पाटेबाघको आक्रमणबाट राजापुरमा एक जनाको ज्यान गयो
भुरीगाउँ, बर्दिया : पाटेबाघको आक्रमणबाट राजापुर नगरपालिकामा एक महिलाको ज्यान गएको छ । राजापुर नगरपालिका-१०, सुकुम्बासी टोलकी २४ वर्षिया ममता सुनारको पाटेबाघको आक्रमणबाट ज्यान गएको हो ।
घर नजिकैको वनबाट आएको पाटेबाघले आक्रमण गर्दा सुनारको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत दोर्णराज शर्माले जानकारी दिनुभयो । आइतबार दिउँसो नेपाल भारत सिमानामा पर्ने घर नजिकैको वनमा घाँस काट्न गएका बेला सुनारलाई पाटेबाघले आक्रमण गरि घाइते बनाएको थियो ।
आक्रमणमा परि गम्भीर घाइते भएकी सुनारलाइ उपचारका लागि जिल्ला अस्पताल गुलरिया पुर्याइएकोमा अस्पतालमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी तुल्सिराम अर्यालले बताउनुभयो ।
पछिल्लो समय नेपाल-भारत सिमानामा पर्ने तथा भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष र नेपालको बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको चहलपहल बढेको छ । वन्यजन्तु ओहोरदोहोर गर्ने मुख्य मार्ग खाता जैविकमार्ग क्षेत्रमा पर्ने मधुवन नगरपालिका र राजापुर नगरपालिका क्षेत्र आसपासका राष्ट्रिय वन तथा सामुदायिक वन र बर्दिया राष्ट्रिय निकुञ्ज आासपासका क्षेत्रमा पाटेबाघ आक्रमणका घटना बढ्दै जाँदा मानवीय क्षति बढेको छ ।
नेपाल भारत सिमानामा पर्ने तथा भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष र नेपालको बर्दिया निकुञ्जका वन्यजन्तु ओहोरदोहोर गर्ने मुख्य मार्ग खाता जैविक मार्ग आसपासका क्षेत्रमा मात्रै १८ जनाको बाघको आक्रमणबाट ज्यान गएको छ ।
झन्डै चार वर्षको अवधिमा बाघको आक्रमणबाट राष्ट्रिय वन र निकुञ्ज क्षेत्रमा गरि बर्दियामा ३५ जनाको ज्यान गइसकेको छ । बर्दियामा मानव र बाघबीच द्वन्द्व बढ्दै गएको छ ।