११ बुँदे सहमति भएपछि सांसद गौतमको अनशन तोडियो
बर्दियाको जब्दीघाट पुलमुनि आनशनरत सांसद गौतमको अनशन तोडियो, वार्तामा ११ बुँदे सहमति
बर्दिया : ‘हाम्रो बर्दिया बचाऔँ, समुन्नत बर्दिया बनाऔँ’ भन्ने अभियानसहित विभिन्न १५ बुँदे माग राख्दै आमरण अनशनमा बस्नुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य सञ्जय कुमार गौतमलाई आठौँ दिनमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रि प्रकाश ज्वालाले वार्तामा ११ बुँदे सहमति पश्चात जुस खुवाएर अनशन तोडाउनु भएको छ ।
बबई नदीको जब्दीघाटमा भासिएको पुलको स्पान हटाएर तत्काल पुल निर्माण गर्नुपर्ने, बबई नदीमा तटबन्ध गर्नुपर्ने, भुरिगाउँदेखि तेलपानी हुँदै सुर्खेतसम्म सडक निर्माण यसै वर्षदेखि सुरु गर्नुपर्ने लगायतका १५ बुँदे माग राख्दै गएको वैशाख ३० गते बेलुकादेखि भत्किएको पुलमुनी आमरण अनशनमा बस्नुभएका सांसद गौतमलाई शनिवार दिउँसो भौतिक पुर्वाधार तथा यातायात मन्त्रि प्रकाश ज्वालाले वार्तामा ११ बुँदे सहमति भएपछि जुस खुवाएर अनशन तोडाउनु भएको हो ।
बारबर्दिया नगरपालिका वडा नम्बर ११ मा पर्ने भत्किएको जब्दीघाट पुलमुनि अनशनरत गौतमको अनशन तोडाउन आउनुभएका भौतिक पुर्वाधार मन्त्रि प्रकाश ज्वाला र सांसद गौतमबीच वार्तामा ११ बुँदे लिखित सहमति भएपछि सांसद गौतमको अनशन तोडिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी डिएसपी हिक्मत बहादुर बोहोराले जानकारी दिनुभयो ।
अनसनरत गौतमका प्रमुख मागमध्ये जब्दीघाट आसपासमा नयाँ पुल निर्माणको टेन्डर जेठ महिनाभित्र हुने मन्त्री ज्वालाले बताउनुभयाे । जेठ २० गतेसम्म बाढीले बगाएको पुलको संरचना हटाइने सहमतिपत्रमा उल्लेख छ ।
यसैगरी भारतसँग भएको सँझौताअनुसार गुलरिया मुर्तिहा नाका सञ्चालन प्रक्रिया अघि बढाउने, भुरीगाउँ तेलपानी सडक निर्माण गरिने, बबई र कर्णाली नदी नियन्त्रणका लागि पर्याप्त बजेटका लागि पहल गर्ने, बबई सिंचाइ आयोजना समयमै सम्पन्न गर्ने, वन्यजन्तुबीच द्वन्द्व न्यूनीकरणलगायतका मागमा प्रक्रियागत रुपमा गर्ने सहमति भएको छ ।
सांसद गौतमले आफु आफ्नो क्षेत्रको जनप्रतिनिधि भएकाले पुल निर्माण लगायत जनतासँग प्रत्यक्ष सरोकार राख्ने १५ बुँदे मुख्य मागहरु पूरा नभएसम्म अनशन जारी राख्ने बताउनु भएको थियो । उहाँले भत्किएको पुलमुनी अनशनमा बस्दा र मन्त्रि आफै आएर वार्ता पश्चात ११ बुँदे सहमतिमा अनशन तोडउनुले पुल निर्माण कार्य अघि बढ्ने र उहाँले उठान गरेका मुख्य मागहरु सरकारले तत्काल सुनुवाइ गर्नेमा आफु आशाबादी रहेको प्रेस युनियन बर्दियाका अध्यक्ष दिपकलाल श्रेष्ठले बताउनुभयो ।
आमरण अनशनरत स्थल भत्किएको जब्दीघाट पुलमा भौतिक पुर्वाधार मन्त्रि प्रकाश ज्वालासंगै सांसद दिपक गिरी, बर्दियाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक, नेपाली काँग्रेसका जिल्ला तथा स्थानीय नेता एवं कार्यकर्तासहित जिल्लाका स्थानीयबासीन्दाहरुको बाक्लो उपस्थीती रहेको थियो ।
सांसद गौतमले आफुले सदनमा धेरै पटक बाढीमा भत्किएको जब्दीघाटमा पुल निर्माण लगायत बर्दियाको समग्र विकासका लागि आवाज उठाएपनि राज्यले सधैँ बेवास्ता गरेकाले बाध्य भएर आमरण अनशनमा बस्ने निर्णय लिएको बताउनुभयो । अनशनरत गौतमलाई पाँचौ दिनदेखि स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । पप्पु कन्स्ट्रसनले निमार्ण सम्पन्न गरेको केहि महिनामै जब्दीघाटको पुल २०७४ साउनमा भासिएको थियो भने २०७९ असोजमा बबई नदीमा आएकोे बाढीले पुल बगाएको थियो ।
पुल भासिएर आउजाउ बन्द भएको ६ वर्ष भईसक्दा पनि निर्माण गर्न तर्फ सरकारले चासो नदिँदा र पुल नहुँदा सदरमुकाम गुलरिया तथा बारबर्दिया नगरपालिकाका १ लाख बढि स्थानीयबासिन्दा प्रभावित भएका छन् । बाढीले आधा भत्किएको पुल पनि बगाएपछि पूर्व पश्चिम राजमार्गमा जोड्ने सदरमुकाम गुलरियादेखि बारबर्दिया नगरपालिकाको रम्मापुर सडकखण्डमा सवारीसाधन आउजाउ बन्द छ ।