onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

पुष्पलाल श्रेष्ठको सम्झनामा क्याम्पस परिसरमा वृक्षारोपण

Sambad ADD long

भुरीगाउँ, बर्दिया : आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरी देशैभरी मनाइएको छ । नेपालका कम्युनिस्ट पार्टीहरूले विभिन्न कार्यक्रम आयोजना गरी पुष्पलालको योगदानको सम्झना गरेका छन् । विक्रम संवत् १९८१ असार १५ गते रामेछापको भंगेरीमा जन्मिनु भएका श्रेष्ठको २०३५ साउन ७ गते भारतको गोविन्दवल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ वैशाख १० मा भारतको कोलकाताको श्यामबजारमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नु भएको थियो । पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशी र मोतीदेवी श्रेष्ठको सक्रियतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।

नेकपा स्थापना गर्नुअघि उहाँले १९९८ मा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गर्नु भएको थियो । नेपालका प्रायः सबै कम्युनिस्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन् । व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताउन, अभावैअभावमा बाँच्न र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि उहाँले राष्ट्र र जनताप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन नदिएको सबैले स्मरण गर्ने गरेका छन् ।

पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसका अवसरमा नेकपा (एमाले) ठाकुरबाबा नगर कमिटिले ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा रहेको मनुसा टिकासिंह थापा बहुमुखि क्याम्पस परिसरमा बृक्षारोपण गरेको छ । यस्तै ठाकुरबाबा नगर कमिटिले सप्ताहव्यापी रुपमा वडा स्तरिय विस्तारीत भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना गर्न लागेको नेकपा (एमाले) ठाकुरबाबा नगर कमिटिका सचिव भक्तराज घोडासैनीले जानकारी दिनुभयो ।

नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य घन नारायण श्रेष्ठले निरङ्कुशता विरोधी, श्रमजीवी वर्गप्रति झुकाव उदार प्रजातन्त्रवादी, सिद्धान्तनिष्ठ, सरल तथा मिलनसार व्यक्तित्वका साथै इतिहास, समाजशास्त्र र मानवशास्त्रको समेत दख्खल राख्ने राजनीतिज्ञको रुपमा पुष्पलाल श्रेष्ठलाई स्मरण गर्नुभयो । नेकपा (एमाले) ठाकुरबाबा नगर कमिटी अध्यक्ष जीवन कुमार शाहीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

Leave A Reply

Your email address will not be published.