
भुरीगाउँ, बर्दिया : नेपाली कांग्रेसका सह–महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य (सांसद) किशोरसिंह राठौरले २०८४ सालको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले बीच मुख्य प्रतिस्पर्धा हुने भएकाले अहिलेदेखि नै नागरिकमैत्री काम गर्न नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेस ठाकुरबाबा नगरपालिका नगर कार्यसमितिको आयोजनामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुबीच भएको अन्तरक्रिया कार्यक्रम तथा नेता कार्यकर्ता भेटघाटका क्रममा सह–महामन्त्री राठौरले आउँदो निर्वाचनमा अरु पार्टी भन्दापनि नेपाली कांग्रेसको नेकपा एमालेसंग प्रतिस्पर्धा हुने भएकाले अहिदेखि नै वडादेखि पालिकासम्म इमान्दारीपूर्वक नेता तथा कार्यकर्ताले नागरिकमैत्रि काम गर्न आग्रह गर्नु भएको हो ।
नेपाली कांग्रेस ठाकुरबाबा नगरपालिका नगर कार्यसमितिको आयोजनामा नेपाली कांग्रेसका सह–महामन्त्री एवम् संघिय सांसद किशोरसिंह राठौरको प्रमुख आतिथ्यतामा ठाकुरबाबा नगरपालिका–२ मा भएको अन्तरक्रिया र नेता तथा कार्यकर्ता भेटघाटका क्रममा नेपाली कांग्रेस पार्टी भित्र विभिन्न गुट उपगुट बनाउनु भन्दा पनि एकजुट भएर अहिलेदेखि नै नागरिकमैत्री काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको हो ।
ठाकुरबाबा नगरपालिकामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सांसद किशोरसिंह राठौर, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक एवम् प्रदेशसभा सदस्य जन्मजय तिमिल्सिना, ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, विभिन्न वडाका अध्यक्ष, क्षेत्रीय सभापति, वडा सभापति लगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको नेपाली कांग्रेस ठाकुरबाबा नगर सभापति पदम बहादुर खड्काले जानकारी दिनुभयो ।
ठाकुरबाबा नगरपालिकासहित क्षेत्र नम्बर २ र बर्दियाको समग्र विकासका लागि नेपाली कांग्रेसले काम गरिरहेकाले इमान्दार भएर पार्टीको नियममा लागिपर्न नेता तथा कार्यकर्तालाई सह–महामन्त्री राठौरले आग्रह गर्नुभएको छ । यसैबीच ठाकुरबाबा नगरपालिका वडा नम्बर–३ नेउलापुर गाउँमा पुगेर स्थानीय नेता तथा कार्यकर्तालाई भेट गरि आफुले सक्दो पहल गरि विकास निर्माणसंगै पार्टीलाई वडादेखि नगरसम्म मजबुत बनाउन गाउँगाउँमा पुगेर समस्या लिने र सुझाव सल्लाह दिने कार्य अघि बढाएको राठौरले बताउनुभयो ।
आफू बाँकेबाट निर्वाचित भएपनि आफू बस्ने जिल्ला बर्दियाको विकासका बारेमा पनि चिन्तन गर्दै आफुसंगै, प्रदेश सांसद र नगरप्रमुखलाई पनि समस्या समाधानका लागि खबरदारी गर्नुपर्ने उहाँले धारणा राख्नु भएको थियो । थारु समुदायको बाहुल्यता रहेको ठाकुरबाबा नगरपालिकामा पनि थारु समुदायबाट नेता चयन गरि अग्रसर भएर काम गर्न आग्रह गर्दै आगामी निर्वाचनका लागि पनि तयारी गर्न अहिलेदेखि नै लागि पर्नुपर्ने उहाँले बताउनुभयो । बाढीपीडितले घर निर्माणका लागि पाउनुपर्ने रकम अहिलेसम्म पनि नपाएको विषयमा गुनासो राख्दा उपलब्ध गराउनका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै गाउँटोलको विकासका लागि नेपाली काँग्रेसले काम गरिरहेको उहाँले बताउनुभयो ।
बारबर्दियाको बनियाभार र ठाकुरबाबाको बगनाहा खैलार जोड्ने बबई नदिमा पुल, भुरीगाउँ नेउलापुरबाट ठाकुरद्वारासंग प्रत्यक्ष जोड्ने छोटो दुरिको बाटोमा पर्ने ओराही खोलामा पुल निर्माणका लागि योजना पार्न सफल भएको बताउँदै अब छिट्टै नेपाल सरकारसंग बजेट विनियोजन गर्न अनुरोध गरि पुल निर्माण कार्य अघि बढाउन पहल गर्ने समेत सह–महामन्त्री राठौरले प्रतिवद्धता जनाउनुभएको छ ।