अनसनरत सांसद गौतमको जीवनरक्षा गर्न आग्रह
गौतमले उठाएका माग तत्काल पूरा गर्न सरकारलाई ध्यानाकर्षण

गुलरिया, बर्दिया : विगत ७ दिनदेखि आमरण अनसनमा बस्नु भएका प्रतिनिधिसभा सदस्य एवम् पूर्व सिँचाइ मन्त्री सञ्जय कुमार गौतमको माग समाधान गरी गौतमको जीवनरक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारसंग आग्रह गरेको छ ।
राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय, नेपालगन्जको टोलीले गौतमको अनशनको स्थलगत अनुगमन गरेको छ । अनुगमनको क्रममा गौतमको स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएकाले वार्ताबाट समस्याको समाधान गरी जीवन रक्षा गर्न आयोगले आग्रह गरेको हो ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा सांसद गौतमले उठाएका उचित मागको सार्थक वार्ता र संवादको माध्यमबाट सम्बोधन गरी आम नागरिकको विकासको अधिकारको सुनिश्चितता गर्न र अनशनरत गौतमको स्वास्थ्यप्रति संवेदनशील भई निजको जीवनको रक्षा आग्रह गरिएको छ ।
प्रतिनिधिसभा सदस्य गौतमको शरीरमा पानीको मात्रा कम भई पिसाबमा समस्या देखिएको र उच्च रक्तचापको बिरामी भएको हुँदा जुनसुकै समयमा गम्भीर समस्या निम्तिन सक्ने अवस्था रहेको बर्दिया अस्पतालका डा. सुभाष पाण्डेयले बताउनुभयो । अनशनको सातौँ दिनसम्म पनि सरकारी निकायबाट अनशन तोड्न कुनै पहल नभएको र अनशन स्थल सडक एवम् स्वास्थ्य सुविधाबाट टाढा रहेकाले आकस्मिक समस्या सिर्जना भइहालेमा जीवन नै जोखिममा पर्न सक्ने अवस्था रहेको पनि आयोगले जनाएको छ ।
अनसनरत सांसद गौतमले उठाएका मागहरूको सम्बोधन गर्न र जीवनरक्षाको माग गर्दै नागरिक समाज संजाल बर्दियाले सदरमुकाम गुलरियाको राधाकृष्ण चोकदेखि शान्तिपूर्ण र्याली निकाली जिल्ला प्रशासन कार्यालय बर्दियामा पुगेर प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल मार्फत् सरकारको ध्यानाकर्षण गराएको छ ।