाट सुरु भएको छ ।
मधुवन नगरपालिकाको आयोजना तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मधुवन नगरपालिका वडा नम्बर-९, पूर्णपुर संयोजक रहेको छ। उक्त छनौट प्रतियोगिता ३ विधा (एथलेटिक्स, कबड्डी र भलिबल) र २ अतिरिक्त विधामा (खो-खो, फुटबल) प्रतियोगिता गरिने सचिवालयले जनाएको छ । प्रतियोगितामा मधुवन नगरपालिकामा संचालित सामुदायिक विद्यालय र संस्थागत विद्यालय गरि ३६ वटा विद्यालयले सहभागिता जनाएका छन् ।
समुद्घाटन समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य तथा लुम्बिनी प्रदेश नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिना, विशिष्ट अतिथी पुर्व लुम्बिनी प्रदेशसभा सदस्य कुल प्रसाद पोख्रेल, जिल्ला समन्वय समिति बर्दियाका संयोजक सुर्य बहादुर बिष्ट, मधुवन नगर प्रमुख तेज बहादुर भाट, उप-प्रमुख अनिता चौधरी, मधुवन नगरपालिकाका पूर्व नगर प्रमुख गणेश बहादुर के. सी., सबै वडाका अध्यक्षहरु, विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधी र शिक्षक, शिक्षिका बुद्धिजीवीहरु तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
समुद्घाटन समारोहका प्रमुख रहनु भएका लुम्बिनी प्रदेश सभा सदस्य तिमिल्सिनाले कार्यक्रमलाई सम्बोधन गर्दै खेलाडीहरुलाई अनुशासित भएर खेल्न आग्रह गर्नुभयो ।उहाँले भन्नुभयो “खेलकुद जितेर मात्रै हुँदैन, अनुशासन छैन भने प्रतियोगिता विजेताको औचित्य हुँदैन, त्यसैले अनुशासनमा रहेर आफ्नो प्रतिभा प्रर्दशन गर्नुपर्ने हुन्छ ।”
कार्यक्रममा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पूर्णपुरका प्रधानाध्यापक थिर बहादुर वलिले स्वागत मन्तब्य राख्नुभएको थियो । सामाजिक विकास समिति तथा ५औं मेयर कप तथा राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिताका संयोजक मीन बहादुर थापाको संयोजकत्वमा समुद्घाटन समारोह सम्पन्न भएको हो । ५औं मेयर कप तथा राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिता मंसिर ३० गते सम्पन्न हुनेछ ।