भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका–७, सुन्दरपुरको शिवसुन्दर माध्यमिक विद्यालयलाई हात धुने स्थान हस्तान्तरण गरिएको छ । बालविवाह न्यूनीकरण परियोजना अन्तरगत प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बि-ग्रुप) बाँकेको साझेदारी तथा ठाकुरबाबा नगरपालिकाको सहकार्यमा २ लाख ९३ हजार ८२५ रुपैयाँको लागतमा निर्माण गरिएको हात धुने स्थान विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
बालबालिकाहरुको सहजता र शिक्षण सिकाई उपलब्धिमा बृद्धि गराउने उद्देश्यले हात धुने स्थानको निर्माण गरी हस्तान्तरण गरिएको जनाइएको छ । बि–ग्रुप बाँकेको साझेदारीमा बालविवाह न्यूनीकरण परियोजना मार्फत् विद्यालय एवम् अध्ययनरत बालबालिकाको शिक्षा, स्वास्थ्य तथा भौतिक विकास लगायत विविध पक्षमा निरन्तर सहयोग र समन्वयकारी भूमिकाको मुल्याङ्कन गर्दै हात धुने स्थान हस्तान्तरण कार्यक्रममा विद्यालयले प्रशंसापत्र समेत प्रदान गरिएको छ । बालविवाह न्यूनीकरण परियोजना जिल्लाको ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका र गेरुवा गाउँपालिकामा सन् २०२२ देखि सञ्चालन हुँदै आई रहेको छ ।
शिवसुन्दर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कलम बहादुर विष्टले बालबालिकाहरुका लागि विभिन्न किसिमका कार्यक्रम ल्याएर मात्र नहुने भएकाले सिकाई उपलब्धीलाई विशेष जोड दिनुपर्ने बताउनुभयो । उहाँले आफ्ना बालबालिकाहरुको सिकाई उपलब्धिका विषयमा अभिभावक र शिक्षक बिचमा छलफल गरी बालबालिकाहरुको सिकाई के–कस्तो भइरहेको छ र आगामी दिनमा सिकाई उपलब्धी वृद्धि गर्नका लागि कस्ता खालको उपाय अपनाउन सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “ठुला ठुला भवन मात्र भएर हुँदैन, यदि बालबालिकाहरुको सिकाईमा वृद्धि भएन भने त्यसको केहि औचित्य हुँदैन, यसका लागि विद्यार्थी सबै विषयमा दख्खल हुने वातावरण सृजना गर्नुपर्छ ।”
हातधुने स्थान हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालयका प्राधानाध्यापक सुरेन्द्र चौधरीले विद्यालयमा हातधुने स्थान निर्माण गरी बालबलिकाहरुको स्वास्थ्य, शिक्षा र भौतिक विकास लगायत विविध पक्षमा सहयोग गर्ने सहयोगी निकायलाई धन्यबाद व्यक्त गर्नुभयो । बालबालिकाहरुलाई हातबाट लाग्न सक्ने संक्रामक रोगबाट बचाउने हातधुने स्थानको महत्वपूर्ण भुमिका रहने समेत प्रधानाध्यापक चौधरीले बताउनुभयो । प्लान इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत विमल गैरेले एकैपटक २० जना विद्यार्थीहरुले प्रयोग गर्न सक्ने गरी निर्माण गरिएको हातधुने स्थानको उचित तरिकाले दिगो रुपमा प्रयोग गर्न आग्रह गर्नुभयो ।
विद्यालयलाई बालमैत्री, आचारसंहिता, लैगिंक तथा बालमैत्री, भय रहित वातावरणमा अध्यापन गराउनुपर्ने, गुनासो सुनुवाई कार्यविधि अनुसार गुनासोलाई सम्बोधन गर्ने, फोकल शिक्षक तोकि महिनावारीबारे व्यवस्थापन गर्नुपर्ने लगायतका विषयलाई उठान गर्दा विद्यालयमा विद्यार्थीहरुको सहभागिता बढाउन सकिने सहभागीहरुले बताएको बि–ग्रुपबाँकेकी फिल्ड सुपरभाइजर विमला रावतले जानकारी दिनुभयो ।