ठाकुरबाबा : डुबान भएका ठाउँमा निकुञ्जसंगको समन्वयमा व्यवस्थापन गर्ने तयारी
भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकामा नगरस्तरिय विपद् व्यवस्थापन समितिको बैठक तथा छलफल भएको छ । नगर प्रमुख तिलकराम लम्सालको अध्यक्षतामा बैठक बसि विभिन्न निर्णय गरिएको छ । दुईदिनदेखि आएको भारी बर्षाका कारण क्षति भएका घरधुरीको तीन दिनभित्र सर्वेक्षण गर्ने निर्णय गरिएसंगै डुवान घर तथा क्षति संकलन गर्न सुरु गरिने ठाकुरबाबा नगरपालिकाको कार्यालयले जनाएको छ ।
ठाकुरबाबा नगरपालिकाको विभिन्न क्षेत्रहरुमा पानीको प्राकृतिक बहाव् रोकिएर डुबान हुने तथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र भई बहने खहरे खोलाहरुमा रुख, दाउरा अड्किएर बहाव परिवर्तन भएको हुँदा व्यवस्थापनका लागि बर्दिया राष्ट्रिय निकुञ्जसंग तत्काल समन्वय गर्ने भएको छ । यसैगरि ठाकुरबाबा नगरपालिकाको विभिन्न क्षेत्रहरुमा रुख तथा हाँगाविगा घरको छतमाथि खसेर घरहरु क्षति हुने भएकाले त्यसको व्यवस्थापनका लागि बर्दिया राष्ट्रिय निकुञ्जसंग समन्वय गरि जिल्ला विपद् व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय भएको छ ।
भारी बर्षाका कारण डुबान भएका क्षेत्रहरुमा विभिन्न रोगहरुको महामारी फैलिन सक्ने सभांवना भएकाले पालिका भित्रका स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र तथा अस्पतालहरुमा स्वास्थ्यकर्मीहरुलाई सचेत रहन निर्देशन दिने र आवश्यक औषधीहरुको व्यवस्थापन गर्ने गराउने निर्णय भएको छ । यस्तै विस्थापित परिवारलाई डिग्निटी किट र सरसफाई व्यवस्थापनमा सहयोग गर्न संघसंस्थाहरुलाई अनुरोध गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजालले जानकारी दिनुभयो ।