
भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाको भुरीगाउँ बजार क्षेत्रमा सञ्चालित फार्मेसी, मेडिकल तथा पोलिक्लिनिकहरुको अनुगमन गरिएको छ । अनुगमनका क्रममा अधिकांश फार्मेसी, मेडिकल तथा पोलिक्लिनिकहरु कानुन बमोजिम दर्ता नभई सञ्चालन गरेको पाइएको छ ।
अनुगमनका क्रममा भुरीगाउँमा सञ्चालित अशिम अस्पतालको फार्मेसी नविकरण नगराई सञ्चालन गरेको तथा व्यवसायी फर्मेसीमा अनुपस्थित रहने गरेको पाइएको छ । अशिम अस्पतालको दर्ता प्रमाणपत्र जफत गरी औषधी बिक्रि वितरणमा रोक लागाइएको जनाइएको छ । भुरीगाउँ क्षेत्रमा सञ्चालित अन्य फार्मेसीहरुमा बीलमा समस्या देखिएको तथा म्याद नाघेको औषधीहरु समेत पाइएको छ ।
अनुगमनका क्रममा जीवनदान पोलिक्लिनिक र नवजीवन पोलिक्लिनिक दर्ता नभई सञ्चालन गरेको पाइएको छ । भुरीगाउँमा सञ्चालनमा रहेका पोलिक्लिनिक मध्य केपि पोलिक्लिनिक मात्रै सबै प्रक्रिया पुरा गरेर सञ्चालनमा ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र बहादुर राजवंशीले जानकारी दिनुभयो । भट्टराई मेडिकललाई भने आयुर्वेदिक र एलोपेथिक औषधी छुट्टाछुट्टै रुपमा विक्रिका गर्न आवश्यक निर्देशन दिइएको राजवंशीले बताउनुभयो ।
अनुगगमनका क्रममा नेपालमा दर्ता नभएको औषधी समेत बिक्रि भइरहेको तथा भुरीगाउँमा दर्ता नभएको आँखा अस्पताल समेत सञ्चालनमा रहेको पाइएको छ । कानुन विपरीत सञ्चालनमा रहेको फर्मेसी, मेडिकल तथा पोलिक्लिनिकका सञ्चालकहरुलाई आवश्यक निर्देशन दिई कागजातहरु नियन्त्रणमा लिएको छ । साइना मेडिकलबाट दर्ता नभएको औषधी जफत गरी औषधि व्यवस्था विभाग नेपालगञ्जमा बोलाइएको छ ।
अनुगमनमा स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरी, औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जका फार्मेसी निरिक्षक दिपेन्द्र शाह, ठाकुरबाबा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्र बहादुर राजवंशी, प्रहरी, पत्रकार लगायतको संयुक्त टोलीद्वारा अनुगमन गरिएको ठाकुरबाबा नगरपालिका आर्थिक विकास शाखा प्रमुख ओम राना क्षेत्रीले जानकारी दिनुभयो ।