ठाकुरबाबा नेपालकै पहिलो पूर्ण हात धुने पालिका घोषित
भुरीगाउँ, बर्दिया : ‘पूर्ण सरसफाइयुक्त पालिकाको अभियान, आ–आफ्नै पहलमा हातधुने स्थान’ भन्ने नारासहित बर्दियाको ठाकुरबाबा नगरपालिकालाई नेपालकै पहिलो पूर्ण हात धुने पालिका घोषणा गरिएको छ ।
ठाकुरबाबा नगरपालिका भित्र रहेका सबै वडाका गाउँटोलका घरघरमा टुटिसहितको बाल्टी र साबुन राख्न लगाई यसअघि पूर्ण हात धुने वडा घोषणा गरिसकेपछि आज एक औपचारिक कार्यक्रमको आयोजना गरि पूर्ण हात धुने पालिका घोषणा गरिएको हो । ठाकुरबाबा नगरपालिका वडा नम्बर १ भुरीगाउँमा आयोजित औपचारिक कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्यद्वय जन्मजय तिमिल्सिना, कृष्णा कुश्मा थारु, जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्य बहादुर विष्ट लगायतको सहभागितामा ठाकुरबाबा नगरपालिकालाई नेपालकै पहिलो पूर्ण हात धुने पालिका घोषणा गरिएको नगरप्रमुख तिलकराम लम्सालले जानकारी दिनुभयो ।
फोहर हातका माध्यमबाट लाग्ने विभिन्न प्रकारका सरुवा रोग र नसर्ने रोग अन्त्य गर्नका लागि सबै घरघरमा हात धुने स्थान बनाई पूर्ण हात धुने नेपालकै पहिलो नमूना पालिका घोषणा गर्नुभएकोमा सम्पूर्ण ठाकुरबाबा नगरबासीलाई धन्यवाद दिँदै निरन्तरता दिनका लागि लुम्बिनी प्रदेशसभा सदस्य जन्मजय तिमिल्सीनाले आग्रह गर्नुभयो । ‘पूर्ण सरसफाइयुक्त पालिकाको अभियान, आ–आफ्नै पहलमा हातधुने स्थान’ भन्ने नारासहित २०७९ साल भदौ महिनाको ५ गतेदेखि ठाकुरबाबा नगरपालिकामा सुरु गरिएको पूर्ण हातधुने अभियान अन्तरगत सामुदायिक अभियानकर्ताहरुलाई प्रशिक्षण दिएर पालिकाका ९ वटै वडाका गाउँटोलका प्रत्येक घरमा टुटिसहितको बाल्टी र साबुन राख्न लगाई गृह प्रवेश गर्दा, फोहोर वस्तु छुँदा, चर्पीको प्रयोग पश्चात तथा खाना खानुअघि साबुन पानीले मिचिमिची हात धुने बानी बसाल्न आग्रह गरिएको थियो ।
सामुदायिक अभियान्ताहरुको समुदायमा जनचेतना फैलाउन मुख्य भुमिका रहने भएकाले सामाजिक अभियान्ताहरुलाई खटाएर हात धुने स्थान बनाउँदा आइपर्ने चुनौतीहरु, नीति तथा कार्यविधिको अभाव, सर्वसाधारणमा हात धुँदा हुने फाइदाका बारेमा अनभिज्ञता, बालबालिका अपाङ्ग र लैङ्गीकमैत्री हातधुने स्थान र साबुन पानीको अभाव, नकारात्मक सोच, स्रोतको अभाव र व्यवस्थापकिय अभाव जस्ता पूर्ण हातधुने अभियान रणनीतीका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
‘सम्मुनत ठाकुरबाबा सवल नगरबासी बनाउने उद्देश्यका साथ केहि लक्ष्य तथा योजना बनाएको र त्यही लक्ष्य पुरा गर्नका लागि नगरपालिकाले विभिन्न दातृ संघसंस्थासंग सहकार्य गर्दै अगाडि बढेकाले शिक्षा, स्वास्थ्य र कृषिका क्षेत्रमा पनि उदाहणिय काम गर्ने अभियान सुरु गरेको बताउँदै सम्पूर्ण नगरबासीको साथ र सहयोगको पनि अपेक्षा राखेको नगरप्रमुख लम्सालले बताउनुभयो ।
गेरुवा ग्रामिण जागरण संघ बर्दिया र तेर दे जोम्ससंगको सहकार्यमा ठाकुरबाबा नगरपालिकामा झण्डै ९ महिना अघि भदौ महिनाको ५ गतेदेखि पूर्ण हात धुने अभियान संचालन भइरहेकोमा अनुगमनका क्रममा पालिका भित्रका ११ हजार १ सय १५ घरधुरीमा सतप्रतिशत हात धुने स्थान निर्माण गरिएको पाईएको गेरुवा ग्रामिण जागरण संघका सरसफाई अधिकृत मनोज पौडेलले बताउनुभयो ।
पूर्ण हातधुने अभियानलाई सफल बनाउन पालिका भित्रका जनप्रतिनिधी, महिला स्वास्थ्य स्वंयसेविका, बडघर, विद्यार्थी, शिक्षक तथा स्थानीय सामुदायिक अभियानकर्ताहरु खटिनुभएको थियो । ठाकुरबाबा नगरपालिकामा पूर्ण हात धुने अभियान सुरु भएपछि नगरपालिका भित्रका सम्पुर्ण वडाहरुमा ढक्कन र टुटीसहितको बाल्टी र साबुन राखि हात धुने स्थान बनाएपछि पालिकालाई पूर्ण हात धुने पालिका घोषणा गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजालले बताउनुभयो ।
फोहोर हातको माध्यमबाट लाग्न सक्ने रोगको रोकथामका लागि घरघरमा टुटि र ढक्कनसहितको हात धुने स्थान बनाउन उपयुक्त हुने निष्कर्ष निस्किएसंगै नगरस्तरिय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिसंग छलफल गरेर पालिकाभरि नै हात धुने कार्यलाई नगरपालिकामा अभियानको रुपमा सञ्चालन गरिएको गेरुवा ग्रामिण जागरण संघका कार्यकारी निर्देशक हरी सुवेदीले बताउनुभयो ।
फोहर हातका माध्यमबाट विभिन्न किसिमका सरुवा तथा नसर्ने रोगको अन्त्य गर्नका लागि सबै घर, संघसंस्था तथा कार्यालयमा हात धुने स्थान बनाएर विषेश अवस्थामा सबैले नियमित रुपमा साबुन पानीले हात धुने अभ्यास प्रवद्र्दन गरि घोषणा गरिएको उपप्रमुख विना कुमारी भट्टराइले बताउनुभयो ।
पूर्ण हात धुने अभियान अन्र्तगत नगरपालिका भित्रका सबै घरमा, सार्वजनिक तथा निजी सेवा प्रदायक संस्थाहरुमा साबुनपानीसहितको हात धुने स्थान भएको सुनिश्चित गर्ने रणनीतिक लक्ष्य ठाकुरबाबा नगरपालिकाले लिएकाले नगरपालिकालाई पूर्ण हात धुने देशकै पहिलो पालिका घोषणा भएपछि यस अभियानलाई निरन्तरता दिनसमेत उपप्रमुख भट्टराइले आग्रह गर्नुभयो ।