पूर्ण हात धुने अभियान अन्तरगत ठाकुरबाबामा अनुगमन
भुरीगाउँ, बर्दिया : पूर्ण हात धुने अभियान अन्तरगत ठाकुरबाबा नगरपालिकाको वडा नम्बर २, ६, ७ र ९ मा अनुगमन गरिएको छ । वैशाख ६ गते बुधबार ठाकुरबाबा जनस्वास्थ्य अधिकृत इन्द्र बहादुर राजवंशीको नेतृत्वमा सम्बन्धित वडाका वडाअध्यक्ष र सदस्यहरु, भुरीगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका उपाध्यक्ष चन्द्रमणी पौडेल, विभिन्न गाउँका बडघरहरु लगायतको उपस्थितीमा अनुगमन गरिएको हो ।
ठाकुरबाबा नगरपालिका वडा नम्बर २को रानीपुर, प्रतापपुर, पेरहनी, सुजनपुर, कर्मला, बलाती, सतघरुवा र अम्रेनी गाउँ, वडा नम्बर ६को बकुवा, मोतीपुर, तुलसीपुर र बनखेत गाउँमा अनुगमन गरिएको हो । यस्तै वडा नम्बर ७ को कालीगौडी, भदेली, सुन्दरपुर र मोहनपुर तथा वडा नम्बर ९ का ठाकुरद्वारा, बेतहनी, खुसलपटुवा र सिउपुर लगायतको गाउँहरुमा अनुगमन गरिएको छ । ठाकुरबाबा नगरपालिकामा सञ्चालित पुर्ण सरसफाई युक्त हातधुने अभियान अन्तरगत वडा नम्बर २, ६, ७ र ९ मा स्थानीयका घर, कार्यालय, विद्यालय तथा संघ–सस्थाहरुमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा वडाका सबै घर तथा कार्यालयहरुमा टुटी सहितको हातधुने स्थान भएको तथा प्रयोग गरेको पाइएको गेरुवा ग्रामिण जागरण संघका सरसफाई अधिकृत मनोज पौडेलले जानकारी दिनुभयो ।
पूर्ण सरसफाइयुक्त पालिका बनाउनका लागि सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गरि सहकार्य गर्न नगरपालिकाका जनस्वास्थ्य अधिकृत इन्द्र बहादुर राजवंशीले नगरबासी सबैलाई आग्रह गर्नुभएको छ । घर तथा कार्यालयहरुमा टुटी सहितको हातधुने स्थान बनाउनाले हुने फाइदाहरुको बारेमा बताउँदै यसको महत्व र कार्यक्रमको उद्देश्यको बारेमा समेत उहाँले जानकारी दिनुभयो । साथै जनस्वास्थ्य अधिकृत राजवंशीले अभियानलाई पूर्णता दिन सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो ।
अभियान अन्तरगत अनुगमन भएका २, ६, ७ र ९ नम्बर वडामा आवश्यक सम्पूर्ण कार्य पुरा भएकाले छिट्टै सो वडाहरुलाई पूर्ण सरसफाई युक्त वडा घोषणा गरिने गेरुवा ग्रामिण जागरण संघका सरसफाई अधिकृत पौडेलले जानकारी दिनुभयो । गेरुवा ग्रामिण जागरण संघ र तेर दे जोम्ससंगको सहकार्यमा ठाकुरबाबा नगरपालिकामा २०७९ भदौ ५ गते देखि पूर्ण हात धुने अभियान संचालन भई रहेको छ । पूर्ण हात धुने अभियान अन्तरगत विक्रम सम्वत् २०८० सालसम्म नगरपालिका भित्रका सबै घर, सार्वजनिक तथा निजी सेवा प्रदायक सस्थाहरुमा साबुनपानीसहितको हात धुने स्थान भएको सुनिश्चित गर्ने रणनीतिक लक्ष्य ठाकुरबाबा नगरपालिकाले लिएको छ ।