भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाले नगर क्षेत्रका मुख्य बजारमा अनुगमन गर्दा १३ वटा पसलबाट १ सय १२ दर्जन अर्थात् १ हजार ३ सय ४४ वटा प्लास्टिक फूलका माला जफत गरेको छ । जफत गरिएका प्लास्टिक फूलका माला ३० रुपैयाँदेखि ७० रुपैयाँसम्म बिक्री भईरहेको झन्डै ८० हजार मूल्य बराबरका रहेको अनुगमन टोलीका सदस्य ध्रुबराज बमले बताउनुभयो ।
ठाकुरबाबा नगरपालिकाका मुख्य बजार भुरीगाउँ, ठाकुरद्वारा, बुकुवाका १३ वटा पसलमा शुक्रवार दिउँसो अनुगमन गर्दा बिक्री गर्न राखिएका झन्डै ८० हजार मूल्य बराबरका १२ दर्जन अर्थात् १ हजार ३४४ वटा प्लास्टिक फूलका माला जफत गरेको उहाँले बताउनुभयो । प्लास्टिक फूलका माला बिक्री नगर्न नगरपालिकाले सूचना निकालेपनि प्लास्टिक फूलका माला बिक्री वितरण भइरहेको भन्ने गुनासो आएपछि अनुगमनमा गएको हो ।
नगरपालिकाले गत वर्षदेखि औपचारिक कार्यक्रममा खादा तथा ब्याच नलगाउने गरेकोमा यस वर्ष तिहार लक्षित प्लास्टिकका माला बिक्री नगर्न अनुरोधसहित सूचना निकालेको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनुभयो ।
अनुगमनको पहिलो चरणमा शुक्रवार प्लास्टिकका माला मात्रै बरामद गरिएको छ तिहारको भाइटीका भन्दा एक दुई दिन अघि फेरि पनि अनुगमन गर्ने त्यतिबेला पनि प्लास्टिकका माला बिक्री वितरण गरिएको पाइएमा माला बरामदसँगै जरिबाना लिने अनुगमन समितिका संयोजक इन्द्र बहादुर राजवंशीले जानकारी दिनुभयो । प्लास्टिकजन्य सामग्रीले वातावरणमा असर पर्ने र बाहिरि देशमा आर्थिक निर्यात भएकाले पनि प्लास्टिकका माला आफ्नो पालिकामा प्रतिबन्ध लगाइएको ठाकुरबाबा नगरपालिकाकी उप प्रमुख विना कुमारी भट्टराईले बताउनुभयो ।
अघिल्लो वर्ष स्थानीयवासी तथा फूल उत्पादनमा प्रेरित व्यवसायीले गुनासो गरेपछि अहिले आफैले नीति तथा कार्यक्रम ल्याएरै यस वर्षदेखि प्लास्टिकका माला आयात र बिक्रीमा प्रतिबन्ध लगाइएको उहाँले बताउनुभयो । अनुगमनमा सचेत गराइएका केही व्यापारीहरूबाट माला जफत गरेको र यसलाई निरन्तरता दिने उहाँको भनाइ छ ।
प्लास्टिकजन्य सामग्री नेपाल बाहिरबाट आयात हुने र अर्थतन्त्र बाहिरिने तथा मानव जीवनमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले रोक लगाइएको नगर प्रमुख तिलकराम लम्सालले बताउनुभयो । प्लास्टिकजन्य फुलका माला विक्री वितरणमा रोक लगाउँदा स्थानीय फुलले बजार पाउने भएपछि फूल उत्पादन गर्ने कृषक स्थानीयवासी खुसी भएका छन् भने र यसले वातावरणमा पार्ने नकारात्मक प्रभावलाईसमेत कम गर्ने स्थानीयले जनाएका छन् ।