भुरीगाउँ, बर्दिया : ठाकुुरबाबा नगरपालिका-२, बलातीमा रहेको प्रेसिका एग्री फर्मले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । प्रेसिका एग्री फर्मको आयोजनामा उन्नत बाख्रा पालन तथा खसी/बोका बिक्री वितरण उप-आयोजनाको अन्तिम सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।
सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले कृषकहरुलाई आत्मनिर्भर बनाउनका लागि परियोजनालाई सही रुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । नगर प्रमुख लम्सालले नगरपालिकालाई कृषि र पशुपालनबाट आत्मनिर्भर बनाउनका लागि ठाकुरबाबा नगरपालिकाले सबै खालको सहयोग गर्ने प्रतिवद्दता समेत जनाउनु भयो । नगरपालिकाले कृषकको मागलाई मध्यनजर गर्दै पशुको वीमा गर्नका लागि राष्ट्रिय वीमा कम्पनीसंगको सहकार्यमा पशु वीमा कार्यक्रम सञ्चालन गरेरहेको बताउँदै पशुपालक सबै कृषकहरुलाई आफुले पालेको पशुको वीमा गर्न नगर प्रमुख लम्सालले आग्रह गर्नुभयो ।
ठूलो संघर्ष गरेर उन्नत बाख्रा पालन तथा खसी/बोका बिक्री वितरण उप-आयोजना प्रेसिका एग्री फर्ममा ल्याउन सफल भएको फर्मका संचालक प्रेम प्रसाद लामिछानेले बताउनु भयो । भौतिक पुर्वाधार ३२ लाख ९७ हजार २७४ रुपैयाँ, पशुजन्य पूँजीगत तर्फ १६ लाख ८० हजार र मेसिनरी तथा उपकरण तर्फ ४ लाख ६२ हजार रुपैयाँ रहेको विवरण संचालक लामिछानेले सार्वजनिक सुनुवाइमा प्रस्तुत गर्नुभयो । यस्तै खर्चतर्फ कच्चा पदार्थको लागत ६ लाख १० हजार ६५६, श्रम तथा प्रविधिक १ लाख १२ हजार ५००, फर्म व्यवस्थापनमा ८४ हजार, वातावरण तथा समाजिक सुरक्षामा २४ हजार, पशु वीमा ४२ हजार, सार्वजनिक सुनुवाई तथा पारर्दशितामा २० हजार र अन्य प्रत्यक्ष लागततर्फ ५ लाख ३ हजार ७४ रुपैयाँ खर्च भएको विवरण प्रस्तुत गरिएको छ ।
नेपाल सरकार कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय अन्तरगत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको ५० प्रतिशत पुरक र ठाकुरबाबा नगरपालिका-२, बलातीमा रहेको प्रेसिका एग्री फर्मको ५० प्रतिशत लगानीमा उन्नत बाख्रा पालन तथा खसी/बोका बिक्री वितरण उप-आयोजना संचालन भइ रहेको छ । फर्मको ५० प्रतिशत लगानी मध्य १२ लाख २० हजार ८५२ रुपैयाँ (२० प्रतिशत) स्वलगानी तथा २२ लाख ९६ हजार ६१ रुपैयाँ (३० प्रतिशत) कृषि विकास बैंक लिमिटेड, भुरीगाउँ शाखाबाट कर्जामा लिएको फर्मका संचालक लामिछानेले बताउनु भयो । आयोजनाको पुरक अनुदान ३३ लाख २८ हजार ५९० गरि जम्मा ६८ लाख ४५ हजार ५०४ रुपैयाँमा उप-आयोजना संचालन भइ रहेको छ ।
स्थानीय कृषक, विकेन्द्रीकृत आयोजना सहयोग इकाई, बुटवलका प्रतिनिधि, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको सार्वजनिक सुनुवाइ कार्यक्रम ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालको प्रमुख आतिथ्यता तथा प्रेसिका एग्री फर्मका संचालक प्रेम प्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न भएको हो ।