ठाकुरबाबा नगरपालिकाद्वारा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न आग्रह
भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न आग्रह गरेको छ । सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७७ को नियम ५ अनुसार सामाजिक सुरक्षा भत्ता लिइरहेका लाभग्राहीहरुलाई आफ्नो वडा कार्यालयमा गएर साउन १ गतेदेखि भदौ मसान्तसम्म अनिवार्य रुपले आफ्नो सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न आग्रह गरिएको हो ।
नवीकरण गर्नका लागि नागरिकताको प्रमाणपत्रको छायाँप्रती, सक्कल चेक १ प्रती, हालसालै खिचिएको फोटो, दलित बालबालिकाको हकमा जन्मदर्ताको छायाँप्रती साथै संरक्षकको नागरिकताको छायाँप्रती र चेक १ प्रती, विधुवा महिलाको हकमा पतिको मृत्युदर्ताको प्रमाण पत्रको छायाँप्रती र अर्को विवाह नगरेको वडाको सिफारिस, सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको छायाँप्रती र अर्को विवाह नगरेको वडाको सिफारिस पेश गर्नुपर्ने जनाइएको छ ।
यस्तै न्यायिक पृथकिकरण गरी बसेका महिलाको हकमा अदालतबाट जारी न्यायिक पृथकिकरणको प्रमाणपत्र, हालसम्म विवाह नगरेको ६० वर्ष उमेर पुगेको महिलाको हकमा वडाको सिफारिस र अपाङ्गता भएका व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गताको परिचयपत्रको रङ्गीन छायाँप्रती सहितको कागजात वडा कार्यालयमा पेश गर्नुपर्ने प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजालले जानकारी दिनुभयो ।
सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७७ को दफा ४ को उपदफा ६ बमोजिम तोकिएको म्याद भित्र नविकरण नभएकाको लगत कट्टा गरीने र भत्ता प्राप्त नहुने तथा लागत कट्टा भएकाको पुनः सुचिकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन २०७५ को दफा १२ बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेको नगरपालिका प्रशासनले जनाएको छ ।